Logo

पहिलो किरात स्कुलकी पहिलो प्रधानाध्यापक


साढे १९ लाख लागतमा निर्माण भएको तीन कोठे भवनको अगाडिपट्टिको चउरमा बिहान स्कुल समय (१० बजे) शरीरमा हरियो टोपी, स्वीटर अनि सेतो कछाड लगाएका विद्यार्थीहरु अनुशासित रुपले उभिएर प्रार्थना गरिरहेका छन् ।

साइडमा, कसैले फोटो पनि खिचिरहेका छन् ।अन्य स्कुलभन्दा बिल्कुलै फरक । विद्यार्थीहरुका अगाडिपट्टि चार जना गुरुआमा र एक जना गुरु उस्तै गरी उभिएका छन् । हेर्दा लाग्छ, कुनै निजी बोर्डिङका शिक्षक र विद्यार्थीहरु हुन् । विद्यालयको मुख्य अध्यापक (प्रधानाध्यापक) कल्पना सुब्बा (लिङदेन) छन् ।

यो दृश्य हो, इलाम जिल्लाको पश्चिमी विकट भेगको माङसेबुङ–५ मा रहेको किरात साम्जिक मुन्धुम युक्सिङ निसामहिम अर्थात्, धार्मिक, सामुदायिक मुन्धुमी विद्यालय (आधारभूत विद्यालय)। विद्यालयको आधिकारीक रुपमा पढाइ आरम्भ भएको लगभग चार वर्ष पुगेको छ । माङसेबुङ धार्मिक तिर्थटनका लागि प्रसिद्ध क्षेत्र हो । यसै ठाउँमा कक्षा एक देखि पाँचसम्म अध्ययन हुने उक्त किरात स्कुल विश्वकै पहिलो किरात स्कुल हो ।

हाल यस मुन्धुमिक विद्यालयमा कम्प्युटर शिक्षा पनि अध्यापन गराउनका लागि चाँजो पाँजो जुटिरहेको छ । कम्प्युटर शिक्षा अध्यापनका लागि कोठाको व्यवस्थापन भइरहेको छ भने अर्काे वर्षभित्र पूर्ण रुपमा कम्प्युटर शिक्षा प्रणाली पनि भित्रिँदैछ ।कुराकानीको बीचमा प्रधानाध्यापक कल्पनाले स्कुलको बारेमा यसरी ससर्ती सुनाइन् । कुराकानीलाई अघि बढाउनुपूर्व केही इतिहासको कुरा उठाउँदै किरात साम्जिक मुन्धुम आधारभूत विद्यालयको बारेमा इडेभन्युजकर्मी लोक राज रुम्दाली र गणेश लामाले प्रधानाध्यापक कल्पना सुब्बा (लिङदेन) सँग गरेको कुराकानी जस्ताको तस्तै :

थालनी
निजी रुपमा यो स्कुल ०६० देखि नै सञ्चालनरत रहेको थियो । ०७१ बाट नेपाल सरकारको मूलधारमा रहेर सञ्चालन भएको यस स्कुलले १५ वर्षदेखि बालबच्चाहरुलाई औपचारिक रुपमा किरात धार्मिक, सांस्कृतिक र साहित्यको पठनपाठन गर्दै आएको छ । १५ वर्षदेखि निजी रुपमा सञ्चालनरत हुँदै आएको यस स्कुल हालसम्म आइपुग्नका लागि कम चुनौतीपूर्ण दिनहरु रहेनन् ।

अस्तित्व नामेट हुन लागेको किरात धर्म, लिपी र साहित्यलाई किरात धर्मका प्रचारक, २१औँ शताब्दीका महान समाजसुधारक तथा १६औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङदेनले पुनरुत्थान गर्नुभएको हो । यद्यपि, उहाँको अपुरो सपनालाई पूरा गर्न सोही कुलमा नातीका रुपमा जन्म लिनुभएका वर्तमान किरात धर्मगुरु लिङ्देन आत्मनन्द `सेइङ’ र गुरुआमा साम्बा पवित्रा हाङ्मा लिङदेनले किरात भाषा, लिपी, संस्कृतिको जगेर्ना गर्नुभयो ।०३९ बाट उहाँहरुले साम्जिक मुन्धुम स्कुलबाट नौँ जना शिष्यहरुलाई अध्यापन गराउनु भएको हो ।

भूमिगत रुपमा रहेर अध्ययन अध्यापन गराउँदै हाल सरकारको मूल धारमा रहेर पठन पाठन सुरुवात गरेको यस आधारभूत स्कुलको पाठ्यक्रम नेपाल सरकारको शिक्षामन्त्रालयअन्तर्गत रहेको पाठ्यक्रम बोर्डले निर्माण गर्दैछ ।नौँ जना विद्यार्थीबाट सुरु भएको मुन्धुमिक विद्यालयमा हाल ७० जना विद्यार्थी छन् । यस अघि नेपाल सरकारबाट संस्कृति शिक्षा, गोन्पा शिक्षा, मदरसा शिक्षा प्रचलनमा रहेकामा हाल किरात मुन्धुम निसामहिम (किरात मुन्धुम शिक्षा) पनि समाहित गरिँदै अध्यापन थालनी भएको हो ।

प्र.अ. को जिम्मेवारी

प्रधानाध्यापक कल्पनाले विशुद्ध रुपमा यो धार्मिक सामुदायिक मुन्धुमिक विद्यालय रहेको बताइन् । संस्कृतलगायत अन्य केही शैक्षिक पाठ्यक्रममा कुनै एक शिक्षाको मात्र अध्यापन गराइन्छ तर, यहाँ मुन्धुम शिक्षासँगै नेपाली, अंग्रेजी, गणित र विज्ञान पनि अध्यापन हुने कल्पना बताउँछन् । ऐच्छिक विषय किरात साहित्य हो भने, अनिवार्य विषय नेपाली र अंग्रेजी हुन् ।यस किरात साम्जिक युक्सिङ निसामहिममा केही समयअघि माङसेबुङ गाउँपालिकाले अनुदानतर्फ एक जना भाषा शिक्षक उपलब्ध गराएको छ भने राहत, अस्थायी र अन्य निजी शिक्षक रहेका छन् ।

भाषा शिक्षकका रुपमा रविन योङहाङ, अस्थायी शिक्षिका खिन कुमारी घिमिरे, राहत शिक्षक तथा प्र.अ. कल्पना सुब्बा (लिङ्देन), निजी शिक्षक दिपा नेम्बाङ र निजी शिक्षक तथा सहयोगी पूर्णकुमारी आङदेम्बे रहेका छन् । विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउनका लागि प्रअ कल्पनाले आर्थिकसँगै यावत कुरामा अतुलनीय योगदान पुर्याएकी छन् । प्रअ कल्पना भन्छिन्, ‘समाजका लागि केही कुरा सिकाउन र दिन सकेको जस्तो महसुस भएको छ । गर्न त धेरै बाँकी छन् ।’

पठनपाठन

नेपाल सरकारले अनुदान दिएर जुन जुन शैक्षिक क्षेत्रलाई सहयोग गर्दै आएको छ त्यसरी नै यस मुन्धुम विद्यालयलाई पनि अनुदान दिइन्छ । विद्यालयको मूल उद्धेश्य किरात साहित्यको अध्यापन गराउनु र किराती लिपीअनुरुप नै विद्यार्थीलाई पढ्न र लेख्न सिकाउनु हो । विद्यालयमा विज्ञान तथा स्वास्थ्य (साप्चानुयाम्जिक), गणित (खानिद), सामाजिक (सङ्जुमगेन निसाम), किरात साप्पान (किरात साहित्य) र किरात साम्जिक मुन्धुम (यसको उपनाम छैन) गरी पाँच विषयहरु अध्यापन गराइन्छ ।

पाठ्यक्रम बोर्डले निर्माण गरेको यी पाठ्यपुस्तकभित्र स्थानीय स्तरका पाठ्यवस्तहरु समेटिएका छन् भने विशेष रुपमा किरात धर्म, र संस्कारहरुलाई समेटिएर लेखिएको छ । यी विभिन्न विषयका विषय विज्ञहरु भने पाठ्यक्रम बोर्डकै नेतृत्वमा छनौट भएका विशेषज्ञहरु रहेका छन् ।आधारभूत विद्यालयको पाठ्यक्रम निर्माण गर्ने मूल जिम्मेवारी किरात धर्मको आधिकारीक संस्था किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय समितीलाई छ । संघको केन्द्रिय अध्यक्ष डकेन्द्र सिं थेगिम हुन् । अध्यक्ष थेगिमकै नेतृत्वमा पाठ्यक्रम निर्माणका कामहरु भएको छ ।

हाङ्मा लिङ्देन

किरात भाषामा शिक्षकलाई (सिक्साम्बा), शिक्षिकलाई (सिक्साम्मा), विद्यार्थीहरुलाई ( निछाम्सा ) र विद्यालयलाई (निसामहिम) भनेर भनिन्छ । अनेकै समस्याहरुसँग सिँघौरी खेल्दै अघि बढेको स्कुलमा विगतमा एउटै कक्षामा बालक, युवयुवतीदेखि वृद्धसम्मका उमेरले सँगै रहेर अध्ययन गर्थे, पाँच वर्षदेखि ८० वर्षसम्मका वृद्धवृद्धाले ।

तर, फरक उमेरसमूहका सबैलाई एकै स्थानमा राखेर अध्यापन गराइँदा समस्या उत्पन्न भएपछि ०७१ मा आएर अध्ययन कक्षा र पाठ्यक्रम नै विभाजित भयो । र, यो आधारभूत स्कुलको पहिलो प्रधानाध्यापक बनेर नेतृत्व सम्हाल्ने मौका पाइन् कल्पनाले ।

आइतबार बिदा

विद्यार्थीहरुले लगाएको सेतो कछाड किराती पोशाक हो । केटाले लगाउने कछाडलाई तागा र केटीले लगाउने कछाडलाई मेख्ली भनिन्छ । शिक्षक, शिक्षिकाले पनि त्यहिँ पोशाक लगाएर विद्यालय आउँछन् । विद्यार्थीहरुले तीन दिन निलो रंगको तागा मेख्ली लगाउँछन् भने तीन दिन सेतो रंगको तागा मेख्ली लगाउँछन् । चार जना शिक्षिका र एक जना शिक्षक रहेको यस किरात साम्जिक मुन्धुम निसामहिम (आधारभूत विद्यालय) मा आइतबार बिदा हुन्छ ।

महागुरु फाल्गुनन्द लिंदेनको जन्मबार परेको हुनाले उक्त बार बिदा दिइन्छ । शनिबार एक बजेसम्म अध्यापन गराईन्छ । विद्यालयमा बिहान किरात भाषाबाटै पीटी खेलाइन्छ भने प्रार्थनासँगै राष्ट्रिय गान ‘सयौँ थुंगा…’ गाइन्छ ।

त्यतिबेला

०७१ मा सरकारबाट मान्यता प्राप्त गरेको यस आधारभूत स्कुलले प्राथमिक तहसम्म किरात भाषा, साहित्य र लिपीको जगेर्ना गर्ने सौभाग्य पायो तर, यो सुनौँलो अवसर प्राप्त गर्नका लागि वर्तमान किरात धर्म गुरु लिङ्देन आत्मनन्द `सेइङ’ले थोरै संघर्ष गर्नुपरेन । त्यो भन्दा अघि महागुरु फाल्गुनन्द । धर्म गुरु लिङ्देन आत्मनन्द `सेइङ’ ले पञ्चायत कालदेखि नै भूमिगत भएर किरात भाषा र लिपीको बारेमा आन्दोलन गरेको इतिहास साक्षी छ ।

त्यतिबेला पञ्चहरुले देश भाँड्ने काम गर्यो भन्दै उनको टाउँकाको मोल नै तोकियो, तीन लाख ।त्यसपछि उनी जंगलका ओढार ओढार लुकेर किरात भाषा र लिपीबारे प्रचारप्रसार छाडेनन् । ०३९ पछि गुरु लिङ्देनले पण्डितझैँ आफ्ना चेलाहरुलाई भेला पारी गोप्य रुपमा किरात मुन्धुम अध्यापन गराउन थाले । त्यतिबेला उनका चेलाहरु बालक हुँदैन थिए, प्रौढ हुन्थे ।

जस्लाई किराती भाषामा ‘माङसेवा साबा’ भनिन्छ । जसको अर्थ, ईश्वर पुज्ने हुन्छ । यसमा किरातीहरुले कर्मकाण्ड गर्दा के के गर्नुपर्छ भन्ने सबै कुराको ज्ञान दिइन्छ । अध्यापनकै क्रममा सरकारबाट खटिएका सुरक्षाफौजले आक्रमण गर्दा जंगल जंगल भागेर जिऊ जोगाउन सफल भए ।

तर, उनले आफ्नो उद्धेश्यबाट च्यूत नभई अझ सशक्त ढंगले आफ्नो गति अघि बढाए । ०५० पछि मुलुकमा पूर्ण बहुदलले स्थान पायो । केही स्वतन्त्र छायो । त्यपछि किराती बालक, युवायुवतीदेखि वृद्ध सम्मले यो शिक्षा ग्रहण गर्न थाले ।

अध्ययन क्षेत्र

विभाजन८ जेठ ०७१ मा सरकारबाट मान्यता प्राप्त हालको यस आधाभूत विद्यालय (युक्सिङ निसामहिम) मा त्यतिबेला एकैचोटी दुई सयभन्दा बढी विद्यार्थीहरुलाई अध्यापन गराउन अप्ठ्यारो स्थिति पैदा भएसँगै बालक र युवायुवती, वृद्ध गरी दुई चरणमा बाँडेर अनौपचारीक शिक्षा थालनी गरियो । युक्सिङ निसामहिम (आधारभूत विद्यालय) को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन इङ्नाम लिम्बू हुन् ।

तितेपातीको कटेराभित्र अध्यापन गरिन्थ्यो । भवन थिएन । विद्यार्थीहरुले सजिलोसँग पठनपाठन गर्न सकुन् भन्ने शुद्ध मनले सुनसरी भरौलका भक्तजनहरुले तीन कोठे काठको भवन बनाइदिएका हुन् । ०७१ मा आएर छुट्टाछुट्टै विद्यालय र व्यवस्थापन समिती खडा गरिएको हो ।

हाल वृद्धहरुका शिक्षाका लागि नेपाल सरकारले वर्षेनी एकमुष्ट (लगभग एक लाख ८५ हजार) अनुदान दिने गर्छ । युवायुवती, प्रौढ र बुढाबूढीहरुले अध्ययन गर्ने किरात साम्जिक मुन्धुम निसामहिम (मुन्धुम शाला) लाई मांगेना सेवा समितिले सञ्चालन गर्दै आएको छ । हाल यहाँ दुई सय जना प्रौढ तथा वृद्धवृद्धाहरुले अध्ययन गरिरहेका छन् ।

फाइदा

नेपाल सरकारअन्तर्गत रहेर ०७१ मा सञ्चालनमा आएको यस आधारभूत विद्यालयमा चार जना शिक्षिकाले अध्यापन गराउँछन् । एक जना विद्यालय सहायक छन् । खिन कुमरी घिमिरे (अस्थायी शिक्षक ) ले नेपाली विषय पढाउँछन् । प्रधानाध्यापक कल्पनाले किरात साहित्य पढाउँछन् । आधारभूत विद्यालयको निर्माणपूर्व बालबालिका र वृद्धा सबैले किरात भाषा, नेपाली, अंग्रेजी लगायत नौँ विषयमा अध्यापन गराइँदै आइएको रहेछ ।तर, अहिले प्रौढ तथा वृद्धाहरुका लागि किरात भाषातर्फका चार वटा पुस्तकहरु अध्यापन गराइन्छ ।’

प्रधानाध्यापक कल्पना भन्छिन्, ‘किरात साहित्य त छँदैछ । यतापट्टि आधाभूत विद्यालय (युक्सिङ निसामहिम) मा साम्जिक मुन्धुम र किरात सप्पानसँगै नेपाली, अंग्रेजी, सामाजिक, गणित, विज्ञान अंग्रेजी, गणित, विज्ञान विषयहरु अध्यापन गराइन्छ । यस्ले विद्यार्थीलाई बहुभाषिक बनाउन मद्धत पुर्याएको छबनाउँछ । अझ सजिलोसँग भन्नुपर्दा बहुभाषामा राम्रो पकड जमाउन मद्धत पुर्याएको छ ।’

पाठ्यक्रम

‘किरात साहित्य पुस्तकभित्रचाहिँ के के अध्यापन गराइन्छ ?’ प्रश्नको जवाफ दिँदै कल्पना भन्छिन्, ‘किरात साहित्य पुस्तक ऐच्छिक पुस्तक हो । साम्जिक मुन्धुम र किरात सप्पान (किरात साहित्य) भित्र लोक कथा, दन्त्य कथा सबै अध्यापन गराइन्छ भने, किरात साम्जिक मुन्धुममा भने ठ्याक्कै वेदजस्तै किराती कर्मकाण्डीय कुराहरु अध्यापन गराइन्छ ।’ किरात साहित्यतर्फको साम्जिक मुन्धुममा किरातको जन्मदेखि मृत्युसम्म गरिने कर्मकाण्डीय मन्त्रहरु अध्यापन हुन्छन् । अहिले कक्षा दुई सम्मको पाठ्यपुस्तक बनिसकेको छ भने, तीनदेखि पाँच कक्षासम्मको पाठ्यपुस्तक बन्दै छ ।तीनदेखि पाँच सम्मको पाठ्यपुस्तक भने पूरानो पाठ्यपुस्तक अनुसार पढाइदै आएको कल्पना सुनाउँछन् ।

यो शैक्षिक सत्रको पाठ्यक्रम (एकदेखि पाँचसम्म) तयार गर्न द्विपक्षीय बैंठक बसिएको थियो । बैठकमा पाठ्यक्रम अधिकृत पुरुषोत्तम घिमिरे, उप–सचिव डम्बरध्वज आङदेम्बे, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिं थेगिम, उपाध्यक्ष दंगध्वज खोयाहाङ मदन इङनाम, प्रा । बालकृष्ण माबुहाङ, अमर तुम्याङ, अर्जुन नुगो, येहाङ लाओती, लक्ष्मी सेर्मा, चन्द्रकुमार सेर्मा, कमला आङदेम्बे र यादन नुनाम सेर्मा रहेका थिए ।

‘फरवार्ड’ विद्यार्थी उत्पादन

युक्सिङ निसामहिम (आधारभूत विद्यालयको शिक्षा) बाट पाँच कक्षा उत्तीर्ण गरेपछि निम्न र माध्यमिक तहको अध्ययनका लागि नजिकैको विद्यालयमा जाने गरेको बताउँछन्, कल्पना । ‘यस युक्सिङ निशामी विद्यालयबाट तीनै भाषामा अध्ययन गरेर अन्य विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीको क्षमता अन्य स्कुलको विद्यार्थीभन्दा तीक्ष्ण हुँदोरहेछ । भनौँ, न अन्य विद्यालयका विद्यार्थीभन्दा ‘फरवार्ड’ ।’ प्रधानाध्यापक कल्पनाका अनुसार समय र आवश्यक्ताको आगमन भएपछि मौलिकताकै खोजी हुनेरहेछ ।

बुद्ध धर्मको केन्द्रिय स्थल लुम्बिनी भनेजस्तै अबको किरात धर्मको केन्द्रिय स्थल माङसेबुङ, इलाम बन्न पुगेको छ ।कल्पनाका अनुसार केही वर्षपछि सम्भवतः मावि तहको शिक्षण थालनी गर्ने सुनाइन् । स्नातकोत्तर तह अध्ययन पूरा गरेपछि लेक्चरर बन्न छाडेर आफ्नै मौलिक भाषाको जगेर्ना, अध्यापन गर्न अडिग पाइला चालिरहने मुन्धुमिक विद्यालयकी प्रथम प्रधानाध्यापक किराती चेलीलाई हाम्रो तर्फबाट पाइला पाइलाका लागि करोडौँ शुभकामना !

कालोपाटीमा किरात भाषामा लेखिएका अक्षरहरु

साथीसँग प्रधानाध्यापक कल्पना सुब्बा (लिङदेन)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्