Logo

मार्क्सवादको वैज्ञानिकता र क्रान्तिको कार्यभारबारे चर्चा


-मोहन वैद्य ‘किरण’

क्रान्तिसम्बन्धी शिक्षा तथा योगदानहरुको संस्मरण

१– मार्क्स वादका प्रणेता कार्ल मार्क्स (१८१८–१८८३) को द्विशतवार्षिकी समारोह विश्वका विभिन्न देशहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने काम सम्पन्न भएका छन् । मार्क्सको द्विशतवार्षिकी मनाउनुको वास्तविक अर्थ र उद्देश्य मार्क्सका सैद्धान्तिक, राजनीतिक, सागठनिक तथा क्रान्तिसम्बन्धी शिक्षा तथा योगदानहरुको संस्मरण तथा आत्मसातीकरण गर्दै संसारलाई बुझ्न र मुख्यतः बदल्नका लागि सचेत तथा योजनाबद्ध ढङ्गले अगाडि बढ्नु हो ।

२– कार्ल मार्क्सले आफ्ना अनन्य सहयोगी तथा सहयोद्धा फेडरिक एङ्गेल्स ९१८२०– १८९५० का साथमा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका क्षेत्रमा तमाम खाले अवैज्ञानिक चिन्तन, प्रवृत्ति तथा मान्यताका विरुद्ध सैद्धान्तिक सङ्घर्ष चलाउँदै विश्व सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय र सिङ्गो मानव जातिको क्रान्ति र मुक्तिको सिद्धान्तका रुपमा मार्क्सवादको स्थापना तथा प्रतिपादन गर्नु भयो । यो विश्वको इतिहासमा एक अद्वितीय तथा महान् युगान्तकारी कदम थियो ।

३– मार्क्सवादको जन्म पँुजीवादी युग र सर्वहारा क्रान्तिको विहानीको ऐतिहासिक अवधिमा भएको थियो । त्यस वेला कम्युनिस्ट पार्टीको घोषणापत्र र पेरिस कम्युनसम्बन्धी विषयमा विश्व ऐतिहासिक महत्वका दस्तावेजहरु तयार पारिएका थिए । र, तिनले समाजवादी क्रान्ति सम्पन्न गर्दै साम्यवादको लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढ्नका लागि सैद्धान्तिक पथप्रदर्शन गरेका थिए ।

४– मार्क्सवादका तीन सङ्घटक अङ्ग छन्, ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शन हो । यो सबै खाले आदर्शवाद तथा अधिभूतवादका विरुद्ध वैज्ञानिक भौतिकवादको पक्षमा रहेको छ । मार्क्सको राजनीतिक अर्थशास्त्र उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरिसंरचना, सामाजिक सत्ता र सामाजिक चेतना, उत्पीडक र उत्पीडित वर्गका बिचको सङ्घर्ष, मूल्यको श्रम सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित छ ।

मार्क्सको समाजवाद वैज्ञानिक समाजवाद हो । यो वर्ग, वर्गसङ्घर्ष, बलप्रयोगको मान्यता, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादको सिद्धान्तमा आधारित छ । मार्क्सवाद सर्वहाराको क्रान्ति र मुक्तिको सिद्धान्त हो । यसले विश्वलाई बुझ्ने मात्र होइन, मुख्यतः बदल्ने कुरामा जोड दिन्छ ।

५– मार्क्सवादले वर्गसङ्घर्ष र सामाजिक जीवनको हरियो धर्तीमा प्रयोगको माग गर्दछ । मार्क्सवाद एउटा विज्ञान हो र विज्ञान प्रयोगसित अभिन्न रुपमा गाँसिएको छ । आफ्नो जीवनकालमा मार्क्स र एङ्गेल्सले मार्क्सवादको प्रतिपादनका साथै प्रयोगमा समेत विशेष ध्यान दिनु भयो । त्यस पश्चात् मार्क्सवादको प्रयोग र विकासमा लेनिनको उल्लेखनीय भूमिका रह्यो । लेनिनले रुसी धर्तीमा माक्र्सवादको प्रयोग गर्नु भयो । फलतः १९१७ अक्टोबरमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । यसले विश्वलाई झक्झक्यायो र संसारमा विभिन्न देशहरुमा रुसी समाजवादी क्रान्तिको प्रभाव पयो ।

मार्क्सवादको सफल प्रयोग र विकासका बीचबाट लेनिनवाद जन्मियो । चीनमा माओत्सेतुङ्गले माक्र्सवाद–लेनिनवादको सफल प्रयोग गर्दै १९४९ मा नयाँ जनवादी क्रान्ति संपन्न गर्नु भयो । दोस्रो विश्व युद्धको प्रक्रिया र त्यस पश्चात् विश्वका विभिन्न देशहरुमा सर्वहारा वर्गको नेतृत्वमा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न हुँदै गए । चीनमा माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति ९१९६६– १९७६० गरियो । विश्व क्रान्तिमा भारी उथल पुथल पैदा भयो । यसै क्रममा मार्क्सवाद–लेनिनवादको प्रयोग र विकासका बीचबाट मार्क्सवाद–लेनिनवाद–माओवाद जन्मियो ।

६– क्रान्ति एक निरन्तर प्रक्रिया हो । क्रान्तिले अनेकौं प्रतिक्रान्तिका बीचबाट पूर्णता प्राप्त गर्दछ । रुसमा स्तालिनको निधन पश्चात् १९५४ मा ख्रुश्चोभको नेतृत्वमा प्रतिक्रान्ति भई पँुजीवादको पुनः स्थापना गरियो । चीनमा पनि माओको निधन पश्चात् तेङको नेतृत्वमा १९७६ मा प्रतिक्रान्ति भई पँुजीवादको पुनः स्थापना गर्ने काम भए । विश्व सर्वहारा क्रान्तिले गम्भीर धक्का खान पुग्यो । रुसमा पुँजीवादको पुनः स्थापना पश्चात् माओले चीनमा त्यसो नहोस् भनेर महान् सर्वहारा सांस्कृतिक क्रान्तिको थालनी गर्नु भएको थियो । परन्तु, त्यसले पूर्णता प्राप्त गर्न सकेन ।

७– प्रतिक्रान्तिको यो प्रव्रिmया र नाम मात्रकै भए पनि सोभियत सङ्घको पतनपश्चात् विश्वका सारा प्रतिव्रिmयावादीहरु समाजवाद असफल भयो भन्दै चिच्याउन थाले । सारा अवसरवादीहरु रुन्चे स्वरमा क्रान्तिकारी मार्क्सवादीहरुलाई सराप्दै गुन्गुनाउन थाले । प्रतिक्रान्तिबारे प्रतिक्रियावादी, संशोधनवादी र क्रान्तिकारी मार्क्सवादीहरुका तर्फबाट विभिन्न प्रतिक्रिया तथा धारणाहरु अभिव्यक्त गर्ने काम भए ।

८– प्रतिक्रियावादीहरु एकातिर सर्वहारावर्गीय नेतृत्वको समाजवादी व्यवस्थालाई कम्युनिस्टहरुको एकदलीय अधिनायकवाद भनेर विरोध गर्दछन् भने अर्कोतिर समाजवादको असफलता, साम्यवादको अन्त्य तथा उदारवादी संसदीय लोकतन्त्रलाई चिरञ्जीवी बताउँछन् । वस्तुतः सर्वहारावर्गीय नेतृत्वको समाजवाद कम्युनिस्टहरुको एक दलीय व्यवस्था नभई सर्वहारा वर्गको अधिनायकत्व हो । यो कुरा कम्युनिस्टहरु लुकाउँदैनन् । परन्तु, अर्कोतिर के कुरा पनि सत्य हो भने पुँजीवादीहरुले भन्ने गरेको संसदीय व्यवस्था वा उदारवादी लोकतन्त्र पनि पुँजीपति वर्गको अधिनायकत्व हो । वर्गसमाजमा राज्यव्यवस्था अधिनायकत्वमा आधारित हुन्छ ।

यहाँ प्रश्न अधिनायकत्वको होइन, मुख्यतः कुन वर्गले कुन वर्गमाथि अधिनायकत्व लागु गर्ने भन्ने प्रश्न हो । पुँजीपतिहरुले ढाँटछल गरी लोकतन्त्रका नाममा आफ्नो अधिनायकत्वलाई चिरञ्जीवी बनाउन खोज्दछन् । परन्तु, कम्युनिस्टहरु स्पष्ट भाषामा सर्वहारा अधिनायकत्वलाई संक्रमणकालीन व्यवस्था बताउँदै तथा सर्बहारा जनवादको अभ्यास गर्दै सबैखाले वर्गीय राज्यसत्ता एवम् अधिनायकत्वको अन्त्य गरी साम्यवादको स्थापना गर्न चाहन्छन् ।

९– संशोधनवादीहरु सोभियत रुस लगायतका देशहरुमा समाजवादको असफलताको प्रमुख कारण कम्युनिस्टहरुद्वारा जनवादको अभ्यासमा गल्ती कमजोरी हुनु हो भन्दछन् र यसको लागि स्तालिनमाथि गम्भीर प्रकृतिका आरोपहरु लगाउँछन् । वस्तुतः सोभियत रुस लगायतका देशहरुमा समाजवादको असफलताका पछाडि जनवादको अभ्यासमा कमी होइन मुख्यतः सर्वहारा वर्गीय अधिनायकत्वलाई राम्रोसित लागु गर्न नसक्नु हो । यद्यपि स्तालिनमा पछिल्लो कालमा रुसी समाजका अन्र्तविरोधहरुलाई ठीकसित ठम्याउने र तिनको समाधान गर्ने काममा कतिपय गल्ती कमजोरीहरु अवश्यै भए, परन्तु अन्ततः वहाँ महान् मार्क्सवादी–लेनिनवादी नै हुनुहुन्थ्यो । माओद्वारा स्तालिनमा ३० प्रतिशत दुर्बल र ७० प्रतिशत सबल पक्ष रहेका छन् भनेर जुन मूल्याङ्कन गरियो, त्यो वैज्ञानिक नै रहेको छ ।

१०– क्रान्तिकारी कम्युनिस्टहरुका दृष्टिमा प्रतिक्रान्तिका वस्तुगत र आत्मगत दुई प्रकारका कारण हुने गर्दछन् । पराजित प्रतिक्रियावादीद्वारा पुँजीवादको पुनः स्थापनाका निम्ति अत्यधिक कसरत गरिनु, समाजवादी समाजमा विद्यमान लघु उत्पादन पुँजीवादको पुनः स्थापनाका लागि मूल आधार तथा स्रोत बन्नु, साम्राज्यवादद्वारा सम्बन्धित देश र पुँजीवादीपन्थीहरुलाई सहयोग गरिनु र सम्बन्धित देशको कम्युनिस्ट पार्टीभित्रै संशोधनवाद पैदा हुनु आदि प्रतिक्रान्तिका वस्तुगत कारण बनेका हुन्छन् ।

प्रतिक्रान्तिका आत्मगत कारणका रुपमा क्रान्तिकारीहरुद्वारा समाजमा विद्यमान अन्तर्विरोध तथा प्रतिक्रान्तिका बीजहरुलाई पहिचान गर्ने र तिनको हल गर्ने काममा पर्याप्त भूमिका नखेलिनु र क्रान्तिकारीहरुको शक्तिलाई सुदृढ तथा प्रतिक्रान्तिकारीहरुलाई कमजोर तुल्याउने कार्यमा आवश्यक पहल नगरिनु आदिलाई लिन सकिन्छ । प्रतिक्रान्तिका उक्त वस्तुगत तथा आत्मगत कारणहरुमा कुनै वेला कसैको प्रमुख भूमिका हुने भएपनि अन्ततः वस्तुगत कारणकै निर्णायक भूमिका हुने गर्दछ । समाजवादी कालमा सर्वहारा वर्गको अन्तिम विजयका लागि दीर्घकालीन अवधि आवश्यक हुने र कुनै मुलुक विशेषमा क्रान्तिको जीतको सुनिश्चितका लागि अन्ततः विश्व क्रान्ति कै विजय अपेक्षित रहने गर्दछ । यी विषयबारे लेनिन र माओले राम्रो प्रकाश पार्दै आउनु भएको छ ।

११– प्रतिक्रियावादीहरु के ठान्ने गर्दछन् भने समाजवादी सत्ताहरु एकपटक असफल भएपछि तिनले कहिल्यै पनि पुनः विजय हासिल गर्न सक्तैनन् र त्यो असफलता मार्क्सवादकै सैद्धान्तिक असफलता हो । यो नितान्त गलत कुरा हो । क्रान्तिले जीत हारका अनेकौं श्रृङ्खलाहरुका बीचबाट अन्तिम विजय हासिल गर्दछ । इतिहासमा विभिन्न मुलुकहरुका पुँजीवादी क्रान्ति पनि अनेकौं हारहरुको सामना गर्दै अगाडि बढेका देखिन्छन् । यस सन्दर्भमा माओको भनाइ विशेष ध्यान दिन योग्य छ ।

माओ के भन्नु हुन्छ भने सङ्घर्षको क्रममा प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने शक्तिहरु कहिले काहीं उनीहरुका विचार सही नभएकाले होइन कि सङ्घर्षमा संलग्न शक्तिहरुको सन्तुलनमा केही समयका निम्ति प्रतिक्रियावादी शक्ति सरह क्रान्तिकारीहरु शक्तिशाली नभएकोले पराजित हुन पुग्दछन्, अस्थायी रुपमा उनीहरुले पराजय भोग्नु परे पनि अन्ततः तिनले विजय प्राप्त गर्नु अवश्यंभावी छ । यसरी के स्पष्ट हुन्छ भने समाजवादी सत्ताहरु असफल भएपनि त्यो अस्थायी असफलता हो र अन्ततः सर्वहारा वर्ग तथा उत्पीडित जनसमुदायको विजय अपरिहार्य छ ।

१२– मार्क्सवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले वैज्ञानिक र सर्वशक्तिमान रहेको छ । दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा मूल्यको श्रम तथा अतिरिक्त मूल्यको सिद्धान्त, समाजवादको क्षेत्रमा वर्ग, वर्गसङ्घर्ष, सर्वहारावर्गीय अधिनायकत्व एवम् राज्य सत्ताको विलोपीकरण अर्थात् साम्यवादमा आधारित प्रस्थापना ऐतिहासिक र तार्किक दुवै दृष्टिले वैज्ञानिक र संगतिपूर्ण रहेका छन् । परन्तु, यसको विपरीत ध्रुव पुँजीवाद अर्थात् साम्राज्यवाद सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले अवैज्ञानिक र असङ्गतिपूर्ण रहेको छ । आज यसले इतिहास, विचारधारा, मानिस र यथार्थ सबैको अन्त्यको घोषणा गर्ने उत्तरआधुनिकतावादलाई आफ्नो सैद्धान्तिक आधार बनाएको छ । दर्शनको क्षेत्रमा यसले शून्यवाद, अतर्कबुद्धिवाद, बहुलवाद र सारसङ्ग्रहवादमा आधारित अधिभूतवादी तथा आदर्शवादी चिन्तनलाई अंगालेको छ ।

अर्थशास्त्रको क्षेत्रमा यो एकाधिकारी पुँजीवाद, बहुराष्ट्रिय कंपनीहरुको सञ्जाल, पुँजीको सङ्केन्द्रण तथा वित्तीयकरण, मुनाफावाद र आर्थिक सङ्कटको उम्कनै नसक्ने भयावह चक्रब्यूहमा फसेको छ । राजनीतिक क्षेत्रमा यसले लोकतन्त्रको मायावी भ्रमजाल सृष्टि गरेर बहुसंख्यक जनसमुदायमाथि अल्पसंख्यक अभिजात वर्गको अधिनायकवाद थोपर्दै आएको छ । यसले फलाको हाल्ने गरेका स्वतन्त्रता, समानता र भातृत्वका नाराहरु हात्तीको देखाउने दाँत सिवाय अरु केही होइनन् भन्ने कुरा प्रमाणित भइसकेको छ । यसको अन्तिम परिणति फासिवाद हो । आज भूमण्डलीकृत साम्राज्यवाद नवउदारवादी खुला अर्थतन्त्र र संरक्षणवादको भीषण सङ्घर्षका बीचबाट नवफासीवादतर्फ धकेलिइरहेको छ । तसर्थ, सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले मार्क्सवादको भविष्य समुज्ज्वल र एकाधिकार पुँजीवादको भविष्य अन्धकारमय रहेको छ । तसर्थ वर्तमान युगमा सबैखाले समस्या तथा अन्तरविरोधहरुको समाधान गर्ने सामथ्र्य मार्क्सवादमै सन्निहित छ र माक्र्सवादको सान्दर्भिकता अझै बढेर गएको छ ।

१३– माओले सबैखाले प्रतिक्रियावाद र साम्राज्यवादलाई तात्कालीन तथा कार्यनीतिका दृष्टिले साँच्चैका बाघ र दीर्घकालीन तथा रणनीतिक दृष्टिले कागजी बाघ बताउनु भएको थियो । यो कुरा वर्तमान सन्दर्भमा पनि सत्य हो । आज साम्राज्यवाद बहुराष्ट्रिय कम्पनी र भूमण्डलीकृत स्वरुपको नयाँ कलेवरमा पुँजीको वित्तीयकरणको चरम अवस्थामा अभिव्यक्त भएको छ । त्यसले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व व्यापार सङ्गठनको बाहुपासमा विश्वलाई लपेट्न खोजे पनि आज त्यो नवउदारवाद र संरक्षणवादका बीचको सङ्घर्ष र भयावह व्यापार युद्धमा फँस्दै गएको छ । हो, आज साम्राज्यवाद रुपमा शक्तिशाली देखिन्छ, परन्तु सारमा त्यो दिनप्रतिदिन कमजोर बन्दै गएको छ । त्यसैगरी रुपमा आज विश्व सर्वहारा वर्ग र कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा छ, तर सारमा त्यो समुज्ज्वल भविष्यले युक्त छ । सच्चा माक्र्सवादीहरुले रुप मात्र होइन मुख्यतः सारतत्व माथि ध्यान दिनु पर्दछ ।

१४– माओको निधन र समाजवादी देशहरुमा पँुजीवादको पुनः स्थापना पश्चात् विश्वका विभिन्न देशका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा संगठनहरुले विश्व सर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्तलाई मार्क्सवाद–लेनिनवाद–माओवादका रुपमा संश्लेषण गरेर क्रान्तिको प्रक्रियालाई अघि बढाउने काम गरे । यसै क्रममा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको गठन भयो । फिलिपिन्स, पेरु, भारत, नेपाल लगायतका देशहरुमा जनयुद्ध विकसित हुँदै गए । यसबाट विश्वमा क्रान्ति र उत्साहको नयाँ लहर पैदा भयो । परन्तु, केही समय पश्चात् जनयुद्धमा संलग्न तात्कालीन नेकपा (माओवादी) को मुख्य नेतृत्वपंक्तिमा गम्भीर प्रकारको दक्षिणपन्थी अवसरवाद पैदा भयो र महान् जनयुद्धले गम्भीर धक्का खायो ।

यसैबीच अमेरिकाको आर।सी।पी।को नेतृत्वले नयाँ संश्लेषणका रुपमा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास र मार्क्सवाद–लेनिनवाद–माओवादमाथि गम्भीर सैद्धान्तिक प्रहार गर्दै उत्तर मार्क्सवादको बाटो पक्ड्यो । फलतः क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन विघटित अवस्थामा पुग्यो र पुनः विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुले नयाँ अन्तर्राष्ट्रिय गठनका लागि आवश्यक पहल गरिरहेका छन् । आज पनि एशिया, अफ्रिका र दक्षिण अमेरिकामा मूल प्रवृतिका रुपमा क्रान्ति जारी छ । विकसित देशहरुमा पनि क्रान्ति नयाँ ढङ्गले सङ्गठित बन्दै गइरहेको छ ।

१५– आज मार्क्सवादका विरुद्ध विभिन्न रुपका प्रतिक्रियावाद मात्र होइन संशोधनवाद पनि लागि परेका छन् । आज एकथरी संशोधनवादीहरुले खुलारुपमा नवउदारवाद तथा संसदवादको पक्षपोषण र अर्काथरी संशोधनवादीहरुले विज्ञान तथा प्रविधिको विकासले मानिसलाई होइन प्रविधिलाई प्रमुख बनाइ दियो भन्दै मार्क्सको अतिरिक्त मूल्यको सिद्धान्तका विरुद्ध पुँजीवादकै पुर्पक्ष गर्न गइरहेका छन् । आज क्रान्तिका लागि संशोधनवादका विरुद्ध वैचारिक सङ्घर्ष गर्न जरुरी छ । साथै यहाँनेर कुन कुरामा पनि ध्यानदिन जरुरी छ भने प्रविधिको विकास उत्पादक शक्तिको विकास पनि हो । यसले एकातिर कार्यदिशालाई समृद्ध तुल्याउने माग गर्दछ भने अर्कोतिर उत्पादक शक्तिको विकासले उत्पादन सम्बन्धमा क्रान्तिको आवश्यकतालाई पनि औल्याउँछ ।

१६– उक्त सबै विषयहरुमा आवश्यक दृष्टिपात गर्दै हामीले नेपाली क्रान्तिका साथै विश्वक्रान्तिका कार्यभारबारे पनि विशेष ध्यान दिन जरुरी छ । यस सन्दर्भमा उल्लेखनीय विषय मूलतः यी हुन् ।

पहिलो: पथप्रदर्शक सिद्धान्त । क्रान्तिको पथप्रदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो र यसलाई हामीले राम्रोसित आत्मसात गर्नु पर्दछ । माओवाद र माओविचारबारे विद्यमान मतभेदबारे पनि छलफल चलाउन सकिन्छ ।

दोस्रोः क्रान्तिको मूल कार्यदिशा । अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा मूलतः नव–औपनिवेशिक अवस्थामा रहेको दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय उत्पीडनमा परेको र आन्तरिक रुपमा दलाल तथा नोकरशाही पुँजीवाद र वाह्य रुपमा साम्राज्यवाद तथा विस्तारवादद्वारा शोषित, उत्पीडित एवम् हस्तक्षेपित रहिआएको नेपाली समाजका सन्दर्भमा नयाँ जनवादी क्रान्ति नै अपरिहार्य रहेको छ । नयाँ जनवाद समाजवादकै अभिन्न अङ्ग हो र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर नै समाजवादी क्रान्तिको दिशामा जान सकिन्छ । हामीले यसै अनुरुप सङ्घर्षको कार्यदिशा र बाटो पनि निर्धारित गर्नुपर्दछ । क्रान्तिका लागि बलप्रयोग अनिवार्य छ । यी विषयमा पनि छलफल चलाउनु पर्दछ ।

तेस्रोः संयुक्त मोर्चा । क्रान्तिका लागि क्रान्तिकारी संयुक्त मोर्चा आवश्यक पर्दछ । यो मोर्चा एकातिर क्रान्तिकारी तथा प्रगतिशील राजनीतिक दल र अर्कोतिर वर्गीय, जातीय, लैङ्गिक आधारमा पनि निर्माण गर्नु पर्दछ । यो मोर्चा नबन्दासम्म मुद्दा मिल्ने शक्तिहरुसंग कार्यगत एकता गर्न जरुरी हुन्छ ।

चौथोः नयाँ ढङ्गको एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण । क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्तको पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशाका आधारमा निर्मित नयाँ ढङ्गको कम्युनिस्ट पार्टीको निर्माण अनिवार्य रुपमा आवश्यक छ । आज हामीले सच्चा कम्युनिस्ट पार्टी तथा समूह र व्यक्तित्वहरुलाई एकतावद्ध गर्न जरुरी छ ।

पाचौँः सर्वहारा अन्तर्राष्ट्रियतावाद । कम्युनिस्ट पार्टीका साथै सिङ्गो कम्युनिस्ट आन्दोलन सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित हुन्छ । तसर्थ हामीले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई मालेमावादका आधारमा नयाँ ढङ्गले पुनः सङ्गठित तुल्याउन र अर्कोतिर साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्न अति जरुरी छ ।

कम्युनिस्ट क्रान्तिकारी शक्तिहरुका बीच यी विषयबारे विना पूर्वाग्रह आवश्यक छलफल चलाउन र सही निष्कर्षमा पुग्नका लागि हामीले विशेष पहल तथा प्रयत्न गर्नु पर्दछ । यस सन्दर्भमा एकता, सङ्घर्ष र रुपान्तरणको द्वन्द्ववादलाई आत्मसात गर्न जरुरी छ ।

१७– मार्क्सको द्विशतवार्षिकी मनाउनु र मार्क्सका सैद्धान्तिक तथा व्यावहारिक शिक्षा एवम् योगदानहरुको संस्मरण गर्नुको वास्तविक अर्थ र औचित्य कम्युनिस्ट पार्टीको पथप्रदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका बीचबाट क्रान्तिको प्रक्रियालाई निरन्तर अगाडि बढाउनु नै हो । विश्वक्रान्ति र नेपाली क्रान्तिको पनि ऐतिहासिक शिक्षा यही हो । यसबारे हामीले विशेष रुपमा सचेत तथा गम्भीर बन्दै पुनः प्रतिवद्धता जाहेर गर्न जरुरी छ ।

(यो सामाग्री, नेकपा क्रान्तिकारी माओवादीले २०७६ बैशाख २२ गते कार्ल माक्र्सको दुई सयऔं बार्षिकीको अवसरमा आयोजित विचार गोष्ठीमा महासचिव मोहनबैद्य किरणद्धारा प्रस्तुत कार्यपत्रको पूर्णपाठ हो ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्