Logo

विश्वप्रकाश शर्माले दर्जन भाषामा जागरण गीत बनाए


साउन्ड डिजाइन स्टुडियो, नक्साल । गीत रेकर्ड भइरहेको छ । एरेन्जर मनोहर सुनाम र रेकर्डिस्ट भोला पौडेलका साथमा कपाल छोटो पारेर काटेका, आधाजसो कपाल सेताम्य भइसकेका एक व्यक्ति गायकलाई घरी हाई स्केलमा गाउन भनिरहेका छन्, घरी लो स्केलमा ।

घरी औँला उठाउँदै आफैँ पनि गाइरहेका छन् । अनि भन्दै छन्, ‘यसरी गाउनु, यसलाई फेरि ट्राई गरौँ न’ । केही समयपछि अगाडिबाट हेर्दा मात्र चिनियो, उनी कांग्रेस नेता विश्वप्रकाश शर्मा रहेछन् ।

विश्वप्रकाशबारे थाहा नभएको कुरा थियो– उनी संगीतकार पनि हुन् । झनै रेकर्ड भइरहेको गीतको गीतकार पनि उनै रहेछन् । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान २५ वैशाखबाट सुरु हुँदै छ । विभिन्न तीन चरणमा हुने कार्यक्रमका लागि भनेर उनले गीत लेखेका रहेछन् ।

हुन त शर्माले पहिले पनि थुप्रै गीत लेखेका छन् । उनले आफूले लेखेका अधिकांश गीतमा आफैँले संगीत भरेका रहेछन् । केही वर्षअगाडि आएको उनको ‘स्वीकृति’ एल्बममा उनकै शब्द र संगीत थियो । नेपाल जेसिसको देशैभर बज्ने गीत पनि उनैले लेखेका र संगीत भरेका हुन् ।

शर्माले संगीतको औपचारिक शिक्षा त लिएका रहेन्छन् । तर, सानैदेखि उनलाई धुनप्रति लगाव रहेछ । भन्छन्, ‘म सानैदेखि धुनहरू बनाउँथेँ । खासमा आत्मसन्तुष्टिका लागि संगीत भर्ने गरेको छु ।’

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले जागरण अभियानलाई जागरुकताका साथ संगीतमय बनाउने योजनाका कारण आफूले गीत तयार पार्न लागेको उनले बताए ।

‘१२ वटा भाषामा गीत अनुवाद भएर रेकर्ड भइरहेको छ । यसमा लिम्बू, नेवारी, मैथिली, भोजपुरी, थारू, तामाङ, गुरुङ, बान्तवा राई, राजवंशी, देउडा र मगर भाषामा जाँदै छौँ ।’

उनलार्ई लाग्छ, सम्भवतः यो माध्यमबाट आमनागरिकसम्म अन्य राजनीतिक पार्टी पुगेका छैनन् । नेपालमा राज्यले मान्यता दिएको विभिन्न राष्ट्रभाषा छन् । राजनीतिक पार्टीहरूले नेपाली भाषामै नागरिकलाई आफ्नो कुरा राख्छन् ।

र, देशमा बोलिने विभिन्न राष्ट्रभाषालाई नै आफूहरूले गीतका माध्यमबाट समेट्ने कोसिस गरेको उनी बताउँछन् । उनलाई लाग्छ– राजनीतिक दल यसरी जनताकै भाषा लिएर उनीहरूसम्म गएका छैनन् । स्थानीय रूपमा जाँदा स्थानीय भाषालाई किन नसमेट्ने ?

शर्मालगायत सांस्कृतिक संघमा रहेका सदस्यले उत्तरको खोजी गरेको प्रश्न हो, यो । ‘हामी कुन कालखण्डमा छौँ भने सबैको पहिचानलाई स्विकार्ने । हामी राष्ट्रिय जागरण अभियान भन्दै गर्दा राष्ट्रले स्विकारेका अन्य भाषामा किन नजाने ?

गुरुङ या अन्य भाषीले पनि नेपाली भाषालाई बुझ्छन्, तर उनीहरूको भाषालाई बोकेर किन नजाने ?’ आफ्नो भाषा ठूलो पार्टीले बोकेर आउँदा आत्मीयता, अपनत्व बढ्ने शर्माको विश्वास छ ।

राष्ट्रिय जागरणको गीत बनाउन बजारमा चल्तीमा रहेका गीतकार–संगीतकार नै छनोट हुन सक्थे । तर, पार्टीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको विश्वप्रकाश बताउँछन् । ‘साथीहरूले विश्वास गरेर मलाई नै लेख्नु, संगीत भर्नु भन्नुभयो,’ उनले भने ।

राष्ट्रिय जागरणको गीत बनाउन बजारमा चल्तीमा रहेका गीत, संगीतकार नै छनोट हुन सक्थे । तर, पार्टीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको उनी बताउँछन् । ‘साथीहरूले विश्वास गरेर मलाई नै लेख्नु, संगीत भर्नु भन्नुभयो,’ उनले भने । सांस्कृतिक संघ पदाधिकारीको मिटिङमा यसपालिको जागरण अभियानका लागि सांस्कृतिक माध्यमबाट जाने कुरा भयो ।

विभिन्न भाषाका माध्यमबाट आमनागरिकसम्म जाने कुरा पारित भएपछि गीत तयारीमा लागेका रहेछन्, शर्मा । ‘हामी आफैँले गर्दा हाम्रो आफ्नो कुरा राम्रोसँग राख्न सक्छौँ, अनि हामीले आफैँ किन नगर्ने ? आत्मसन्तोष पनि हुने,’ उनले खुलाए । त्यसपछि नै उनी गीत जन्माउन लागेका हुन् ।

धुन बनाउने कुरामा उनलाई अलि समय लाग्यो । लेख्नका लागि भने समय लागेन, एकैछिनमा लेखेछन् । चाँडै गीत लेख्नुको कारण खुलाउँछन्, ‘जागरण अभियानका लागि मानसिक रूपमा तयार भएकाले पनि समय लागेन ।’

व्यस्तताका बीच गीत बनाएका हुन्, उनले । निकै रात लगाएर धुन बनाए । गीत बनाइसकेपछि अर्को आनन्द महसुस भएको बताउँछन्, शर्मा । बोल्छन्, ‘यो गीत देशैभर बज्दै गर्दा यसले जागरण अभियानमा खुब बल पुर्‍याउँछ भन्ने विश्वास छ, मलाई ।’

गीत बनाउने सवालमा उनको फरक बानी छ । अक्सर धुन बनाइसकेपछि मात्र शब्द लेख्छन् । शब्द र धुन सँगै बनाउँदै जान्छन् । भन्छन्, ‘मलाई धुन बनाउँदै जाँदा दिमागमा शब्द आइरहेको हुन्छ । जब धुन बनिसक्छ, अनि शब्द कागजमा लेख्छु ।’

गीत बन्यो, नेपाली भाषामा । संघमा चाहिँ स्थानीय रूपमै जाने सल्लाह भएको थियो । तर, कसरी जाने त ? विविधतालाई स्वीकार गरेर । अनेक भाषलाई स्वीकार गरेर । तर, अहिले दर्जन भाषामा मात्र गीत बनेको छ । तर, भाषा त १२ वटा मात्र छैन नि ? शर्मा भन्छन्, ‘हामी अरू भाषामा पनि जानेछौँ । यिनीहरूले नेपालको विविधतालाई अंगीकार गरेर गएको छ भन्ने सबैले बुझिदिनुहुनेछ भन्ने लागेको छ ।’

गीतलाई नेपाली भाषामा सुमित खड्का, नारायण कडारिया, मीना सिंह र सुष्मा लिम्बूले गाएका छन् । अन्य भाषामा १७–१८ जना गायक÷गायिकाको स्वर छ भने थुप्रै अनुवादकले गीतलाई अन्य भाषामा अनुवाद गरेका छन् ।

शर्मा गीतलाई विविध भाषामा तयार गर्नुको कारण बताउँछन्, ‘हामीले नागरिक पंक्तिको मातृभाषामै संवाद गर्न चाहेका हौँ । राष्ट्रले स्वीकार गरेको भाषालाई हामीले किन नस्विकार्ने ?’ उनलाई गीत बनाउँदै गर्दा लागेको कुरा हो– हामीले के सुनाउनेभन्दा पनि उहाँहरू के सुन्न चाहनुहुन्छ, त्यही लिएर जाने हो ।

गीतलाई नेपाली भाषामा सुमित खड्का, नारायण कडरिया, मीना सिंह र सुष्मा लिम्बूले गाएका छन् । अन्य भाषामा १७–१८ जना गायकरगायिकाको स्वर छ भने थुप्रै अनुवादकले गीतलाई अन्य भाषामा अनुवाद गरेका छन् ।

आफूहरू जागरण अभियानमा राजनीतिक रूपमै जाने बताउँछन्, उनी । एउटा नेताको रूपमा । उनी नेता नै त हुन् । नेताको रूपमै शर्माको परिचय बलियो छ । एकपटक उनी आफैँले भनेका थिए, ‘म राजनीतिमा आएको थिइनँ भने लेखक भएर बाँच्थेँ ।’ तर, उनलाई लागिरहन्छ– राजनीतिक रूपबाट मात्र नभएर एउटा आमनागरिक भएर पनि जानेछु ।’

अहिले त राजनीतिक व्यवस्था बदलियो, व्यवहार बदलिएको छैन । सरकार बदलियो, संस्कार बदलिएको छैन । दलीय पद्धति बदलियो, तर संस्कृति बदलिएको छैन । यी कुराले उनलाई सधैँ बिझाइरहन्छ रे । भन्छन्, ‘विभिन्न परिवर्तनपछिको अहिलेको सरकार छ, उसलाई सरकार बनाएँ भनेर मात्र पुग्दैन । सरकारपछि उसले संस्कार बनाउने कुरामा जोड दिन जरुरी छ ।’

राजनीतिप्रति आमनागरिकको वितृष्णा छ । राजनीतिलाई कतिले त ‘फोहोरी खेल’ पनि भन्ने गर्छन् । सामाजिक सञ्जालमा अपशब्द प्रयोग गर्न पनि पछि पर्दैनन् । चियाअड्डामा ग्राहकको अधिकांश समय नेताहरूको कुरा काट्दैमा सकिन्छ ।

यस्तो अवस्थाले आफूलाई निकै तनाव दिने बताउँछन्, नेता शर्मा । भन्छन्, ‘एउटा नागरिकलाई राजनीतिमा विकर्षण भयो भने ऊ राजनीतिप्रति मात्र होइन, देशप्रति पनि विकर्षित हुन्छ ।’

विकर्षणलाई रोक्न पनि राजनीतिक दलले पहल गर्नुपर्ने राय उनको छ । अहिले पहिलेको कालखण्ड छैन, जतिवेला हिंसा थियो, युद्ध थियो, निरंकुशता थियो । अहिले त्यस्तो स्थिति छैन ।

शर्मा लामो वाक्य बोल्छन्, ‘सबैलाई सम्बोधन गरेर सरकार अगाडि बढ्यो भने सरकारलाई हाम्रो समर्थन छ । त्यसरी जाँदा नागरिकमा विश्वास बढ्छ । राजनीतिप्रतिको आकर्षण र नेताप्रतिको नागरिकको विश्वास जति बढ्छ, देश उति विकासको क्रममा अगाडि बढ्छ ।’

उनलाई लागिरहने कुरा रहेछ– ‘देश सरकारले मात्र बनाउने होइन, संस्कारले बनाउने हो, सामूहिकताले बनाउने हो ।’ उनले अहिले जुन गीत लेखेका छन्, त्यो गीतले पनि सामूहिकतालाई नै स्विकारौँ र सामूहिकताबारे सोचौँ भन्ने आशय बोकेको दाबी उनको छ । नेताहरूले सामूहिकताको कुरा गर्दैगर्दा अर्को पक्षलाई गाली गर्ने गर्छन् ।

उनी भन्छन्, ‘तर, जब गीतकारले गीत लेख्छ, उसले गीतको कुरा मात्र गर्छ, संगीतको मात्र गर्छ । यो गीतमार्फत कांग्रेस बोलिएको होला । साथमा देश बोलिएको छ, भिन्नभिन्न भाषा बोलिएको छ । नेपालीपन बोलिएको छ ।’ गीतले कसैको आलोचना र कसैलाई नकारात्मक ढंगले नहेरेको कथन उनको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्