आजदेखि वर्षभर कांग्रेसको जागरण अभियान : नयाँ के छन्?
नेपाली कांग्रेसले आजदेखि देशैभर राष्ट्रिय जागरण अभियान सुरू गरेको छ।
पार्टी संगठनलाई सुदृढ गर्न कांग्रेसले तीन चरणमा केन्द्रदेखि गाउँसम्म कार्यक्रम गर्न लागेको हो। आजदेखि जेठ २५ गतेसम्म एक महिना पहिलो चरण अन्तर्गत ७७ जिल्लामा जागरणका कार्यक्रम हुनेछ।
नयाँ के छन्?
यसपटक कांग्रेसले आसन र भाषणमा समय खेर नफाल्ने भएको छ। आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गरिएको प्रवक्ता शर्माले बताए।
‘स्वागत र विसर्जनबाहेक केवल ३ वक्ताले भाषण गर्नेछन्,’ उनले भने।
कार्यक्रममा विषय प्रवेश, महिला वक्ता र प्रमुख अतिथिको भाषण रहने गरी कांग्रेसले पार्टीका सबै निकायमा एउटै प्रकृतिको कार्यक्रमको तालिका पठाइसकेको छ।
यतिमात्र होइन कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशब्यापी रूपमा एकै प्रकृतिको छ।
‘व्याच वितरण र किलोका किलोमा चर्चा हुने गरी माला लगाउने परम्पराको अन्त्य गर्छौं,’ उनले भने।
नेताहरूले सयौं किलोका माला लगाएर आलोचना हुने भएकोले कांग्रेसले नेतालाई माला नलगाउन भनेको हो।
१२ भाषाका गीत धन्कने
जागरण अभियानका कार्यक्रममा आफूखुसी गीत बजाउन पाइने छैन।
प्रवक्ता शर्माका अनुसार मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बु, थारु, राजवंशी, देउडा भाका र नेपाली भाषाका गरी १२ भाषामा पार्टीका गीत बनाइएको छ।
कांग्रेसले सबै जिल्लामा गीत पठाइसकेको जनाएको छ।
पार्टी हितविपरीत अभिव्यक्ति दिए कारबाही!
पार्टीको केन्द्रीय अनुशासन समितिले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउन कार्यक्रमको अनुगमन गर्ने गरी संरचना बनाएको छ। कानुन व्यवसायीहरूले जागरण अभियानका कार्यक्रम नजिकबाट निहाल्नेछन् र पार्टी हितविपरीत अभिव्यक्ति दिए कारबाहीका लागि अनुशासन समितिमा जानकारी गराउनेछन्। साथै प्रशिक्षण प्रतिष्ठानले पनि यही अवधिमा पार्टीका नेता/कार्यकर्तालाई प्रशिक्षण दिने भएको छ।
जागरण अभियानभर कांग्रेसले भ्रष्टाचारको भण्डाफोर गर्न भन्दै नेपाल तरुण दललाई जिम्मेवारी दिएको छ।
तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल दलितसंघलगायत भातृ तथा शुभेच्छुक संस्थालाई कांग्रेसले यो वर्षभर चल्ने जागरण अभियानमा सक्रियतापूर्वक परिचालन गर्न लागेको हो।