‘ङामैचिमै हङकङ’बाट ५ लाखभन्दा बढीको कोष हस्तान्तरण

काठमाडौं । चाम्लिङ राईहरुको साझा संस्था किरात राई चाम्लिङ खाम्बातिम हङकङको ङामैचिमै महिला विभागले रु ५ लाख ६ हजारको कोष हस्तान्तरण गरेको छ । सो रकम किरात राई यायोक्खा सुम्निमा हल कोटेश्वर काठमाडौंमा एक कार्यक्रम गरी खाम्बातिम हङकङका प्रतिनिधिहरुमार्फत् हस्तान्तरण गरिएको हो ।
हङकङमा बस्दै आएका चाम्लिङ महिलाहरुको सक्रियतामा यो रकम सङकलन भएको हो । खाम्बातिम केन्द्रीय कार्यसमितिको महिला विभाग डामैचिमैअन्तरगत रहने गरि यो रकम हस्तान्तरण भएको छ । किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय अध्यक्ष युवराज राईलाई ङामैचिमै हङकङकका सल्लाहकार जजिन राई र ङामैचिमै हङकङका सहसचिव प्रतिमा राईमार्फत् सो रकम हस्तान्तरण गरिएको थियो ।
किरात राई चाम्लिङ खाम्बातिम महिला विभाग ङामैचिमै हङकङका अध्यक्ष कल्पना राईले फोनमार्फत भनिन्,”हङकङमा धेरै कामको बिजी भइन्छ । यसो फुर्सदको समयमा सङ्गठनतिर खट्ने हो । यसरी जम्मा गरेको कोष हो यो । हामी हङकङमा आएर बसेका छोरीचेलीहरुले यसो नेपालमा केही गरौं भन्ने विचार मात्र हो ।”
खाम्बातिम हङकङका सल्लाहकार जजिन राईले खाम्बातिम केन्द्र र हङकङ दुबै पक्षबाट गरिएको सम्झौतापत्र पढेर सुनाएका थिए । यो अक्षयकोषबाट आएको व्याजले वृद्धा तथा गरिब महिलाहरुलाई सहयोग गर्ने सम्झौतामा लेखिएको छ ।
कार्यक्रममा डा तारामणि राई, पूर्व जिशिअ झुमप्रसाद राईले चाम्लिङ भाषामा बनिरहेको शब्दकोषबारे कुरा राखेका थिए भने सँस्कृतिविद जयकुमार राईले मुन्दुम भाग तीनको काम अन्तिम चरणमा पुगेको बताएका थिए । भाषाविद बयानसिं राईले खाम्बातिमले भाषासँस्कृतिको काममा सबैलाई सङगठित गरेर सक्रिय रुपमा लाग्नुपर्ने सुझाब दिएका थिए ।
खाम्बातिमका सल्लाहकारहरु मनिकुमार राई, सर्वधन राई, रकेश राईलगायतले अक्षयकोष स्थापना गरेकोमा ङामैचिमै हङकङलाई बधाइ दिएका थिए ।