Logo

किरात राई यायोक्खाले प्रदेश नं.१ ‘किरात प्रदेश’ नामकरणको माग


काठमाडौँ — किरात राई यायोक्खाले प्रदेश नं.१ किरात प्रदेश नामाकरण हुनुपर्ने माग दोहोर्‍याएको छ । प्रदेश सभाले यही वैशाख १९ गतेसम्म नाम र राजधानी प्रस्ताव दर्ता गर्ने समयसीमा तोकेपछि यायोक्खाले उक्त माग दोहोर्‍याएको हो ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले प्रदेश नं. १ को नाम ‘किरात’ राखिनु पर्ने बताएका छन् । किरात राई यायोक्खाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष राई ‘किरात’ कुनै जात नभई सभ्यता भएकाले प्रदेश नं. १ को भूगोललाई नै किरातको नामले चिनिने हुनाले प्रदेशको नाम ‘किरात’ राखिनु पर्ने बताएका हुन् ।

प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म प्रस्ताव दर्ता हुदैछ । प्रदेशको नामसँग सम्बन्धित रहेर यायोक्खाले आज (१८ गते) केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशको नाम किरात नराखे आन्दोलनहुने चेतावनी दिएको हो । प्रदेश सभामा किरात नाम राख्न प्रस्ताव दर्ताहुने विज्ञप्ति मार्फत दावी गरिएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभामा किरात प्रदेश नामको लागि प्रस्ताव दर्ता हुँदैछ ।’
उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन १ नम्बर प्रदेशको सांसदहरुलाई यायोक्खाले आग्रह गरेको छ । यायोक्खाले संस्थाको तर्फबाट ९३ जना नै सांसदलाई दैनिक एस.एम.एस. अभियान चलाएको अध्यक्ष दिवस राईले बताए । म्यासेज आम रुपमा चलाएर प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यान आकर्षण गराउदै आएको अध्यक्ष राईले बताए ।

‘किरात कुनै एउटा जाति होइन ।’ विज्ञप्तिमा भनिएको छ ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ इतिहास र सभ्यताको सवैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै प्रदेश नाम राख्न आम भूगोलबासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको छ ।

प्रदेशको नाम किरात नराखिए त्यो भूगोलमा शान्ति नहुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई वल पुग्ने विज्ञप्तिमा उल्लेख छ । असन्तोषहरु बढ्दै जाँदा भविश्यमा गम्भीर आन्दोलनहुने चेतावनी दिइएको छ । यायोक्खा यस्तो अवस्था नआओस भन्न चाहेको बताइएको छ । परिस्थिति बुझेर पनि प्रदेशको नाम किरात नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्नेछ उल्लेख छ ।

प्रदेशको नाम किरात नै राखिन्छ भन्नेमा विस्वासमा रहेको, भूगोलबासीहरु दीप प्रज्वलन गर्न आतुर रहेको र विश्वास घात भए विशिष्ट प्रकारको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । यायोक्खाले प्रदेश सभा, सत्ता र प्रतिपक्ष संसदीय दलको बैठकहरुमा प्रदेशको नाम तथा स्थायी राजधानी बारे भइरहेको छलफलको मिहिन ढंगले अध्ययन गरिरहेको अध्यक्ष राईले बताए । ‘पछिल्लो अवस्था वारे संस्थागत जानकारी लिन केन्द्रदेखि प्रदेशको विभिन्न दलका नेताहरुसँग सम्पर्कमा छौ ।’ विज्ञप्तिमा भनिएको छ ‘कतिपय समाचारहरु भ्रम सिर्जन गर्ने वा किरात नाम प्रतिकुलहुने गरी आइरहेको छ ।’
केही सञ्चार माध्यमहरुले सुनियोजित रुपमा कोशी वा सगरमाथामा सहमत भएको दलका शीर्षस्त नेताहरुले निर्देशन दिएको जस्ता ‘भ्रमपूर्ण’ समाचारहरु आइरहेको भन्दै सञ्चार माध्यमहरुलाई त्यसो नगर्न यायोक्खाले आग्रह गरेको छ ।

प्रदेशको नाम किरात राख्न सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व सभामुख शुवास नेम्वाङ, नेकपा युवा नेता योगेश भट्टराई लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएको यायोक्खाको महासचिव जनक राईले बताए ।

प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइराला लगायत ९३ जना नै सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउदै आएको छ । सरकार सञ्चालक, दलका नेताहरु, लेखक, विश्लेशक कसैले पनि किरान हुदैन नभनेको उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

यायोक्खाले डेढ दशक अघिदेखि पूर्वी नेपालको भूभागलाई किरात प्रदेश नामकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । किरात प्रदेश नामकरणको लागि भूगोलबाट २५ लाख हस्ताक्षर संकलन गरी प्रदेश सकारलाई बुझाइ सकेको छ । यायोक्खाकै समन्वयमा २३ वटा सामुदायिक संस्थाहरुले संस्थागत रुपमा १ नम्बर प्रदेशको नाम किरात राख्न एकल र संयुक्त ज्ञापनपत्रहरु बुझाएको थियो ।

यायोक्खाले बास्केटवल, फुटबल, दौड प्रतियोगिता, साइकल तथा पद यात्रा, साहित्यिक कार्यक्रम र प्यारा ग्लाइडिङ्ग जस्ता खेलको आयोजना गरेर समेत किरात प्रदेश नामकरण गर्न माग गर्दै आएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष जीवन हाताचो राई, टिकासरी राई, महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, पूर्व उपाध्यक्षहरु चन्द्रविक्रम र दुर्गा राई लगायतको उपस्थिति रहेको थियो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्