Logo

अब ओलीपछि माधव नेपाल प्रधानमन्त्री हुने-गोपाल किराती


‘२०७४ फागुन १० गते मैले प्रचण्डसंग ५ मिनेट समय मागे, उनले भेट्ने समय पनि दिएनन् । त्यो दिनबाट मैले उनको मुख पनि हेर्ने इच्छा राखेन । ’

पूर्व मन्त्री गोपाल किरातीको भनाइ हो यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समूह नेकपा एमालेमा विलय भएपछि उनले नेकपा माओवादी केन्द्र पुनर्गठन गरी हाल पार्टी बिस्तार गरिरहेका छन् । उनी पार्टीको आठौं महाधिवेशन सम्पन्न गरी सो पार्टीको अध्यक्ष बनेका छन् ।

आफूले एमालेसंग पार्टी एकीकरण गर्नु हुन्न भन्दा कारवाही गरेर निष्कासनको हल्ला फिंजाएपछि त्यस विषयमा प्रचण्डसंग छलफल गर्न खोज्दा उनले नमानेपछि आफूले पार्टी पुनर्गठन गर्नुपरेको किराती बताउँछन् ।

प्रचण्ड विकृत भए- एमालेमा पार्टी विलय गराएपछि प्रचण्ड र उनको समूहको राजनीतिक अस्तित्व समाप्त भएको छ । नवगठित नेकपामा प्रचण्डको समूह अल्पमतमा रहेको र उनलाई सिध्याउन भोलि पूर्व एमालेका सबै नेताहरु एकजुट हुने किरातीको दावी छ ।

किराती भन्छन्, ‘प्रचण्ड विकृत भएर एमालेसंग एकता भएको हो । ’

प्रचण्डसंग राजनीति गर्न सैद्धान्तिक र सांगठनिक आधार दुवै छैन । उनी तस्कर, डन, माफिया, ठेकेदारहरुको चंगुलमा फसेका छन् । त्यसबाट उनी उम्किन पनि चाहँदैनन् । उनी त्यसमै रमाइरहेका छन् । त्यो बाहिर उनको संसार छैन । प्रचण्ड खोक्रो भैसके । यो कुरा नेकपामा पूर्व एमालेका नेताहरुले राम्रोसंग बुझेका छन् । अहिले पनि उनको हैसियत पार्टीमा दोस्रो स्थानमा छ । पहिलो केपी शर्मा ओली नै हुन्, त्यसपछि प्रचण्ड हुन् । दुवै जना अध्यक्ष भन्ने कुरा बेकार हो । प्रचण्ड सह–अध्यक्ष हुन् ।

अमेरिकाको विरोध गर्ने अनि श्रीमतिको उपचारको वाहनामा त्यहीं गएर घुँडा टेकेर आउने, यस्तो पनि राजनीति हुन्छ ? प्रचण्डले अमेरिका गएर भेनेजुएला प्रकरणमा आफूले निकालेको वक्तव्यको स्पष्टीकरण दिएर आएको किरातीको दावी छ ।

प्रचण्ड र प्रधानमन्त्री ओली दुवै जना अमेरिकी कब्जामा छन् । उनीहरुकै निर्देशनमा चल्छन् । अमेरिकाको योजना अनुसार ‘इण्डोप्यासिफिक सैन्य कमाण्ड’ को नेपाललाई अध्यक्ष बनाए । यो कमाण्ड भनेको चीन विरोधी हो । अब अमेरिकी सेना विभिन्न बाहनामा ग्वारग्वार्ती नेपाल भित्रिनेछन् ।

उनी भन्छन्, ‘नेपाललाई अमेरिकी सेनाको ब्यारेकस्थल बनाउने षडयन्त्र भैरहेको छ ।’

माधव नेपाल प्रधानमन्त्री- किराती भन्छन्, ‘ अब ओलीपछि प्रधानमन्त्री हुने भनेको माधव नेपाल हो । प्रचण्ड न पार्टीको अध्यक्ष हुन्छन्, न प्रधानमन्त्री हुन्छन् । उनी जोकर बन्छन् । ’

नेकपा पार्टीको कमाण्ड र सरकार चलाउने विषयमा पूर्व एमालेका नेताहरु एकठाउँमा उभिनेछन् । हाल पूर्व एमालेका नेताहरुमा केही विवाद जस्तो देखिएपनि निर्णायक घडीमा प्रचण्डलाई कसैले साथ दिने छ्रैनन् । माओवादी केन्द्रबाट गएका दुई चार जना मान्छे बाहेक उनको साथमा कोही छैन ।

प्रचण्डकै कारण गृहमन्त्री रामबहादुर थापाले चाहेर पनि राम्रो काम प्रदर्शन गर्न सकेका छ्रैनन् । मन्त्री भए लगत्तै थापाले यातायातमा सिण्डिकेटको अन्त्य, ३३ किलो सुन, समयमा काम नसक्ने ठेकेदारमाथि कारवाही लगायतका विषयमा राम्रो कदम चाल्न खोजेका थिए । तर, उनलाई प्रचण्ड र ओलीले कामै गर्न दिएनन् । दुवै नेता माफियाबाट घेरिएका छन्, अनि के आउँछ रिजल्ट ?

बिप्लवलाई सरकारले ‘हिरो’ बनायो- समाजवादी गणतन्त्र स्थापनका लागि आफनो पार्टीले प्रतिवन्धित नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेलको नेकपासंग एकताको प्रयास भैरहेको छ ।

हाल विभिन्न चरणमा कार्यगत एकता भैरहेको र विस्तारै पार्टी एकता पनि हुने किरातीको विश्वास छ । यसका लागि केही सैद्धान्तिक मतभेदलाई व्यवस्थित गर्ने काम भैरहेको छ । दलाल तथा नोकरशाही पूँजीवादी राज्यको अन्त्यका लागि सच्चा कम्युनिष्टहरुबीच पार्टी एकता अपरिहार्य छ ।

हिंसात्मक गतिविधिले नभइ शान्तिपूर्ण आन्दोलन र गणतन्त्रको रक्षार्थ चुनावमा भाग लिने रणनीति नै दीगो र परिवर्तनको पक्षमा हुने किरातीको बुझाइ छ । आफूहरुले विप्लवलाई हिंसाको बाटोमा लाग्न नहुनेबारे सम्झाइरहेको किराती बताउँछन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्