विराटनगरबाट प्रदेश १ को राजधानी सारे उद्योगी-व्यवसायीले आन्दोलन गर्ने
विराटनगरमा क्रियाशिल मुख्य औद्योगिक संगठनले प्रदेश नम्बर १ को राजधानी विराटनगरबाट अन्यत्र राख्न नहुने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
मोरङ व्यापार संघ र उद्योग संगठनले प्रदेश राजधानी अन्यत्र सार्ने प्रयास भएको भन्दै त्यस्तो प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।
मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद बैठकले प्रदेशको सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको थियो। यो निर्णयसँगै प्रदेश राजधानी धनकुटामा सार्न खोजिएको उद्योगी व्यवसायीको बुझाइ छ। तथापि, प्रदेश सरकारले भने धनकुटामा मुख्य सम्पर्क कार्यालय मात्र स्थापना गर्न लागेको बताएको छ।
‘आर्थिक एवम् औद्योगिक नगरीको नामबाट परिचित विराटनगरलाई पाखा लाउँदै अन्य स्थानमा राजधानी सारिने अनौपचारिक कुराहरू आएका छन्, यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ दुबै व्यापारिक संगठनले बिहीबार जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
विराटनगरले मुलुकको आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भन्दै उनीहरूले राजधानी अन्यत्र राख्दा विचार पुर्याउन माग गरेका छन्।
‘कैयौँ सरकारी कार्यालयहरू, प्रदेश नं. १ का प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सात वटा मन्त्रालय, संसद भवन, जिल्ला अदालत, क्षेत्र नं. १ को उच्च अदालत, राजस्व न्यायाधीकरणको कार्यालय, तीस भन्दा बढी सार्वजनिक संस्थानका कार्यालयहरू यहाँ छन्,’ विज्ञप्तिमा भनिएको छ।
मुलुकमा भएका ठूला परिवर्तनमा कुन ठाउँको कति योगदान रहेको बुझेर राजधानी निर्क्यौल गर्नुपर्ने व्यापारिक संगठनले सुझाएका छन्। ‘यी सबै कुरालाई बेवास्ता गरी गलत निर्णय भयो भने त्यसको दोषका साथै जवाफदेहीता लिन नेतृत्व वर्ग तयार हुनुपर्छ भन्ने तर्फ पनि हामी सजग गराउँछौं,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा र उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले हस्ताक्षर गरेका छन्। सारडा र घिमिरेले विराटनगरबाट राजधानी सारिए संघर्ष गर्ने चेतावनी दिएका छन्।
प्रदेश सरकार गठन भएपछि विराटनगरलाई अस्थायी राजधानी मानेर प्रदेश सरकारले प्रशासनिक कार्यसम्पादन गर्दै आएको छ। एक नम्बर प्रदेशको नामाकरण र राजधानी कहाँ राख्ने विषयमा राजनीतिक दलहरूबीच छलफल तीब्र चलिरहेको छ।