लिभरपुललाई मेस्सीको यस्तो चेतावनी !

एजेन्सी, वैशाख १५
गत राति स्पेनिस बार्सिलोनाले जारी सिजनको घरेलु लिग ला लिगा च्याम्पियन बन्यो । आफ्नो घरमा लेभान्टेलाई १–० ले हराएर बार्सिलोना अन्तिम ३ खेल बाँकी छँदै लिग विजेता बन्यो ।
लगातार दोस्रो वर्ष तथा २६औं पटक उपाधि जित्दा बार्सिलोनाका लागि १ मात्रै विजयी गोल कप्तान लिओनल मेस्सीले गरे । सुरुआती ११ मा नराखिएका मेस्सी दोस्रो हाफको सुरुमै मैदान छिरेर टिमका लागि विजयी गोल गरेका थिए ।
अब बार्सिलोनाले ३ दिनपछि युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस टोली लिभरपुलसँग सेमिफाइनलमा पहिलो लेगको खेल खेल्दैछ । बार्सिलोनाले यस खेलका लागि लिभरपुललाई आफ्नो घरमा स्वागत गर्दैछ ।
गत राति ला लिगा च्याम्पियन बनेपछि मेस्सीले लिभरपुलसँगको खेलबारे धारणा राखेका छन् । खेलपछि मिडियासँग बोल्दै मेस्सीले आफूहरू लिभरपुलसँगको खेलका लागि तयार रहेको बताएका छन् । उनले घुमाउरो पारामा लिभरपुललाई चेतावनी दिएका छन् ।
‘घरमा हाम्रा समर्थकमाझ लिग च्याम्पियन बन्दा हामी खुसी छौं, हामीले यो रातलाई शानदार बनायौं,’ मेस्सीले भने, ‘हाम्रो एउटा लक्ष्य पूरा भयो ।’
मेस्सीले अब आफूहरूको ध्यान च्याम्पियन्स लिगका केन्द्रित हुने बताए । ‘अब हामी च्याम्पियन्स लिगका खेलमा केन्द्रित हुनेछौं, हामीसँग तयारीका लागि ३ दिन समय छ,’ मेस्सीले भने ।
मेस्सीले लिभरपुलसँगको खेल एक रोमाञ्चक खेल हुने बताए । ‘हामी एक रोमाञ्चक खेल खेल्न गइरहेका छौं, यस खेलमा कोही पनि हार्न चाहँदैन,’ मेस्सीले भने ।
मेस्सीले लिभरपुल निकै बलियो टिम भए पनि आफूहरू जितका लागि खेल्ने बताए । ‘हामी आज लिग च्याम्पियन बन्यौं । फेरि यही ठाउँमा लिभरपुसँग खेल्दा हामी च्याम्पियन मनोबलका साथ खेल्नेछौं,’ मेस्सीले भने ।
मेस्सीले अघि थपे, ‘यो सिजन हामी के गरिरहेका छौं र के चाहन्छौं भन्ने कुरा उनीहरू (लिभरपुल) लाई थाहा छ,’ मेस्सीले भने, ‘हामी असली बार्सिलोना कस्तो हुन्छ भनेर देखाउन चाहन्छौं ।’