नेपाल एसीसी यू१६ इस्टर्न रिजन च्याम्पियन

नेपाल एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ। थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि जितेको हो। नेपालले दिएको १ सय ४१ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३५ ओभरमा ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो।
उसका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाउँदा ओपनर वान मोहम्मद अजामले १६ रनको योगदान दिए। जिनेद्र मुरलीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्समेनले दोहोरो रनको स्कोर छुन सकेनन्।
मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए। ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन खर्चिए। यस्तै दीपक बोहोराले ३ विकेट लिए। समान ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १६ रन खर्चिए।
६ ओभरमा एक मेडन राखेका निखिल कुमार सिंहले १ मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे। यस्तै क्रिश कार्कीले १ रन खर्चिएर १ विकेट लिए। यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो।
नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए। उनले ६७ बलमा ५ चौका प्रहार गरे । ओपनर दिपक बोहाराले २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए।
यस्तै कृष कार्की ९, निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे। मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए थिए।