Logo

ओली र महतोबीच मञ्‍चमै ‘दोहोरी’ : ओलीले महतोलाई प्रश्न गरे -के नाराले देश नबने नाकाबन्दी गरे बन्छ त ?


काठमाडौं । प्रधानमन्त्री केपी ओलीको मनमा कुरा अडिँदैन । प्रत्युत्पन्नमतिका धनी प्रधानमन्त्रीले तत्कालै जवाफ फर्काउँछन् । देशको प्रधानमन्त्री भएकाले संयम रूपमा प्रस्तुत होऊन् र आलोचना पचाऊन् भन्ने आम अपेक्षा हुन्छ तर उनले तत्कालै प्रतिवाद गर्छन् । आलोचना सहँदै सहँदैनन् ।

त्यस्तै दृष्य बुधबारको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा पनि देखियो । १३० औँ मे दिवसको कार्यक्रममा प्रधानमन्त्री ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको मञ्चमै दोहोरी चल्यो । सुरूमा बोल्ने पालो पाएका महतोले सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको तर युवा जति सबै विदेश पलायन भइसकेको बताएका थिए ।

उनले देशका चालु अवस्थामा रहेका उद्योगधन्दा, कलकारखाना रुग्ण बन्दै गएको र कत्ति बहुराष्ट्रिय कम्पनीसमेत मुलुक छाडेर गएको भन्दै नाराले मात्रै मुलुक नबन्ने भनेर सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए  लगत्तै बोल्ने पालो पाएका प्रधानमन्त्री ओलीले महतोलाई मञ्चमै जवाफ दिए ।

“सरकारले केही गरेन भन्ने बानी परेको छ । नराम्रो बाहेक देख्दै नदेख्ने बानी परेको छ । सबै कुराको जवाफ त दिन मन छैन,” उनले प्रश्न गरे “म राजेन्द्र महतोजीलाई पनि सोध्दिन नाराले देश नबन्ने भए के सीमानामा गएर धर्ना बसेर, नाकाबन्दी गरेचाहिँ देश बन्छ ?”

युवा दिनहुँ पलायन भइरहेको, नागरिक झन् गरिब बनिरहेको भन्दै सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए । जवाफमा ओलीले भने, “यो एक वर्षमा मानिस विदेश गएका हुन् र ? मैले गरिब बनाएको हो र ?” केही समयअघि सरकारलाई दिएको समर्थन गरेको तुष पनि उनले मञ्चमै पोखे ।

“उहाँहरूले सरकारले राम्रो काम गर्न थालेपछि समर्थन फिर्ता गर्नुभयो । मुलुक बनाउने हो भने सरकारलाई समर्थन गर्नुपर्छ । फिर्ता होइन,” उनको भनाइ थियो । राजेन्द्र महतोले सरकारले नारा मात्रै लगाएको, भाषणमात्रै गरेको बताइरहँदा ओलीले यो सरकारले इतिहासमा कुनै सरकारले नगरेको काम गरेकोमात्र होइन कल्पनै गर्न नसकेको काम गरेको दाबी गरे ।

बालुवाटार प्रकरणमा विपक्षीलाई देखाएर प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउँदैछन्

सोही कार्यक्रममा कांग्रेस उपसभापति विमेलेन्द्र निधिले बालुवाटार प्रकरणमा विपक्षीलाई देखाएर प्रधानमन्त्रीले आफ्ना मान्छे जोगाउन लागिपरेको आरोप लगाएका छन् । बालुवाटार प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत जोडिएपछि उपसभापतिले यस्तो तर्क अघि सारेका हुन् ।

कार्यक्रममा निधिले प्रधानमन्त्रीले ३३ किलो सुन काण्ड, निर्मला प्रकरण टुंगो लगाउन नसकेको र ललिता निवासमा पनि ‘फलानो पार्टीको बेलामा यस्तो भएको रहेछ’ भन्दै आफ्ना मानिस जोगाउन लागि परेको बताए ।

निधिले पत्रकारहरूसँग पनि आक्रोश पोखे । विशेष गरेर योगदानमा आधारित सामाजिक सुरक्षा कोष कांग्रेस नेतृत्वको सरकारले ल्याएको तर प्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले सुरू गरेको भनेर झुटो प्रचार गरेको उनको दाबी थियो ।
“पत्रकारज्यू भएको कुरा लेख्नूस, हामी नेताहरू त कुरा लुकाउँछौँ, पत्रकार त कुरा लुकाउँदैनन् नि !,” उनको भनाइ थियो ।

“प्रधानमन्त्री झुटो प्रचार गर्दै हुनुहुन्छ । जसको पालामा जे भएको छ त्यही लेखौँ । भर्खरकै कुरा हो । लिच्छविकाल र मल्लकालको कुरा होइन,” उनले भने । “निर्मला पन्त बलात्कार काण्ड कहाँ पुग्यो ? सुन काण्ड कहाँ पुग्यो ? ललिता निवासमा विपक्षीलाई देखाएर आफ्नो नजोगाउनूस्, खुलामञ्च बेच्ने नजोगाउनूस्,” उनले खबरदारी पनि गरे ।

नेता निधिले प्रधानमन्त्री ओलीले देशमा सबै कुरा उत्पादन गर्न शुभकामना दिँदै भने, “प्रधानमन्त्रीज्यू सबै कुरा उत्पादन गर्नुहोला । तर, बुद्धिजीवी थला बसाल्ने अरिङ्गाल उत्पादन नगर्नूस् । उनले प्रतिपक्षी, फरक विचार राख्नेलाई नन्दी भ्रिङ्गी भन्ने कस्तो संस्कार सिकाउँदै हुनुहुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न पनि गरे ।

-बाह्रखरी

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्