इलामको चुलाचुलीमा झोलुङ्गे पुल उद्घाटनै नभई भत्कियो

मधुमल्ला/ दक्षिणी इलामको चुलाचुली गाउँपालिकास्थित वडानम्बर २ र ३ को सिमानामा पर्ने चाँजु खोलामा निर्माण गरिएको झोलुङ्गे पुल उद्घाटनै नभई भत्किएको छ ।
२०७४ वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको उक्त पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोसित बनेका छन् । चाँजुमा बल्लतल्ल बनेको पुल पनि निर्माण भएको तीन महिना नपुग्दै भत्किएर कामै नलाग्ने भएपछि उनीहरू आक्रोसित बनेका हुन् । उक्त पुल सोही सालको श्रावण महिनामा आएको बाढीले काम नलाग्ने गरी भत्काएको थियो ।
पुल बगाएको २ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले पुल निर्माणको काममा चासो देखाएको छैन । चुलाचुलीमा साना–ठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैनन् । स्थानीय बासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘योभन्दा हुने ठाउँ छैन’ स्थानीय वडानम्बर ४ का बासिन्दा सन्तोष दङ्गालले भने, ‘एक त खोलाको बीचमा पुल बन्यो । त्यो पनि उद्घाटनै नगरी भत्कियो, दुई साल बितिसक्दा पनि सम्बन्धित निकायले वास्ता गरेनन् ।’
स्थानीयलाई हिउँद महिनामा त खासै समस्या हुँदैन तर वर्षा लागेपछि भने समस्या हुन्छ । स्थानीय स्वस्थ्यचौकी चुलाचुलीमा कार्यालय सहयोगीका रूपमा कार्यरत दङ्गाल दुःखेसो पोख्छन्, ‘कहिलेकाहीँ त कार्यालय जानै पाइँदैन ।’ सरकारी पक्षको लापरबाहीले चुलाचुलीवासीले पुल पाएर पनि गुमाउनु परेको उनको भनाइ छ । चुलाचुली गाउँपालिका–३, ४, ५ र ६ का बासिन्दालाई गाउँपालिकाको केन्द्र आउजाउ गर्न खोला तर्नुपर्छ । ‘हामी जस्ता युवालाई त ठीकै छ । महिला, बालबालिका तथा वृद्धवृद्धालाई भने निकै सास्ती हुन्छ’ चुलाचुली–३ का स्थानीय सचिन राई भन्छन्, ‘यसरी मापदण्ड विपरीत गलत स्टिमेटको आधारमा गुणस्तरहीन पूर्वाधार निर्माण गर्ने कम्पनीलाई कालोसूचीमा राखी कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’
वर्षायाममा चारवटा वडाबाट गाउँपालिकाको एक मात्र जनता मावि पढ्ने विद्यार्थीलाई पनि पुल नहुँदा सास्ती बेहोर्नु पर्छ । खोला तर्न नसकेर प्रत्येक वर्षामा विद्यार्थीको पढाइसमेत अवरुद्ध हुँदै आएको छ ।
२ सय ४ मिटर लम्बाइ र ३ फिट चौडाइ रहेको पुल झोलुङ्गेपुल महाशाखा काठमाडौँले ७० लाख रुपैयाँ लागतमा निर्माण गरेको पुल रेखदेख समितिका अध्यक्ष राजेन्द्र केरुङले बताए । बालुवा मात्र रहेको जमिनमा तीन फिट मात्र गाडिएकाले पुलको पूर्वपट्टिको एउटा पिल्लर भासिएको छ भने अन्य पिलरहरू पानीले पल्टाएको छ । अध्यक्ष केरुङ भन्छन्, ‘ठेकेदारलाई पिल्लर गहिरो गाड्नुपर्छ भन्दा तीन फिटभन्दा लैजान नमानेकाले अहिले पुलको यो अवस्था भयो ।’ जनप्रतिनिधिविहीन अवस्थामा कर्मचारीतन्त्र र निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरबाहीले गर्दा यो हालत भएको केरुङ बताउँछन् ।
यो विषयमा चुलाचुली गाउँपालिका प्रमुख प्रदीपचन्द्र राई आफूहरू निर्वाचित हुनुभन्दा पहिले निर्माण कम्पनीले गद्दारी गरेको बताउँछन् । उनी भन्छन्, ‘न जनताले पुल प्रयोग गर्न पाए, न त हामीले पुलको पुनः निर्माण गर्न पायौं ।’ गाउँपालिका र प्रदेश सरकारमार्फत् बजेट जुटाए पनि पुलको विषयमा अख्तियारमा उजुरी परेका कारण पुनः निर्माणमा हात हाल्न नसकेको गाउँपालिका प्रमुख राईले बताए ।
यता उक्त पुलको सम्पूर्ण अख्तियारी पाएको झोलुङ्गे पुल महाशाखाका योजना प्रमुख कुमार थापाले भने उक्त पुल लगत स्टिमेट अनुसार नै ठेक्का प्रक्रियाबाट भएको जिकिर गरे । उनले घुमाउरो पारामा ठेकेदार कम्पनीको बचाउ गर्दै भने, ‘त्यसवर्ष पूर्वी तराई क्षेत्रमा भारी मात्रामा वर्षा भई बाढीपहिरो तथा डुबाउ भई जनधनको समेत क्षति भयो । विराटनगरको त्यत्रो एयरपोर्टसमेत कति दिन बन्द भयो भने त्यो त हामीले खोलामा बनाएको पुल न हो । त्यसमा आपत्ति मान्नुपर्ने खासै कुरा छैन ।’
थापाले बिना कारण जनतामा भ्रम फैलाएको बताउँदै अख्तियारबाट समेत क्लिन चिट पाइसकेको दाबी गरे । बिमा कम्पनीबाट बिमा दाबी गरी क्षतिपूर्तिसमेत पाइसकेकाले सोही मूल्य र स्टिमेटको अर्को पुल निर्माण गर्ने थापाले बताए । ब्लाष्टखबरबाट