प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी: साविक एमाले कोशी र माओवादी कोशीसँग किरात
प्रदेश १ ले आफ्नो नाम कोशी प्रदेश राख्ने तयारी गरेको छ।
प्रदेश १ मा बहुमतप्राप्त सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले कोसी प्रदेश नाम राख्ने सहमति जुटाएको हो।
नेकपा भित्र पनि यसको नाम राख्न दुईथरी प्रस्ताव थिए। साविक एमाले सांसदहरु कोशी प्रदेश नाम राख्नुपर्ने र विकल्पमा सगरमाथा नाम राख्नुपर्ने पक्षमा थिए भने साविकका माओवादी सांसदहरु कोशीसँग किरात शब्द जोड्नुपर्ने पक्षमा थिए।
दुवैले आफ्ना आफ्ना अडान छोडेर कोशी नाम नै राख्ने सहमति जुटेको प्रदेश १ मन्त्रिपरिषद्का एक सदस्यले बताए।
‘कोशी प्रदेश नाम हुने भयो। यसमा सहमति जुट्यो,’ मन्त्रीपरिषद्का ती सदस्यले सेतोपाटीसँग भने, ‘राजधानीको विषयमा अझै टुङ्गो छैन।’
नेकपा मन्त्रिपरिषद्का सदस्यहरु विराटनगरलाई नै राजधानी बनाउनुपर्ने पक्षमा छन्। तर नेकपा भित्रकै सांसदहरु भने राजधानीलाई लिएर विभाजित छन्। कतिपय सांसदहरुले ‘इटहरी’ राजधानी राख्न प्रस्ताव गरेका छन्। धनकुटाको विषयमा समेत व्यापक छलफल भएको छ। तर धनकुटामा मुख्यन्त्रीको सम्पर्क कार्यालय राखेर धनकुटाको विवाद समाधानको प्रयास मुख्यमन्त्रीले गरेका छन्।
प्रदेश १ को सभाबाट नाम र राजधानी प्रस्ताव गर्ने समय वैशाख २२ सम्म थपिएको छ। २२ गते अघि नै नाम र राजधानी घोषणाको तयारी सरकारले गरेको छ। तर प्रदेशमा विवाद बढेपछि नेकपाका नेताहरुले पार्टी केन्द्र र प्रधानमन्त्रीसँग समेत राय परामर्श लिनुपर्ने धारणा राखेका छन्।



