Logo

नेइमारले दुई वर्षपछि खोले बार्सिलोना छाड्नुको कारण


स्पेनिस बार्सिलोना क्लब छाडेको करिब २ वर्षपछि नेइमारले क्लब छाड्नुको कारण खुलाएका छन् । नेइमार २ वर्षअघि अप्रत्यासित रूपमा बार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजीमा अनुबन्ध भएका थिए ।

ब्राजिलियन स्टार खेलाडीलाई बार्सिलोनाले विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेको थियो । त्यसबेला नेइमारले बार्सिलोनामा लिओनल मेस्सीको छायाँबाट मुक्त हुन बार्सिलोना छाडेको बताइन्छ ।

पिएसजीमा दोस्रो सिजन बिताइरहेका नेइमार हालसालै ३ महिना लामो चोटबाट मुक्त हुँदै मैदान फर्किएका छन् । उनको टिम पिएसजी यो सिजन युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ बाटै आउट भयो भने लिग वानको च्याम्पियन बनिसकेको छ ।

हालसालै ‘फक्स स्पोर्टस्’को अन्तर्वार्ताक्रममा नेइमारले आफ्नो करिअर र भावी योजनाबारे बोलेका छन् । सो दौरान उनले आफूले बार्सिलोना छाड्नुको कारणबारे पनि बताएका छन् । उनले आफ्नो पूर्वक्ल बार्सिलोना र पूर्वसहकर्मीहरूबारे पनि भनाइ राखेका छन् ।

नेइमारले आफूले नयाँ चुनौती र उपलब्धिका लागि बार्सिलोना छाडेको बताएका छन् । ‘मैले बार्सिलोना छाडें । किनभने, मैले नयाँ चुनौती चाहें । जसले केही नयाँ कुरा पाउन सकौं र जित्न सकौं । नयाँ कठिनाइहरूसँग पनि भेट होस्,’ नेइमारले भनेका छन् ।

आफूले ४ वर्ष बिताएको क्लब बार्सिलोनाप्रति नेइमार सम्मानसमेत व्यक्त गरेका छन् । ‘बार्सिलोना त्यस्तो क्लब हो, जसले मलाई सधैं प्रोत्साहित गर्यो । म अझै पनि क्लब र त्यहाँका साथीभाइलाई माया गर्छु ।’

नेइमारले बार्सिलोना छाड्ने निर्णय गर्दा आफूलाई ज्यादै कठिन भएको पनि बताएका छन् । ‘म भइरहेको भन्दा नयाँ चुनौती चाहन्थें भने किन नछाड्ने ? त्यसैले मैले स्पेन छाडें,’ नेइमारले भने, ‘तर, यो निर्णय लिन मलाई ज्यादै कठिन भयो । यतिसम्म कि, मैले थुप्रैपटक आफैंलाई प्रश्न गरें, छाड्ने कि नछाड्ने ?’

नेइमारले बार्सिलोना छाडेपछि आफूलाई पूर्वसहकर्मीहरूको यादले एकदमै सताएको पनि बताए । ‘जब म पेरिस पुगें, बार्सिलोनाका साथीभाइको धेरै याद आयो । मैले उनीहरूलाई नसम्झेको क्षण नै हुँदैनथियो,’ नेइमारले भने, ‘अहिले पनि त्यहाँका साथीभाइ र अन्य कुरालाई एकदमै याद गर्छु ।’

सन् २०१३ मा ब्राजिलियन क्लब सान्तोषबाट बार्सिलोनामा अनुबन्ध भएका नेइमारले ४ वर्ष स्पेनमा बिताउँदा १२३ खेल खेल्दै ६८ गोल गरेका थिए । पिएसजीका लागि नेइमारले जारी सिजन २३ खेलबाट २० गोल गर्दै ६ गोलका लागि असिस्ट गरेका छन् ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्