टोर्नेडो पीडितका लागि यसरी बनाउँदैछ घर सेनाले: साउन १२ गते हस्तान्तरण

नेपाली सेनाले साउन १२ मा हस्तान्तरण गर्नेगरि बारा र पर्सामा १४ सय ५३ वटा घर निर्माण गर्दैछ। यसका लागि सेनाका २६ सय अधिकृत र जवान फिल्डमा खटिनेछन्।
सेनाले निर्माण अवधिभर फिल्डमै ब्यारेक बनाएर काम गर्नेछ।
‘अप्रेसन जनता आवास’ नाम दिईएको निर्माण कार्यको २८ बाहिनी अड्डाले प्रदेश सरकारसँग समन्वयनमा काम गर्नेछ। प्रदेश मुख्य सचिवको नेतृत्वमा रहने पूर्नस्थापना तथा घर पूनर्निर्माण सहजीकरण समितिसँगको सहकार्यमा निर्माण हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रदेशका मुख्य सचिवको अध्यक्षतामा रहेको समितिमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहरी विकास मन्त्रालयका प्रतिनिधी र सेना सदस्य छन्।
‘कार्यबाहक प्रधानमन्त्री र मुख्यमन्त्रीबाट शनिबार विधिवत शुभारम्भ हुनेछ,’ सैनिक प्रवक्ता सहायक रथी बिज्ञानदेब पाण्डेले नेपालखबरसँग भने ‘बाराका ९ र पर्साका ३ स्थानमा एकसाथ काम सुरु गर्छौ।’
सेनाले निर्माण गर्ने घर २ कोठा, एउटा भान्छा र शौचालय सहितको हुनेछ। ढलान सहितको जग, ईटाको गारो र जस्ताको छाना हुनेछ। सेनाले प्रतिघरको लागत ५ लाख ४५ हजार अनुमान गरेको छ।
‘सेनाले सुरक्षित घर बनाएर पीडितहरुलाई समयमै हस्तान्तरण गर्नेछ,’ सहायक रथी पाण्डेले भने ‘निर्माणका लागि आवश्यक जनशक्ति परिचालन भएको छ।’ उनका अनुसार घरहरु वातावरणमैत्री हुनेछन्।
घर निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २१ चैत २०७५ को बैठकले सेनालाई जिम्मेबारी दिएको थियो। त्यसको एक महिना पछि सेनाले घर निर्माण सुरुवात गर्न थालेको हो। यसका लागि सरकारले ४८ करोड ६८ लाख रुपैयाँ सेनालाई दिएको छ। सेनालाई बिनियोजित रकम बाहेकको अपुग रकम आफैले हाल्नेछ। सेनाले मौसम र अवस्था राम्रो भए ८२ दिनमै घर हस्तान्तरण गर्ने दाबी गरेको छ।
‘सेनाकै इन्जिनियरिङ विभागले नक्सा सहितको डिजाईन बनाएको छ,’ सहायक रथी पाण्डेले भने ‘प्राकृतिक विपत्तीबाट जोगाउन सक्ने घर बनाउने छौं।’
यसरी बनाउने छ सेनाले घर- बाराका ९ स्थानमा १३ सय ६२ र पर्साका ३ स्थानमा ९१ घर बनाउन १२ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को कमाण्डमा टोली रहनेछ। यसरी प्राविधिक र इन्फेन्ट्रीका २३ सय सैनिक फिल्डमा हुनेछन्।
बाहिनी सहितका नजिकका गण र गुल्ममा ३ सय प्राविधिक टोली समेत निर्माणकै लागि खटिनेछन्।
‘हामीले सबैलाई काम बाँडेका छौं,’ सहायक रथी पाण्डेले भने ‘छानो, झ्याल–ढोका र घरका लागि आवश्यक अन्य सामाग्री ब्यारेकहरुमा बन्छन, फिल्डमा रहेकाले त्यहाँको काम गर्नेछन्।’
सेनासँगै रहेका डर्कर्मी, सिर्कर्मीदेखि सिभिल इन्जिनियर समेतको टोलीले एकैसाथ काम गर्नेछ। यसको प्रत्यक्ष रेखदेख प्रधानसेनापतिको सचिवालयबाट हुनेछ।
३४ सयलाई रोजगार, पीडितलाई प्राथमिकता- सेनाले बारा–पर्सा टोर्नेडो पीडितका लागि घर निर्माणमा उनीहरुलाई समेत साथ लिएर अघि बढ्ने योजना बनाएको छ। उसले घर निर्माण सम्पन्न गर्न सेना बाहेक ३४ सय थप जनशक्ति आवश्यक हुने अनुमान गरेका छ। सेनाले ६ हजार सैनिक र गैरसैनिक परिचालन गर्ने योजना बनाएको हो।
‘जसको घर बन्दै हो त्यही परिवारका सदस्यलाई निर्माण कार्यमा रोजगार दिनेछौं, यसले पीडितलाई आफ्नै घर आफै बनाउने अवसर दिनेछ।’ उनका अनुसार पीडितहरु निर्माण सम्बन्धी कामका लागि भुक्तानी दिएर परिचालन हुनेछन्।
जंगी अड्डाबाट समेत सेनाले निर्माण क्षेत्रमा लेखा, अनुगमन र मूल्याँकन लागि जनशक्ति खटाउनेछ।
प्रधानमन्त्रीले बचन पुरा गरे – बारा र पर्सामा १७ चैत २०७५ को राती गएको टोर्नेडोमा २९ जनाको मृत्यु र १४५३ घरधुरी घरबार बिहीन भएका थिए। अर्को दिन बिहान झापाको भ्रमण छोट्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले टोर्नेडो प्रभावित क्षेत्रको भ्रमण गर्दै सरकारले घर निर्माणमा सघाउने बताएका थिए।
बाराका फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिकामा सबैभन्दा बढी प्रभावित भएका थिए।
उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वरराज पोखरेलले १६ बैशाखमा प्रभावित क्षेत्रको भ्रमण गर्दै निर्माणमा नीतिगत र राजनीतिक दबाब नहुने बताएका थिए।
सरकारले सेनालाई जिम्मेबारी दिने औपचारिक निर्णय लगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा प्रभावित क्षेत्रमा पुगेर पीडितहरुसँग भेटघाट गरेका थिए। २५ चैत्र २०७५ मा प्रभावित क्षेत्रको भ्रमणकै बेला आवासको प्रारुप बनेको थियो।
-नेपालखबरबाट