Logo

राजधानीमा नोक्छो भेला सम्पन्न


काठमाडौँ, वैशाख २८ । काठमाडौँमा एक दिने माङपा नोक्छो  (पितृ कार्य गर्ने मुन्दुमी व्यक्ति) भेला सम्पन्न भएको छ । किरात मुन्दुम अध्ययन केन्द्रको आयोजना तथा अन्तर्राष्ट्रिय किरात सांस्कृतिक संरक्षण केन्द्रको प्रायोजनमा ललितपुरस्थित आइन्स्टाइन एकेडेमीमा भेला सम्पन्न भएको हो । विभिन्न राई भाषागत माङपाहरूको भेलामा उनीहरूसँग मुन्दुम बहस समेत गरिएको थियो ।

बहसमा ७२ वर्षीय पाका माङपादेखि १३ वर्षीय किशोर दोवानाक्छोङनछुङको सहभागिता रहेको थियो ।उक्त बहसमा खोटाङ दिक्तेलका नछुङ धनिराम नछुङले ‘नछुङ’ भन्दा पहिले ‘मुन्दुम’ को अस्तित्व रहेको बताए । ‘हामी नछुङ÷माङपा भनेको मुन्दुमलाई प्रयोग गर्ने साधकका रूपमा मात्र पछि आएका हौँ’, उनले भने, ‘मुन्दुमी शक्तिज्ञान सुप्तुलुङमा केन्द्रित रहेर नछुङले विधि मात्र पुरा गर्ने हो ।’

भेलामा किरातीहरूको सैद्धान्तिक मुन्दुमलाई एउटै बनाएर मुन्दुमी ज्ञानलाई संरक्षण गरी जानुपर्नेमा समेत बहस भएको थियो । सबै राईहरूको मुन्दुमलाई एउटै मानक बनाई विभिन्न भाषामा रूपान्तरण गरी विश्वव्यापीकरण गर्नुपर्नेमा माङपाहरूले सहमति जनाएका थिए ।भाषागत विविधताका कारण एउटै विधिलाई विविध नामले बोलाउने र मुन्दुमी कर्मकाण्ड गर्ने गरेकाले किरातीमा एकता हुन नसकेको समेत भेलाले निष्कर्ष निकालेको छ ।

उक्त विविधतामा एकता ल्याउन विविध भाषीहरूसँग छलफल र बहस गर्दै जाने र मुन्दुम सङ्कलन गर्न अध्ययन केन्द्रलाई सहयोग गर्ने माङपाहरूले प्रतिवद्धता जनाएका छन् ।भेलाको अध्यक्षता ग्रहण गर्दै अध्ययन केन्द्रका अध्यक्ष जीतेन राईले सम्पूर्ण किरातीहरूले जिम्मेवारी बोध गरी आ–आफ्नो स्थानबाट मुन्दुम संरक्षण गर्न लाग्नुपर्ने बताए ।

‘समाज परिवर्तनमा माङपाहरूको ठूलो भूमिका हुन्छ’, उनले भने, ‘दिनानुदिन अन्य धर्ममा प्रवेश गरिरहेको हाम्रो समुदाय र अन्य दर्शनले प्रभाव पारिरहेको मुन्दुमलाई संरक्षण गर्न हामी आ–आफ्नो स्थानबाट योगदान दिनुपर्छ, अझ त्यसमा माङपाहरूको बढी भूमिका हुन्छ ।’कार्यक्रममा माङपाहरूको हातबाट किरात मुन्दुम अङ्कित टि–सर्ट समेत सार्वजनिक गरिएको थियो ।

भेलामा माङपासहित संस्कृतिविद् तथा किरात राई यायोक्खाका पूर्व अध्यक्ष चतुरभक्त राई, मुन्दुम अध्येता चन्द्रकुमार हतुवाली लगायतको उपस्थिति रहेको थियो । फोटोहरु हेर्नुस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्