Logo

बहादुर शाह अर्थात् अभागी राजकुमार


बहादुर शाह सुरुआती दिनमा गोर्खा राजदरबारभित्र निकै लोकप्रिय थिए । यसका पछाडि केही स्पष्ट कारण देखिन्छन् । उनको जन्मका बेला बुबा पृथ्वीनारायण शाह कीर्तिपुर युद्धमा व्यस्त थिए, उनका लागि यो निकै तनावपूर्ण युद्ध सावित भयो । त्यस युद्धमा उनले कालु पाँडेलाई गुमाएका थिए । पृथ्वीनारायण शाह स्वयं मृत्युको स्थितिमा पुगेका थिए ।

कीर्तिपुर युद्धका बेला उनलाई धेरै पीर परेको थियो । ठीक यही बेला उनले बहादुर शाह जन्मेको खबर सुनेका थिए । यसले पृथ्वीनारायणलाई खुबै आनन्द दिएको थियो । उनले युद्धको तनाव भुल्ने बहाना पाएका थिए । पृथ्वीनारायण शाहका तीन छोरा थिए ।

वंशावलीअनुसार जेठा प्रतापसिंह शाह, त्यसपछि बहादुर शाह र नारायण शाह । ब्रायन हडसनले भने विष्णु शाहलाई माइलो छोरा मानेका छन् । उनले कान्छो छोरा बहादुर शाह मानेका छन् । तत्कालीन चिठ्ठी पत्रलाई आधार मान्ने हो भने बहादुर शाह माइलो छोरा हुन् ।

त्यति बेला मरेको छोरालाई गणना गरिँदैनथ्यो । कान्छो छोराको मृत्युका कारण माइलो भएर पनि चलनचल्ती अनुसार बहादुर शाहलाई नै कान्छो भनिएको पाइन्छ । वास्तवमै उनी पृथ्वीनारायण शाहका माइलो छोरा थिए । रणबहादुर शाहले पनि उनलाई चिठ्ठी लेख्दा माइला बाबा भनेको पाइन्छ । यस्तै अरू प्रसङ्गमा पनि उनलाई माहिला साहेब भनिएको छ । दरबारभित्र जीवित दुई दाजुभाइमध्ये प्रतापसिंह शाहको तुलनामा बहादुर शाह नै बढी लोकप्रिय थिए । पृथ्वीनारायण शाहले १८१४ मा कीर्तिपुर जिते र नुवाकोटमा गएर राज्य गरे । पृथ्वीनारायण शाह जहाँ जान्थे, बहादुर शाह पनि त्यहीं पुग्थे । त्यसपछि १८२५ मा पृथ्वीनारायण शाहले काठमाडौं जिते । त्यसपछि उनले काठमाडौं हेर्ने जिम्मा प्रतापसिंह शाहलाई दिए । आफूसँग बहादुर शाहलाई राखे ।

भारदारको कामै राजासँग जो हुन्छ, त्यसकै चाकडी गर्ने हुन्छ । बहादुर शाहलाई खुसी बनाए मात्र पृथ्वीनारायण शाह पनि खुसी हुने हुँदा भारदार सबैले खालि बहादुर शाहको मात्र प्रशंसा गरे । तिनलाई बहादुर शाहले पनि माया गर्ने भए । यता काठमाडौंमा रहेका प्रतापसिंह शाहको आफ्नो अलगै भारदारको समूह थियो । ती नयाँ भारदार थिए । पुराना भारदार जति थिए, ती युद्धमा जाने खालका थिए ।

काठमाडौंमा रहेका भारदारमा वज्रनाथ पण्डित, स्वरूपसिंह कार्कीजस्ता थिए । यसले एकातर्फ पुराना भारदार र अर्कोतर्फ नयाँ भारदारको स्थिति उत्पन्न गरायो । यसरी राजदरबारमा पहिलोपल्ट फुट आयो । यसबाट पृथ्वीनारायण शाहको जीवनको अन्त्यसम्म दरबारमा दुई गुट भइसकेका थिए । यसरी गुट–गुट भएको तथ्यको झल्को उनको दिव्य उपदेशमा पनि पाउन सकिन्छ ।

त्यति बेला पुराना भारदारले नयाँ भारदारलाई हटाउन खोजेका थिए । यसै क्रममा दरबारमा ‘शक्तिका लागि संघर्ष’ सुरु भयो । दरबारमा यस्तो प्रवृत्ति पहिलोपल्ट देखिएको थियो । यो नै बहादुर शाहको उत्थान र पतनको कारण पनि बन्यो । बहादुर शाह कति लोकप्रिय थिए भन्ने अभिलेख वसन्तपुर दरबारमै पाइन्छ । त्यसमा पृथ्वीनारायण शाहका दुई छोरामध्ये बहादुर शाह निकै लोकप्रिय छन् भनेर नै बयान गरिएको छ ।

तर त्यो अभिलेख अन्तत: बहादुर शाहका लागि अभिशाप सावित भयो । दरबारभित्र सुरु हुन लागेको द्वन्द्वको पृष्ठभूमि यसैले तयार पारेको थियो । एक समूहले प्रतापसिंह शाहलाई आफ्ना भाइबाट सशंकित हुन सल्लाह दियो । पृथ्वीनारायण शाहको १८३१ मा मृत्यु हुँदा बहादुर शाह १७ वर्षका मात्र थिए । यता राजा भने प्रतापसिंह शाह भए । त्यही बेला नयाँ राजालाई भनियो, बहादुर शाहले उनलाई सत्ताच्युत गर्न सक्छन् ।

त्यही अफवाहबीच पृथ्वीनारायण शाहको मृत्यु भएको १३ दिन नहुँदै बहादुर शाहलाई नजरबन्दमा राखियो । खासमा उनलाई यसरी नजरबन्दमा राख्नुपर्ने कारण नै थिएन । त्यसैले हाम्रा इतिहासकार के भन्छन् भने दुई दाजुभाइबीच खटपट सुरु भइसकेको थियो । पछि बहादुर शाहलाई भारतको बेतिया पठाइयो । षड्यन्त्र गरेको आरोपमा उनलाई देश निकाला गरिएको थियो । बेतियामै रहेका बहादुर शाहले दाजुलाई आफूले केही षड्यन्त्र नगरेको आशयको चिठ्ठी पनि लेखे ।

बरु प्रतापसिंह शाहलाई एकीकरण अभियान फेरि सुरु गर्न सल्लाह दिए । प्रतापसिंह शाह जिउँदो रहेसम्म नै बहादुर शाह नेपाल फर्कन पाएनन् । त्यति बेला रानी राजेन्द्रलक्ष्मीलाई पनि के लागिसकेको थियो भने बहादुर शाहले कतै नयाँ राजा रणबहादुर शाहमाथि बदला लिने त होइनन् ? तर पनि उनले एक समूह भारदारलाई दमन गर्न बहादुर शाहको साथ खोजिन् । यसरी १८३४ मा बहादुर शाह नेपाल फर्के ।

दुवै मिलेर छ महिना राज्य चलाए । पछि भाउजू–देवरबीच पनि मेलमिलाप हुन सकेन । भारदार षड्यन्त्रबीच बहादुर शाह फेरि एकपल्ट बाहिरिए । राजेन्द्रलक्ष्मीको १८४२ मा मृत्यु भएपछि भने बहादुर शाह फिर्ता आए र नायबी सुरु गरे । यसरी बहादुर शाह एकपछि अर्को संघर्ष गर्दै अघि बढे । सत्तामा आउन उनले ठूलो संघर्ष गरे । सत्तामा आउनेबित्तिकै उनले स्वरूपसिंह कार्कीमाथि बदला लिए/मारे ।

यसले दरबारभित्रको एक खेमा फेरि बहादुर शाहको विपक्षमा गयो । राज्य काठमाडौंबाट चल्न थालेदेखि दरबारको षड्यन्त्रमा पहिलो मारिने यिनै स्वरूपसिंह कार्की थिए । आफ्ना विपक्षीलाई मार्ने षड्यन्त्रको सुरुआत यहींबाट भएको थियो । यसपछि बहादुर शाहले सबै भारदारलाई बोलाएर नेपाल एकीकरण कसरी सुरु गर्ने भन्ने सल्लाह गरे । बहादुर शाहको पहिलो रणनीति थियो, अरू राज्यलाई नेपालमा आश्रित गराउने । यस नीतिअनुसार शक्तिशाली पाल्पाले सबैभन्दा पहिले नेपालसँग आश्रित हुन मान्यो । त्यसपछि बहादुर शाहले युद्ध नीति अपनाए । यसअनुसार १८४३ को असारदेखि फेरि सैनिक अभियान सुरु गरे । छ महिनाभित्र नेपाल सीमा भेरी नदीसम्म पुगिसकेको थियो । त्यसपछि केही समय नेपाली सेनाले आराम लिएको थियो । तिब्बतसँग युद्ध भयो, १८४४–४५ मा । त्यो युद्धको समाप्तिपछि फेरि नेपालको विस्तार सुरु भयो ।

लगत्तै १८४६ मा गण्डकीपारि २२ राज्य जित्यो, १८४९ सम्म कुमाउँ गढवाल पनि हात पार्‍यो । नेपालको सीमा गंगा नदीसम्म पुग्यो । यसबीचमा फेरि नेपालको तिब्बतसँग युद्ध सुरु भयो । तिब्बतले यसपल्ट चीनको सहयोग मागेको थियो । यसपल्टको युद्धमा भने नेपाल हारको संघारमा पुगेको थियो । त्यसैले काठमाडौंबाट राजधानी सारेर नुवाकोट लगिएको थियो । यस्तोमा नेपालले पनि अंग्रेजसँग सहयोग लिन खोज्यो ।

चीनजस्तो ठूलो र शक्तिशाली देशलाई छाडेर अंग्रेजले नेपालको पक्ष लिने प्रश्नै थिएन, त्यसैले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न कक प्याट्रिकको नेतृत्वमा फौज पठायो । जति बेला कक प्याट्रिक काठमाडौं आइपुगे, त्यति बेलासम्म तिब्बत र चीनसँगको युद्ध समाप्त भइसकेको थियो । त्यसैले कक प्याट्रिकलाई फिर्ता पठाइयो । तर उनले आफू फर्कंदा नेपालबारे सबैखाले तथ्यांक भने लान सफल भए । यसबारे उनको सन् १८१२ मा पुस्तक पनि निस्क्यो । त्यसको दुई वर्षपछि नेपालको अंग्रेजसँग युद्ध नै भयो । यसरी अंग्रेजी फौज बोलाउनु नै बहादुर शाहको पतनको कारण बन्यो । रणबहादुर शाहले बहादुर शाहमाथि पछि लगाएका १२ आरोपमध्ये प्रमुख हो– अंग्रेजी फौजलाई नेपाल भित्र्याउनु । रणबहादुर शाहको दाबी थियो, अंग्रेजसँग मिलेर बहादुर शाहले चिनियाँ बादशाहसँग शत्रुता गर्न खोजेका थिए ।

बहादुर शाहले नेपाल एकीकरणमा ठूलो योगदान गरे पनि आफूले जितेको राज्यका जनतामाथि भने न्याय गर्न सकेनन् । यो नै उनको सबैभन्दा ठूलो कमजोरी सावित भयो । एकीकरण अभियानको हतारोमा धेरै ठाउँमा लुटपाट पनि भए । पराजित राजपरिवारका सदस्यमाथि अमानवीय व्यवहार पनि अत्यधिक भयो । यसले नेपाली गोर्खाली सेनाको सम्मान पनि रहेन । पछि अंग्रेजसँग युद्ध हुँदा तिनै पराजित राजपरिवारले नेपाललाई साथ दिएनन् । अंग्रेजसँग मिले । विशेषत: गरेर कुमाउँ गढवाल । नेपालले त्यस युद्धमा एकतिहाई भूभाग गुमाउनुपर्नाको ठूलो आधार बहादुर शाहकै पालामा तयार भएको थियो । यी कुमाउँ गढवाल जितेका त बहादुर शाहले नै थिए । यस्ता धेरै अरू उदाहरण छन् ।

बहादुर शाहले राज्य त विस्तार गरे, तर आफ्नो बनाउन भने सकेनन् । त्यसैले उनी राम्रा एकीकरणकर्ता त थिए, तर राम्रो प्रशासक थिएनन् । नेपोलियन बोनापार्ट पनि यस्तै थिए । उनले फ्रान्सका लागि धेरै युद्ध जिते, तर जहाँ–जहाँ युद्ध जिते, त्यहाँका जनताको मन जित्न सकेनन् । बहादुर शाहले जति काम गरे, त्यसको फल भोग्न पाएनन् । पछि गएर भारदारको साथ पाएनन्, राजा नै उनको विपक्षमा गए ।

उनीमाथि जस्तै आरोप लागे पनि बहादुर शाहले राजतन्त्रको भने कहिल्यै विरोध गरेनन् । राजाको विरोधमा कहिल्यै काम गरेनन् । अन्त्यतिर आफ्नो मृत्युलाई नै ठीक माने । रणबहादुर शाहलाई लेखेको अन्तिम पत्रको जवाफमा बहादुर शाहले लखेका थिए, ‘मैले सबै भोगिसकें, अब मलाई धरै बाँच्ने आस पनि छैन । म जस्तो छु, त्यस्तै ठीक छु । अब मलाई केही चाहिन्न । राजाले गरेको काममा मेरो केही भन्नु छैन ।’

रणबहादुर शाहले यसपछि पनि आफ्ना काकासँग चीनसँगको युद्धको हिसाब मागे । बहादुरले त्यस्तो हिसाब दिन सकेनन् । त्यसै कारण बहादुर शाहलाई भीमसेनस्थानको जेलमा राखियो । त्यसै क्रममा उनको अस्वाभाविक मृत्यु भयो । पछि उनलाई मारिएको आरोप लाग्छ भनेर रूखमा झुन्ड्याइएको थियो, आत्महत्या गरेको जस्तो देखाउन । बिहान हुन नपाउँदै उनको लास पनि जलाइसकिएको थियो ।

……………..

बहादुर शाहको मृत्युबारे तीन स्रोत छन्, एउटा अंग्रेज, अर्को चिनियाँ । तेस्रो हाम्रो आफ्नै स्थानीय भनाइ । यो भनाइ खासमा उनको परिवारको हो । त्यो समय काठमाडौंको भीमसेनस्थानमा जेल थियो । स्थानीय रूपमा त्यस स्थानलाई भिद्यंपाचा भनिन्छ । अहिले त्यही स्थानमा परोपकार केन्द्र छ । बहादुर शाहलाई त्यहींको जेलमा राखिएको थियो । उनको परिवारको के दाबी थियो भने उनको मृत्यु स्वाभाविक थिएन । त्यो प्राकृतिक थिएन ।

बहादुर शाहको मृत्यु अकालमा भएको थियो, जेलमै रहेका बेला । धेरै पछि म त्यहाँ जाँदा जेलको अवशेष थिएन । जेलमै रहेको बेला त्यति बेलाका राजा रणबहादुर शाहको निर्देशनमा उनको शरीरमा तातो तेल छर्किइएको थियो । तातो तेलले पुर्‍याएको पीडाले नै अन्तत: बहादुर शाहको मृत्यु भएको थियो । त्यो बिभत्स मृत्यु थियो । त्यसअगाडि बहादुर शाहकी पत्नीलाई बदनाम गर्ने चेतावनी पनि दिइएको थियो । बहादुर शाहको मृत्यु १८५४ को असार १५ मा भएको थियो । मृत्युका बेला उनी ४० वर्षका मात्र थिए । उनको जन्म भने चिनाअनुसार असार कृष्ण पक्ष औंसीका दिन भएको मानिन्छ । चित्तरञ्जन नेपालीका अनुसार यो असार ६ गते पर्छ । मिति मिलाउने हो भने यो सन् १७५७ जुन १६ हुन आउँछ ।

………………

बहादुर शाहको मृत्यले ०५८ सालको पछिल्लो राजदरबार हत्याकाण्डलाई पनि सम्झाउने गर्छ । यसबीच यस्ता धेरै हत्याकाण्ड भए, राजदरबारभित्र । सबैको प्रकृति यस्तै छ । बहादुर शाहको त्यो मृत्युलाई वीरेन्द्र र उनको परिवारको मृत्युसँग पनि तुलना गर्न
सकिन्छ । दरबारभित्रको षड्यन्त्रमा मारिने धेरै छन् । मारिनेको शृङ्खला नै तयार हुन्छ, तर कसरी र किन मारिए भन्ने तथ्य भने कहिल्यै बाहिर आएनन् ।

बहादुर शाहको मृत्यु पनि वास्तवमै कसरी भयो भनेर कहिल्यै बाहिर आएन । तर बहादुर शाहलाई सम्झिने कारण उत्तिकै छन् । खासमा बहादुर शाहलाई अभागी राजकुमार भनिन्छ । नेपाली इतिहासकारले यस्तै भन्न रुचाएका छन् । उनलाई योग्य पृथ्वीनारायण शाहका योग्य छोरा पनि भनिएको छ । एउटा तथ्य के निश्चित छ भने पृथ्वीनारायण शाहपछि बहादुर शाह हुँदैनथे भने नेपालको अवस्था आजको जस्तो हुँदैनथ्यो ।

(बहादुर शाहबारे विद्यावारिधी गरेका इतिहासकार भद्ररत्न वज्राचार्यसँग हिमेशरत्न वज्राचार्यले गरेको कुराकानीमा आधारित छ ।)

कान्तिपुरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्