महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिकद्वारा सहयोग
बैशाख–महाकुलुङ । महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिक माईलकले सहयोग गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको भवन निर्माणका लागी माईकलले करिब साँढे दुईलाखको बराबरको आर्थिक, शैक्षिक, खेलकुद तथा निर्माण सामाग्री उपलब्ध गराएको छ ।
महाकुलुङ गाउँपालिका वडा नं ३ मा जन्मनु भएका समाजसेवी तथा पर्यटन ब्यावसायी दिलिप सिहं कुलुङको पहलमा माइकलले सो बिद्यालयलाई सहयोग गर्नु भएको हो । माईकलले जस्तापाता, प्लाइउड तथा पचास हजार नगद मंगलबार हस्तान्तरण गरेका थिए ।
कार्यबाहक प्र.अ. दुर्ग माया कुलुङलाई सामग्री तथा नगद हस्तान्रण गर्दै,पहिलो पटक सन २०१६ सालमा महाकुलुङ भ्रमणमा आउदा यस बिद्यालयको नाजुक र जीर्ण अवस्था देखेर आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको माईकलले वताउनु भयो । जुन प्रतिबद्धता बमोजिम आफूले सक्ने केही बर्षदेखि सहयोग गर्दै आएको समेत उहाले बताउनु भयो ।
आगामी दिनहरुमा समेत आफ्नो सहयोग निरन्तर रहने बताउदै यो विद्यालयको भवन निर्माण भइसकेपछि साह्रै राम्रो देखिने विश्वास समेत ब्यक्त गर्नु भयो । केही समयदेखि यो विद्यालयलाई निरन्तर सहयोग गर्दै आएकोमा धन्यबाद दिदै मेरा फाउण्डेशनले उहालाई प्रमाण पत्र दिएर सम्मान गरेका थिए । सो सम्मान पत्र वडा अध्यक्ष डेक बहादुर कुलुङले हस्तान्तरण गर्नु भएको थियो ।
करिब २०५५ सालमा स्थापित यस विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको कारण विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । सरकारको मातहतभित्र चल्दै आएको विद्यालय भए तापनि आवश्यक शिक्षक तथा भवन नहुदा शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सकिएको छैन ।
बर्षा सुरु भएसँगै टहराभित्रको हिलाम्मे कोठामा वसेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । यो अवस्था देखे पछि आफूलाई दयाँ लागेर केही भवन बनाई दिनुपर्छ भन्ने मनसायले विदेशी पाहुनाहरुसँग सहयोग मागेको पर्यटन ब्यवसायी दिलिप सिंह कुलुङले बताउनु भयो । मेरा फाउण्डेशनका अध्यक्ष समेत रहेका कुलुङले अब यो बिद्यालयलाई सबै सहयोगी दाताहरुसँग पहल गर्दै एउँटा नमुना स्कुलको रुपमा बिकास गर्ने लक्ष रहेको बताउनु भयो ।
कुलुङले निशुल्क पुस्तक वितरणका लागी ढुवानी खर्चसमेत उपलब्ध गराएका थिए । प्रोत्साहन स्वरुप बिद्यालय प्रथम हुने मोहन कुलुङलाई नगद पाँच हजार रुपैया प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै यो बिद्यालयको भवन निर्माणकोे लागी समितिका साथीहरु तीव्र रुपमा लागी परेको वडा अध्यक्ष डेक बहादुर कुलुङले बताउनु भयो ।
बिद्यालयको आर्थिक अवस्था नाजुक भइ रहेको बेला यसरी सहयोगी दाताहरु खोजेर सहयोग गरेकोमा समाज सेवी तथा पर्यटन ब्यावसायी दिलिप सिंह कुलुङलाई धन्यबाद दिनु भयो । साथै बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी हातमा हात र काँधमा काँध मिलाएर अगाडी बढ्नु पर्ने समेत उहाले बताउनु भयो । विदेशी पाहुनाहरुको स्वागतका लागी स्थानीय कलाकारहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।