प्रदेश १ को ‘नाम र राजधानी’ बारे सांसदले के भने ? कोको कडा प्रस्तुत भए
काठमाडौं । प्रदेश नं. १ को नाम र स्थायी राजधानी तोक्न सांसदहरुले आ–आफ्नै अडानका राखेपछि प्रदेशको नाम र राजधानी तोक्न पेचिलो बन्दै गएको छ ।
प्रदेश संसद सचिवालयले बिहीबारसम्म नाम र स्थायी राजधानीको प्रस्ताव दर्ताको मिति तोकेको थियो । तर प्रदेशसभा बैठकनै २२ गते सारिएको छ ।
प्रस्ताव दर्ताको लागि मिति तोकिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैशाख १७ गते संसदीय दलको बैठक बसेको थियो । बैठकमा स्थायी राजधानी बारे एक मत हुन सकेन ।
नामको सन्दर्भमा सत्ता पक्षको प्रस्ताव हेरेर अघि बढ्ने रणनीति बनेपनि बैठकमा ‘किरात–कोशी’ वा ‘सगरमाथा’ राख्नु पर्ने छलफल चलेको एक सांसदले बताए । दलको बैठकले किरात जोडेर नाम प्रस्ताव गर्न नमाने आफै किरात प्रदेशको लागि प्रस्ताव दर्ता गराउने ती सांसदले बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले वैशाख १८ गतेको संसदीय दलको बैठक स्थागित भएको थियो । पार्टीको शीर्ष नेताहरुवीच नै कुरा नमिलेपछि दलको बैठक स्थागित भएको थियो ।
१९ गते राखिएको दलको बैठकमा ‘किरात’ वा ‘किरात–कोशी’को पक्षमा बहुमत सांसद रहेको बताइएको छ । नेकपा संसदीय दलको नेता टंक लिम्बू, रामकुमार राई(पासाङ), राजेन्द्रकुमार राई, मोहन खड्का, उमिता विक लगायतका सांसदहरु खुलेरै ‘किरात’ प्रदेशको अभियानमा लागिरहेका छन् । दुई तिहाइ मत रहेको नेकपा भित्र कुरा नमिलेपछि संसद सचिवालयले २२ गतेसम्म संसद बैठक सारेको छ ।
नेकपा भित्र स्थायी राजधानीमा विवाद देखिएको छ । ३७ जना सांसदले स्थायी राजधानी ‘इटहरी’ राखिनुपर्ने भन्दै हस्ताक्षर संकलन गरेका छन् । सोही समूहले ‘किरात–सगरमाथा’ नाम राख्न माग गरेका छन् ।
संघीय समाजवादी फोरमका जयराम यादव पनि किरातको पक्षमा रहेका छन् । संघीय लोकतान्त्रिक मञ्चको एक मात्र सांसद विष्णु तुम्बाहाम्फे लिम्बूले ‘लिम्बुवान–किरात’ वा ‘किरात–लिम्बुवान’ हुनु पर्ने माग गर्दै आएकी छन् ।
कुमार लिङ्देन (मिराक)ले नेतृत्व गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पछिल्लो समयमा प्रदेशको नाम ‘लिम्बुवान र किरात खम्बुवान’ हुनुपर्ने बताउदै आएको छ ।
राई समुदायको साझा संस्था किरात राई यायोक्खा निरन्तर रुपमा प्रदेशको नाम ‘किरात’ राख्न डेढ दशक अघिदेखि अभियानहरु सञ्चालन गर्दै आएको छ । केन्द्रदेखि प्रदेशसम्म किरात एउटा जाति नभएर इतिहास, भूगोल र सभ्यता भएको तर्क सहित नाम किरात राख्नुपर्ने बताउदै आएको छ ।
पूर्व माओवादी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा, पूर्व एमाले सम्बद्ध किरात राई लोकतान्त्रिक संघ लगायतका संगठनहरु किरात प्रदेशको लागि लाग्दै आएका छन् ।
लिम्बु समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङ, पूर्व माओवादी सम्बद्ध लिम्बुवान मुक्ति मोर्चा, पूर्व एमाले सम्बद्ध लोकतान्त्रिक लिम्बू संघ लगायतको सात संगठनले किरात लिम्बुवान बनाउन संयुक्त विज्ञप्ति जारी गरेको छ ।
प्रदेश सभामा रहेका केही सांसद बाहेक किरात, किरात कोशी, किरात सगरमाथा वा किरात लिम्बुवानको पक्षमा देखिएका छन् ।
संसद भित्र र बाहिर रहेका राजनीतिक शक्ति वा सामाजिक संघ÷संस्थाले प्रदेशको नाममा किरात शब्द नछुटाएकोले १ नम्बर प्रदेश किरात प्रदेश बन्ने लगभग पक्का भएको किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए ।