व्यवहारिक लोकतन्त्रको परिभाषा के हो?
मार्क्सवादी चिन्तक तथा नेकपाका नेता घनश्याम भुसालले एक अन्तरबार्तामा व्यवहारिक लोकतन्त्रको परिभाषाको बारेमा यस्तो भने : सामान्यतया संसारभरि लोकतन्त्र व्यवहारिक रुपमा भन्दा बहुमतको शासन हो । बहुमतको शासन किन हो भने यो सबैको शासन बनाउने प्रकृया हो ।
लोकतन्त्र त्यसकारणले प्रकृया हो, खास कुनै ‘स्टाटिक’ सिद्धान्त वा अपरिवर्तनीय सिद्धान्त होइन, निरन्तर गहिरिँदै जाने प्रकृया हो । यसमा धेरैभन्दा धेरै मानिसहरुले आफ्नो शासन आफैं गर्छन् र आफू आफैंबाट परिचालित हुन्छन् । यसर्थ यो व्यवस्थामा मानिस पुरै स्वतन्त्र हुन्छ । मार्क्सले भनेजस्तो ऊ अरु कुनै पनि किसिमका सामाजिक बन्धनहरुबाट मुक्त हुन्छ । अर्थात् खास समुदाय, धर्म, आर्थिक प्रकृयाका बन्धनहरुमा रहँदैन । यसरी निरन्तर गहिरिँदै जाने प्रकृया लोकतन्त्र हो ।
आज हामीले प्रयोग गरेका लोकतन्त्र बहुमतकै शासन हो । त्यसको पनि एउटा मान्यता छ । किनभने आजसम्मको लोकतान्त्रिक र सैद्धान्तिक व्याख्या छ, यसमा हामीले धेरै मान्छेहरु असल हुन्छन् भन्ने मानेर अघि बढेका हुन्छौं । धेरै मानिसहरुको निर्णय सही हुन्छ र धेरै मानिसहरुको निर्णय अझै धेरै मानिसहरुको पक्षमा हुन्छ भन्ने मान्यता आजसम्मको अनुभवहरुले ऐतिहासिक सन्दर्भमा बनेको छ ।
यसले गर्दा व्यवहारिक रुपमा धेरै मान्छेहरु बहुमतको भन्ने कुरा हो । तर त्यो बहुमत भन्ने कुरा ‘स्टाटिक’ होइन । अहिले हामी प्रयोग गर्छौ र सधैंभरि यत्तिकै बहुमतले भोट हाल्ने र निर्णय गर्ने भन्नेमात्रै कुरा होइन । बरु त्यसलाई अझ विकास गर्दै जाने र मानिस यस्तो अवस्थामा पुग्छ कि त्यतिबेला अल्पमत र बहुमतको जरुरी नै हँुदैन भन्ने अवस्थामा पुग्ने हो । किनभने विज्ञानले मानिसलाई यति उन्नत बनाएर लिएर जान्छ कि उसले बस्तुगत जीवनलाई सवैले एकै किसिमले बुझ्न सक्ने बनाएर जान्छ ।
यसरी आफ्नो जीवनलाई एकै हिसावले जब बुझ्न सकिन्छ त्यसवेला अल्पमत बहुमत भन्ने कुरै रहँदैन । यसअर्थमा हरेक निर्णय सवै मानव जातीका लागि हुन्छन् र मानिसले त्यसरी सोच्ने र विचार गर्ने गर्छन् । मानिस सुसंस्कृत हँुदै जान्छन् । लक्ष्यको हिसाबले भन्ने हो भने त्यस्तो ठाउँ मा पुर्याउने एउटा प्रकृया हो लोकतन्त्र । प्रक्रियाको हिसाबले भन्ने हो भने स्वभाविक रुपले हामी बहुमतको शासनको कुरा गर्छौं ।
यो संसदीय या लोकतान्त्रिक व्यवस्थालाई हामीले प्रतिनिधिमुलक भन्ने गरेका छौ । यो प्रतिनिधिमा के हुन्छ भने जस्तो कि ३ लाख मानिसले निर्वाचनमा भाग लिन्छन् । त्यसमा एक दुई भोट वा एकसय दुई सय भोटले केही मान्छे निर्वाचित हुन्छन् भने त्यहाँ आधा नै मान्छे छुट्छन् ।