खुम्बुसम्म ४ लेनको सडक निर्माणका लागि सांसदको पहल
काठमाडौं, २२ बैशाख २०७६ । सोलुखुम्बुलगायतका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण लागि सरकार र सम्बन्धित निकायसँग व्यापक छलफल अगाडि बढाएका छन् । यसैबीच सांसदहरुले अन्तरदेशीय, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने सडकका लागि आउँदो आर्थिक वर्षको कार्यक्रम तथा बजेटमा कुनैपनि हालतमा समेट्नका लागि पहल थालेका छन् ।
सांसदहरुले आइतबार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा् पुष्पराज कँडेललगायतलाई भेटेर मागपत्र नै बुझाएका छन् । सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर)काअनुसार मागपत्रमा सिरहा–मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा–सल्लेरी (सोलु)–खुम्बु जोड्ने ४ लेनको सडकलाई एक नम्बर बुदामा राखिएको छ ।
त्यस्तै घुर्मी–चतारा (प्रदेश ३ र प्रदेश नम्बर १ जोड्ने) सडक तथा घुर्मी–नारायणघाट–तलुवा–रसुवा–कुईभीर–नेचा बरकु घाट–दिप्लीघाट–जुभिङ घाट सडक सञ्जालका लागि आउँदो कार्यक्रम तथा बजेटमा समावेश गरिनुपर्ने बुदा पनि प्राथमिकतामा राखिएको छ ।
उक्त मागपत्रमा सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य हेमकुमार राई (सुरबीर), ओखलढुंगाका सांसद यज्ञराज सुनुवार, उदयपुर २ का सांसद सुरेशकुमार राई (हिमाल), सिराहा ३ का सांसद लिलानाथ श्रेष्ठ, खोटाङका सांसद विशाल भट्टराई, सुनसरी १ का सांसद जयकुमार राईलगायतले हस्ताक्षर गरेका छन् ।
सांसद हेमकुमार राई (सुरबीर)ले यसअघि आफ्नो जिल्लाको विकासका लागि लिखित दस्तावेज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका थिए । त्यससँगै मन्त्रीहरुलाई भेट्ने क्रममा शनिबारमात्रै बन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर जिल्लाको बन तथा वातावरण संरक्षणमा ठोस कदम चाल्न अनुरोध गरेका थिए ।