Logo

खाडिबाट मर्मस्पर्शी दाजुको चिट्टी नेपाली भाईलाई


प्यारो भाइ…..!
सदादिनको शुभआशिर्वाद अनि मुटुभरी न्यानो माया ।

भाइले गाउँ छोडेर बिदेशीने दाजुहरुबाट खुल्ला पत्रको जवाफको आसा गर्दै यथार्थता बोकेको शब्द कोरेको रहेछ ती शब्दहरुले मन छोयो अनि रोयो पनि ! भाइ केटाकेटी हुँदा हामिले कहिले सोचेनौ कि संसार अर्को पनि छ भनेर तर त्यो संसार हाम्रो बालापनको जस्तो सबै कुराले सुसज्जित र भरिपूर्ण कहाँ छ र ! त्यो कृतिम संसार त नितान्त स्वार्थले ओतप्रोत छ, त्यहाँ मतलबी मानवहरुको बुख्याँचा मात्रै छ । विदेश भनेको बाहिर भरिलो भित्र चाहिँ खोक्रो हुन्छ आफ्नो बिचारले केही गर्न सकिन्न पीडा, हतास, निरासा भित्र नै दिनहरु बित्नेछन । नोकरले कहिले मालिक बनेर दिन गुजारेको छ ? पक्कै छैन! हामी त्यहीँ एउटा बाध्यत्मक परिधिभित्र पिल्सिएको जिउँदो पात्र हौं, जसले रहरले पिडादायी यथार्थतालाई उजागर गर्दैछौं । पिडाकै सिरानी पिडाकै सिरक पीडाकै खान्की पिडाकै इत्यादि सबैथोक हो, विदेश ।

घरमा हुँदा रहरले फुरुङ्ग हुने हामीहरु वास्तविकतामा परिणत हुनुपर्दा गाउँघरमा स्वतन्त्र तरोबरबाट जीवनयापन गर्दै गरेको सोझो एक गाउँलेलाई प्राकृति सँगै दिनहुँ रमाउने र पित्पालुङको ढुंगा माथी बसेर सुनकोसीको छालले दिएको हावा खादै कोसिपारी तिर हेर्दै आनन्द लिने लाई कहाँ पच्छ र यो स्वार्थी मरुस्थलको कृतिम सेवा सुविधा ! असारमा थाक्लेको फरिड र बयार आँपमा जस्तो भिटामिन र स्वाद कहाँ पाइन्छ र विदेश र शरको विषादी युक्त फलफूलमा गाउँ बेसीँ गर्दै दैनिक आफ्नो काम गरेर जिउ लाई पूर्ण अभ्यास हुने गाउँले ठिटो लाई वैदेशिक रोजगारीताले स्वार्थी बनाएको छ गाउँ घर भुल्ने बनाएको छ मतलवी बनाएको छ ! आफन्तसँग ईष्टमित्र साथिभाई सबै सँग टाढा बनाएको छ ! सुकिलामुकिला अवस्य बनाएको होला तर थाहा छैन भित्रभित्रै खोक्रो पनि बनाएको छ ! आफ्नो पौरखले आफ्नो बारिमै मौसम अनुसारको अन्नबालि उत्पादन गरेर आफ्नो दैनिक उपभोगीय बस्तुहरुको जोहो गर्ने हामी विभिन्न केमिकल मिसावट गरेर तयार बनाइएको जङ फुड खान पचाउन कहाँ सजिलो छ र ! त्यसैले अरुको गुलामी भएर सुकिलामुकिला हुनुभन्दा आफ्नो पौरखले आफ्नो जमिनमा पसिना बगाएर मालिक भएर जीवन गुजारेको आफ्नो माटोमा टेकेर यो स्वार्थी संसार सँग पैथेजोडी खेलेको हजार गुना बढी अर्थ राख्दछ र मुल्य बिहिन अनि वास्तविकताको विनाको जीवन जिउनु अर्थहीन हुनेछ ।

पैसा भन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो र त्यो विदेश र शहरमा पाइन्दैन । पाइन्छ त सिरिप गाउँमा । पैसा सँग जिन्दगी दाज्ने हरुले कहिले सुख शान्तीको सास फेर्न पाउनेछैनन् किन भने मान्छेको आवश्यकता कहिले पूर्ति हुँदैन । दुइचार पैसा कमाउदैमा धर्तीमा टेकेर जिउँनेहरु पैसाको छिनभरिको पावरले आकाश छुन खोज्ने प्रवृत्तिकाहरु पनि देखेका छौं सुनेका छौं । यो जम्मा सोच्ने शक्तिले अनायास मै उत्पादन गरेको गलत प्रवृती हो । र, भाइ विदेश भन्ने बित्तिकै रुखमै फलेको पैसा टिप्न आउँने होइन कडा मेहनत र परिश्रम गरेबापत अझ स्पष्ट भन्नुपर्दा रगत र पसिनासँग पैसा साट्ने हो । यो कुरा सुन्दै कति कहालीलाग्दो छ त्यो भन्दा विदेशीयका हरुको दिनचर्या कहालीलाग्दो छ । “बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पाको पिड अझ भएन भने ….. पुछ्ने सिन्का”। विदेश को कहानी यतिमै सकिन्न भाइ अझ शब्द हरुमा लेखेर पनि सकिन्न कुनैदिन दाजुभाइ को सुनौलो भेटघाट मै प्रष्ट पारौला ।

अब प्रसङ्ग थोरै बदलौ भाइ

“शहरमा कोठाहरु टासिंएको हुन्छ मनहरु, आत्मीयता, सहयोगी हातहरु लाखौं माइल टाढाको दुरिमा बनेको हुन्छ” गाउँका घरहरु माइल माइल टाढा हुन्छन् तर मनहरु, आत्मियता, सहयोगी हातहरु एकआपसमा परस्पर हुन्छ अझ भनौं एकरथको दुइपाङ्ग्रा हुन्छन् नङ र मासुको जस्तो सम्बन्ध हुन्छन । शहरमा दुख पर्दा हात दिने साथ दिने भन्दा हासेर उदाउने धेरै हुन्छन् शहरको माहोल मतलबी हुन्छ । बेमौसमी बाजा बजाउनेहरुको लर्को हुन्छ । शहर धुलोधुवा, प्रदुषण र यातायातको चापले बिछिप्त बनेको छ । गाउँघर जस्तो सफासुघर र स्वच्छ कहाँ छ र शहर ! शहरमा प्राय पानीको मुहानबाट ल्याइएको सफा पानी कहाँ पाइन्छ र ! हामिजस्ताले त्यो सफा पानी कि त नेताले कि त भ्रष्टाचारी कि त व्यापारी कि त धनाढ्यले उपभोग गर्छन् हामी जस्ताले उहीँ जमिनमुनिको आइरनयुक्त पानीले आफ्नो दैनिक चलाउने हो ।

कोठाबाट बिहान हिडेको मन्छे बेलुकी आउँदा हुलिया परिवर्तन भएर भुत जस्तै भइन्छ । गाउँघरमा सास फेर्दा सुनकोसीको छालले फालेको स्वच्छ हावा र बोटविरुवाले फालेको स्वच्छ अक्सिजन शहरमा कहाँ पाइन्छ र ! सास फेर्दा चार माना धुलो खाइन्छ अनि सिकिस्त भइन्छ । यस्तोलाई राम्रो र सुविधायुक्त भन्दै बखान गर्नु समयानुकूल हुन्न भाइ । शहरको कोलाहलमा कहिले गाउँ बेसि गर्दाको जस्तो आनन्द पाइन्न । शहर बिलासी जिवनयापनले विभिन्न रोग निम्त्याएको छ गाउँघरमा हुँदा बिहान उठेर बेलुका सम्म आफ्नो काम गर्दा कति धेरै ज्यानलाई अभ्यास हुन्थ्यो कति रोगहरु शारीरिक अभ्यासले पचाउछ र त्यो सबै दैनिकीले निर्धारण गर्छ । अब भन्नुहोस् गाउँ कि शहर ठिक ?

अब तेस्रो प्रसङ्ग तिर जाउ 

गाउँको विकास र निकास गाउँमै खोज्ने हो सबै युवाहरुले चासो दिएर सम्बन्धित निकाय सम्म हाम्रो समस्याहरुलाई राख्ने हो त्यसबाट समस्याको निराकरण गर्न सम्बन्धित निकाय र सम्बन्धित व्यक्तिहरु पनि लागि परोस् । “एकथुकि सुकिधेरै थुकी ताल”अति आवश्यकीय र उपभोगीय बस्तुहरुको तर्जुमा सबैले गर्ने हो सबैले ध्यानकेन्द्रीत गरेर सम्बन्धित निकाय लाई खबरदारी र ध्यानाकर्षण गराइ रहने हो अहिले जनताको सेवाको लागि सजिलोको लागि स्थानीय सरकार छ र जनप्रतिनिधिहरु चुनेका छौं । विदेश बाट त NRN बनेकाहरुले विकास पनि गर्छन् तर हामी जस्तो खाडीमा महिनाको २०,००० कमाउनेले गाउँ बिकास गर्छु भनेर कुर्लनु बेकार छ नमचिने पिङको सय झट्का मात्र हुनेछ, अझ हाम्रो कमाइले गाउँको बिकास हात्तीको मुखमा जिरा हो भाइ । दिन भरी गुलाम गर्‍यो हात र मुखको दुरि घटाउदै ठिक्क छ । आश्वासन दिनु र कामले पूरा गर्नु आकाश पत्ताल जतिकै फरक हो । बरु हामिले सक्ने भनेको सामाजिक सञ्जाल बाट यसो दबाब स्वरुप लागेको कुरा लेख्ने मात्रै हो प्रत्येक्ष साहस र हिम्मत त भाइ जस्तो आफ्नो माटोमा आफ्नो खुट्टामा उभिनेहरुमा हुनेछ । यसो भन्दै स्वार्थ लाई अङगालो मार्दै विदेशिने नालायक दाजुको मनका र यथार्थ भोगाइको सङ्छिप्त बयान र बखानलाई यहि बिट मार्दै बिदा हुन चाहन्छु । आप्छुवारी /धन्यवाद ।
उहीँ गाउँले दाजै
जनक चाम्लिङ, (येले संवत् ५०७९ धितुप्ला)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्