‘गाउँगाउँका सडक पिच गर्न थाल्नुपर्छ’ : प्रदेश सांसद राजन राई
खोटाङका प्रदेशसभा सांसद राजन राईले खोटाङस्थित गाउँगाउँका सडकमा कालोपत्रे गर्ने कामको शुरुवात गर्नुपर्ने बताउनुभएको छ । एक नम्बर प्रदेश सांसद राईले जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग बाहेक कुनै पनि सडक पिच गर्ने सुरसार नभएको भन्दै उक्त काममा लाग्नुपर्ने बताउनुभएको हो ।
पहाडी जिल्लाका कच्ची सडक पिच गर्नमा अहिलेसम्म राज्यकै ध्यान नपुगेको सन्दर्भमा अव पहाडका सडकलाई पनि प्राथमिकतामा राखेर गाउँ–गाउँका सडक पिच गर्ने कामको सुरुवात गर्नुपर्ने उहाँको धारणा छ । यही अवधारणा अनुरुप जिल्लाका एक ग्रामिण सडक कालोपत्रे र केही सडक स्तरोन्नतीको लागि आफुले मुख्यमन्त्री शेरधन राई समक्ष माग गरेको सांसद राईले जनाउनुभयो ।
सांसद राईले मुख्यमन्त्री राई समक्ष खोटाङको बाक्सिला–सप्तेश्वर–कादेल सडक कालोपत्रे र ऐसेलुखर्क–होप्छु–देसारे–ज्यामिरे–रावाखोला सडक स्तरोन्नतीको माग गरेको सुनाउनुभयो । मुख्यमन्त्री ग्रामिण कृषि सडक कार्यक्रम अन्र्तगत उक्त सडक कालोपत्रे र स्तरोन्नतीका लागि माग राखिएको प्रदेशसभा सांसद राईको भनाई छ ।
यसअघि, सांसद राईकै नेतृत्वको टोली खोटाङ र सोलुखुम्बु जोड्ने बिजुले–दुबेकोल–ऐसेलुखर्क–लोखिम सडक पिच गर्न र हलेसी–लामीडाँडा सडक निर्माणका लागि आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो समक्ष डेलीगेसन गएको थियो ।
बिजुले–दुबेकोल–ऐसेलुखर्क सडक स्तरोन्नतीका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको सन्दर्भमा ऐसेलुखर्कदेखि सोलुखुम्बुको लोखिम जोडेर कालोपत्रे गर्न माग राखिएको सांसद राईले बताउनुभयो ।
लामिडाँडा बिमानस्थल र हलेसीलाई जोड्ने हलेसी–लामिडाँडा सडक निर्माण गर्न सकिए हलेसीको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।