व्यवस्थापिकाको अर्थसमितिमा बोल्दै पूर्वअर्थमन्त्रीहरुले पार्टीको भन्दा पनि समग्र देशको हित हेरेर बजेट ल्याउँदा कहिलेकाही अलोकप्रिय हुने हिम्मत राख्न अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिएका हुन् ।

पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले बजेट निर्माण गर्दा राजनीतिक र आर्थिक विरोधाभाष हुने भएकाले तत्कालको हितभन्दा पनि देशको हितलाई हेरेर बजेट ल्याउनुपर्ने र पपुलिष्ट भन्दा पनि अलोकप्रिय हुने हिम्मत राख्न सक्नुपर्ने सुझाव दिए ।

उनले भने, ‘हुन त यो सरकारको एक बर्षका निकै आलोचना भएकाले अब पपुलिष्ट बजेट ल्याउने अवस्थामा पुगेको उसको नीति तथा कार्यक्रमले देखाएको छ । तर देशको हितको लागि भएपनि लोकप्रियता र संरचनागत परिवर्तनबीचको समन्वयमा ध्यान पुगोस् ।’

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र ज्ञानेन्द्र बहादुर कार्कीले पनि लोकप्रियताको पछि नलाग्न सुझाएका छन् । सुरेन्द्र पाण्डेले विद्यमान नीतिगत व्यवस्थाको परिवर्तन अबको आवश्यकता भइसकेको बताए ।

यसका लागि सरकारले अबको बजेट मार्फत व्यवस्था गर्नुपर्ने उल्लेख गरे । सबैको चित्त बुझाउने तर उपलब्धि केही नहुने गरी आजसम्मको बजेट आएको भन्दै अबको बजेटमा त्यस्तो नगर्न पनि सुझाए ।

यता पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले ठुला र महत्वका आयोजनामा मात्र बजेट बिनियोजन गर्न र जथाभावी बजेट छर्ने प्रथाको अन्त्य गर्न सुझाव दिए ।