पूर्वमाओवादी र एमालेबीच टक्कर, प्रतिस्पर्धा र इगो : हाबी भयो एमाले
काठमाडौं । कम्युनिस्ट पार्टीका नेताहरूभित्रै कतिसम्म प्रतिस्पर्धा र इगो हुन्छ भन्ने कुरा संसद सचिवालयमा देखिएको छ । सत्तारुढ नेकपाका नेताहरूभित्रैको ठूलो भनेर टलस शुरु भएको छ ।
एमाले पृष्ठभूमि भएका राष्ट्रियसभाका अध्यक्ष गणेशराज तिमिल्सिना र सचिव राजेन्द्र फुयाँल तथा पूर्व माओवादी नेता एवम् प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र सचिव गोपालनाथ योगीबीच पछिल्लो समय विवाद देखिएको छ । उनीहरूबीच क्षेत्राधिकार र अस्तित्वलाई लिएर ठूलो विवाद छ ।
कानूनअनुसार प्रतिनिधिसभाका सभामुख नै अगाडि र ठूलो मानिन्छन् । तर, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलको व्यक्तिगत इगोका कारण संसद सचिवालयभित्र समस्या देखिएको एक कर्मचारीले बताए । अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले १६ गतेको संसद अधिवेशन एकै ठाउँमा बस्न नदिने भएका छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार वैशाख १६ गते अपरान्ह ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अलग–अलग बोलाइएको छ । कानूनी व्यवस्थाअनुसार दुबै सदनको बैठक संयुक्त रुपमा बोलाइनु पर्ने थियो । तर, त्यसो भएन ।
सभामुख महरा भन्दा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँल हाबी भइरहेका छन् । माओवादी पृष्ठभूमि भएका महराले केही गर्न नसकेको भनेर विरोध हुँदै आएको छ ।
पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दवावमा महरा पनि केही कठोर कदम चल्ने पक्षमा छैनन् ।
राष्ट्रियसभाका अध्यक्ष र सचिवको दवावमा ठूलो घोटाला भएको आरोप पनि लागेको छ । कार्यकक्ष बनाउने विषयमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै उजुरी परेपछि अख्तियारले समेत पत्र पठाएर छानविनको दायरामा राखेको छ । मर्मत खर्चको पैसा अध्यक्ष र सचिवले अर्थमन्त्रालयसँग ताकेता गरेर माग गरिरहेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले यसअघि संसद सचिवालयका कर्मचारीहरूको सरुवा र बढुवामा पनि सिधै हस्तक्षेप गरेका थिए । उनीहरूको आदेश पालना नगर्ने कर्मचारीहरूलाई समायोजनमा फारम नभर्दा पनि जबरजस्ती समायोजनमा पारिएको छ ।
अध्यक्ष तिमिल्सिना र सचिव फुयाँलले कानून विपरितका कार्य र हर्कत गर्दा समेत महराले कुनै पनि कदम चाल्न नसक्नुमा कमजोरीका रुपमा कर्मचारीहरूले लिएका छन् ।
स्रोतका अनुसार अध्यक्ष तिमिल्सिना र फुयाँलले मनपरी गरेर हैरान बनाएको उजुरी सभामुख महरासम्म पुगेको छ । महरा पनि दोधारमा परेका छन् ।