मेरि यारी ! मलाई एकदमै हतार छ-कविता

कला/साहित्य

– भूपाल राई

जुलुस जस्तो जिन्दगी हाँकेर
हेर !
म तिम्रो ८४ लाख जुनिमा उपस्थित छु

तर माफ गर मलाई
म तिम्रो प्रेमको आरामदायी काउचमा बसेर
कुनै उत्तर-जन्मको भविष्यवाणी
पर्खिरहन सक्दिन
मलाई अफसोच छ
किनभने मलाई एकदमै हतार छ

सय सय जुनिको तिम्रो भक्ती-लहरी
कुनै धुरन्धर वस्तादको स्वरमा गुन्जिए जस्तै
मेरो पनि जन्म जन्मान्तर हुने भए
म छुट्याउने थिएँ एउटा जुनि गीतलाई
अर्को जुनि छुट्याउँथेँ दुखको सौन्दर्यलाई
छुट्याउथेँ तेस्रो जुनि मुक्तिको उज्यालोलाई
र अन्तिम जुनि तिम्रो प्रेमलाई

तर अफसोच छ
मलाई एकदमै हतार छ

सक्छौ !
बन्द गर त्यो ८४ औँ योनिको लिला
च्यात दिमागबाट
आधा लेखेर पट्याइएको कागज
र माया गर – मेरो मायाको विज्ञानलाई
कि सबथोक मायाको न्युटन सिद्दान्त
र प्रणय शास्त्रको आइन्स्टाइन सुत्र
मैले यहि जुनिमा परिक्षण गरिसक्नु छ
बाँचिन्जेल भूतका रसायन
र भविताका अणु परमाणुहरु
मैले यहि जिन्दगिले भोग्नु छ

धेरै गाँसहरु बैँसको हतारमा
या कुनै अनासक्त हातमा
छाडेर हिडेको छु
म त्यो दिनको पनि भोको छु
धेरै सासहरु अर्काको इच्छामा
अर्काकै छातिमा जो फेरेको छु
म त्यसको पनि भोको छु
सिङ्गै खोला धाएर मेट्न नचाहेको तिर्खा
सिङ्गै व्रम्हाण्ड पाएर चढ्न नसकेको चोमोलुङ्मा
यात्राको यस टाकुराबाट हेरिपठाउँछु
म त काहाँ हो … काहाँ
झर्दै झर्दै आइपुगेछु

अफसोच छ
मलाई साच्चिनै हतार छ

हतार हतारमै टिपेर हिड्नु छ
मैले, जुलुसबाट एउटा जिन्दगी
बदल्नु छ एक पछि अर्को स्टेसन
छुट्नु छ रेल
र हतार हतारमै फेरि
हाँक्नु छ मैले अर्को जुलुस
पिउन नजानेर चोख्खै – बगिगएको खोला
चढ्न नसकेर झन अग्लिगएको चोमोलुङ्मा
र छाडेर हिडेका युगिन भोकहरु
जसलाई गालेर दुई थोपा पदार्थमा
जम्मै जम्मै क्षतिको हिसाबस्वरुप
मैले यहि जुनिमा रोईदिनु छ

यहि जुनिमा लेखिसक्नु पर्ने छ
मैले, दुखको सौन्दर्यशास्त्र
ढलेका छन् आफ्नै आँसुको धरहरामुनी
अनाम गाथाका शिरहरु
तिनलाई कसैगरी उठाउनु छ
लड्नु छ सघन लडाईँ अँध्यारो पृथ्विसङ्ग
र हल्लाउँदै मुक्तिको उज्यालो ग्रहमा
तिम्रो प्रेमको गुलाफी रुमाल
यहि जुनिमा गाउँनु छ
मैले, सय सय जुनिको गीत

विस्वास छैन मलाई
कुनै अर्को – अतिरिक्त जन्मको
हेर , एक दिनको मेरो एक डल्ला घाम
मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ
र एकैछिन पछि तिमिलाई छाडेर
मैले फेरि घर फर्किनु छ
मेरि यारी !
त्यसैले मलाई हतार छ
मलाई एकदमै हतार छ ।।

Download Our Mobile Apps Click Here