Logo

सिके राउतलाई पक्रन मिल्ने कमल थापालाई छोडने?- शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई


शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका नाममा गरिरहेका गतिविधि संविधानविरोधी रहेको भन्दै उनीहरुलाई रोक लगाउनुपर्ने बताए ।

धर्मनिरपेक्षता खारेजी लगायतका माग राखेर आन्दोलनरत राप्रपालाई सरकारले वार्तामा बोलाएकै समयमा मन्त्री इस्तियाकले उनीहरुमाथि रोक लगाउनुपर्ने धारणा राखेका हुन् । यद्यपि, यो आफ्नो व्यक्तिगत मात्र नभएर पार्टीको पनि धारणा भएको उनले बताएका छन् ।

संघीय समाजवादी फोरमका नेतासमेत रहेका राईले कुराकानीमा भने, ‘राप्रपाले प्रष्टरुपमा नेपालको संविधानलाई स्वीकार गरेको छ । कमल थापाले संविधानमा सही नै गरेका छन् । त्यही संविधानविरुद्धमा उनले अहिले गतिविधि गर्न मिल्छ ? अहँ राज्यले यसमा छुट दिन सक्दैन ।’

राईले संविधानको धारा १७, उपधारा २ (३) लाई उद्वृत गर्दै मन्त्री राईले कुनै पनि व्यक्ति वा संस्थाले जाति र धर्मको नाममा सदस्यता बाँड्ने वा संगठन खोल्ने छुट संविधानले नदिएको बताए । निर्वाचन आयोगले पनि यस्ता दलको दर्ता खारेज गर्नुपर्ने उनको भनाइ थियो । ‘सिके राउतलाई संविधानविपरित गतिविधि गरिहेको भनेर पटक–पटक पक्राउ गरिएको थियो । अहिले कमल थापाहरुलाई छाडा छोड्न मिल्दैन ।’

पूर्वराजाले गरिरहेका धार्मिक भ्रमणहरुमाथि पनि उनले आपत्ति जनाए । राईले भने, ‘देशमा राजतन्त्र उन्मुलन भएर राष्ट्रपति छन्, उपराष्ट्रपति छन् । तर, अझै पनि श्री ५ महाराजधिराज सरकार भनेर सार्वजनिकरुपमा सम्वोधन गर्ने काम भएको छ । यसले संविधानको बेइज्जती भएको छ । कसैले एउटा कोठाभित्र गएर पूर्वराजालाई जे भने पनि ठीक छ । तर, सार्वजनिक रुपमा श्री ५ भनेर सम्वोधन गर्न पाइँदैन ।

पूर्वराजालाई चेतावनी दिँदै उनले भने, ‘अब राजतन्त्रको नाममा दिवास्वप्न नदेखे हुन्छ । जनआन्दोलन र मधेस आन्दोलनको बलमा प्राप्त भएको गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता हावा होइन । यस विरुद्ध गतिविधि गर्नेलाई सरकारले छुट दिँदैन ।’

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्