प्रदेश १ को राजधानी तोकियो:अब प्रदेश नाम तोकिदै, नाम के हुन सक्छ ?

देश नम्बर एकको राजधानी र प्रदेशको नामको अन्तिम निर्णय वैशाख २० गतेपछि टुँगो लगाउने तयारी भइरहेका बेला प्रदेश सरकारले सम्पर्क राजधानीका रुपमा धनकुटालाई तोकेको छ ।
प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषदकोबैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।धनकुटा यसअघि पूर्वाञ्चल विकास क्षेत्रको राजधानी थियो ।
यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको हो ।। त्यस्तै प्रदेश १ को यातायात कार्यालय पनि धनकुटामै राख्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान बिराट कोशी आदी के होला भन्ने सबैको मनमा खुल्दुली रहेको छ । प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ । प्रदेश १ का ९३ सांसदमध्ये नेकपाका ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरमका ३ र संघीय लिम्बुवान परिषद् र राप्रपाका एक/एक सांसद छन् । आदिवासी जनजाति समुदायले भने किरात नाम राख्नुपर्ने दबाब दिइरहेका छन् ।
सत्तारुढ नेकपाका अधिकांस सांसदहरु पनि किरातको पक्षमा उभिएका छन् । किरात अथवा किरातमा कुनै नाम जोडेर बनाइए पहिचानको मुद्दा उठाएर जन्मिएको पार्टीहरुको मुद्दा सकिने भन्दै किरातमा उनीहरुले जोड दिएका छन् । तर, किरात मात्रै नाम रहने सम्भावना भने कम रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर एकको प्रदेशको राजधानीको नाम कोशी राख्न संकेत गरेको स्रोतको दाबी छ । प्रदेश एकका सांसदहरु सगरमाथाको पक्षमा भए पनि सगरमाथा देशकै पहिचानसँग जोडिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले समेत कोशी उपयुक्त हुने मनसाय प्रकट गरेकी स्रोतको दाबी छ ।
नेकपाका प्रदेश नम्बर एकका इन्चार्ज भिम आचार्य र मुख्यमन्त्री राई नेतृत्वको सुझाव अनुसार नै चल्ने मुडमा रहेको बताइन्छ ।
के राजधानी बन्छ ?
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको निर्देशन अनुसार प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यलाई वैशाख १९ गतेभित्र प्रदेशको नाम र राजधानीको प्रस्ताव पेश गर्न गत आइतबार नै सूचना प्रकाशित गरिसकेको छ । अब १९ गते भित्र नाम र राजधानी टुंगो लगाउनुपर्ने दबाबमा छ । सत्तारुढ दल नेकपाको संसदीय दलको केही अघिको बैठकले वैशाख २२ भित्र नाम र स्थायी राजधानी टुंगो लगाउने निर्णय गरिसकेको छ
राजधानीका लागि अस्थायी केन्द्र विराटनगरसँगै सुनसरीको इटहरी, सुनसरीकै धरान धरान, मोरङकै गोठगाउँ र धनकुटाको चर्चा छ । स्रोतका अनुसार मुख्यमन्त्री शेरधन राई कुनै एउटा शहरलाई मात्रै राजधानी नबनाएर कार्यालय तथा मन्त्रालयहरु विकेन्द्रित गर्ने योजनामा छन् ।
विराटनगर असाध्यै गर्मी हुने भएकोले गर्मी मौसममा धनकुटामा मुकाम बनाउने उनको योजना छ । धरान, इटहरी र विराटनगरमा मन्त्रालयहरु विकेन्द्रित गर्ने योजनामा उनी छन् । महत्वपूर्ण मन्त्रालयको कार्यालय विराटनगरमा राखेर सकेसम्म इटहरिमा मुख्यमन्त्रीको कार्यालय बनाउने उनको योजना छ । संसद भवन भने धरानमा राख्ने उनको योजना रहेको बताइन्छ ।