Logo

‘जाेखना’ एक हप्ता थप


किरण चाम्लिङ राई द्वारा निर्देशित नाटक ‘जाेखना’   एक हप्ता थप मञ्चन हुने भएकाे छ । बैशाख ७ सम्म मञ्चन हुने भनिएकाे नाटक  दर्शककाे राम्राे साथ पाएपछि अब १५ गते सम्म हुने भएकाे हाे । वियस  राईको कथा ‘जाेखना’ लार्इ राजन मुकारूङले नाट्य रूपमान्तरण गरेका हुन्  भने परिकल्पना तथा निर्देशन किरण चाम्लिङ राईकाे हाे  ।

दर्शककाे साथ र मायाले नाटक एक हप्ता थपिएकाे निर्देशक किरणले जानकारी दिएका छन् । द्वन्द्वकालमा हराएका श्रीमान पर्खेर बसेकी महिलाको मनोभावलाई नाटकको पृष्ठभूमि बनाइएको छ साथै नाटकमा हाम्राे समाजकाे प्रवृत्ति चित्रण छ । नाटकमा राई समूदायको परिवेश देखिए पनि कथा द्वन्द्वले असर गरेका सबै नेपालीको रहेको निर्देशक राई बताउँछन् । नाटकले सुरुदेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको थियो । कति शोहरू हाउसफुल भएका कारण नाटक हेर्न आएका दर्शक फर्किनु परेको थियो ।

नाटकमा संगीता थापा, रूपेश लामा, मानहाङ लावती, अनिल सुब्बा, पवित्रा राई लगायतका कलाकारकाे अभिनय रहेकाे छ । नाटक मण्डला नाटकघरमा सोमबार बाहेक हरेक दिन साँझ सभा ५ बजे मञ्चन हुनेछ भने शनिबार दिउसो १ बजे पनि हेर्न सकिनेछ ।

किराती समाज र मुन्धुमी दर्शनको ऐना ‘जोखना’

केराको पात, तान बुन्ने सेतो डोरी, बाँसको पृष्ठभूमि। मण्डला नाटकघरमा प्रदर्शनरत नाटक ‘जोखना’ मा सुरुदेखि अन्त्यसम्म देखिने यो मञ्च किराँती संस्कृतिसँग नजिक छ।नाटकका पात्रका कथाझैं यिनको पनि आफ्नै कथा छ। ‘जोखना’ को नाट्य रूपान्तर गरेका राजन मुकारुङका अनुसार मानिसको सृष्टिसँग बाँसको कथा जोडिएको छ। शिकारी युगदेखि कृषि युगसम्म आउँदा मानिसले बाँसलाई विभिन्न रूपमा प्रयोग गर्दै आएका छन्।

‘मानिसले त्यही बाँस तामाका रूपमा खाए। चोया काढे। भाटा बनाए। आफूलाई आवश्यक सामान बाँसबाटै बनाए,’ मुकारुङले भने, ‘अझै पनि धेरै कुनाकाप्चाका ठाउँमा बाँस नै प्रयोग हुन्छ। हाम्रो आधुनिकताले यसको प्रयोग विस्थापन गर्दै लगेको छ। ’तान बुन्ने धागोको कथा भने ‘तायामा’ सँग जोडिएको मुकारुङ बताउँछन्। तायामालाई किराँतीहरू सीपकी देवी मान्छन्।कपासबाट निस्कने धागोको रङ सेतो हुन्छ। सेतो, अर्थात् शुद्ध रङ। पछि अरू विभिन्न रङ बन्न थालेपछि बजारमा रंगीविरंगी धागो बन्न थाले। किराँतीले विशेष मान्ने भने सेतो र हरियो हो। यिनले शुभ र अशुभ संकेत गर्छन्। सेतो धागोमा जीवन अडिएको छ।

‘जोखना’की प्रमुख पात्र धनसुवा आफ्ना श्रीमान जसेका बारेमा सेलेमी (धामी) कहाँ जोखना हेराउन जान्छिन्। उनी हातमा सेतो धागो बेरिरहेकी हुन्छिन्। सेलेमीले जोखना हेर्दै ‘जसे (धनसुवाका श्रीमान) त मरिसकेको देख्छु’ भन्छन्। उनले यसो भन्दै गर्दा धनसुवाको हातको धागो पनि उनको हातबाट सेलेमीतर्फ तानिन्छ।यसले विम्बात्मक रूपमा धागोसँग जीवन जोडिएको संकेत गर्छ। नाटकमा सेलेमीले जसेको हंसलाई बाटो लाउने क्रममा ‘त्यही डोरोले बाँधी ल्याउँदा, त्यही बाटोले पछ्याई ल्याउँदा, आफ्नो छाया छिपाइल्यायो’ भन्छन्। यो संवादले पनि किराँतीमा धागोको महत्व झल्काउँछ।

धागोलाई नै आधार मान्ने हो भने धनसुवाले जसे फर्किने आसमा बनाइरहेको पहेंलो स्विटर पनि विम्बात्मक लाग्छ। उनी जसेलाई भनेर पहेंलो स्विटर बुनिरहेकी हुन्छिन्। पहेंलो, अर्थात् पुरानो। सम्झनाको रङ। पछि जसेको निधन स्वीकार गरिसकेपछि उनको धागोको रङ हरियो हुन्छ। बाजा बजाउनेहरूको नजिकै पनि हरियो रङको केराको पात छ। हरियो, अर्थात् प्रकृतिको रङ। आशाको रङ। ‘हरियो रङले जीवनमा जति नै उतरचढाव भए पनि, त्यसपछि पनि जीवन छ है भन्ने संकेत गर्छ,’ मुकारुङले भने।

नाटकमा सेलेमीले भट्किरहेको जसेको आत्मालाई मुन्धुम (श्रुती परम्परामा आधारित किराँतीहरूको धार्मिक ग्रन्थ) बाट पार लगाउँछ। यसरी मान्छेलाई बाटो लगाउने क्रममा सेलेमीले बसाइसराइको कथा पनि भनिरहेको हुने अनुसन्धाता भोगीराज चाम्लिङ बताउँछन्। ‘धामीलाई बसाइसराइको कथा भनिरहेको छु भन्ने थाहा हुन्न। मरेको मान्छेलाई बाटो लगाइरहेको छु भनेर व्याख्या गर्छ। तर, बाटो लाउने क्रममा उसले जुन जुन ठाउँ व्याख्या गर्छ, त्यो उहिले किराँतीहरूले यात्रा गरेको आदिम थलो हो,’ नाटक हेर्दै गर्दा मार्टिन चौतारीमा भएको ‘मुन्धुम र किराँतीहरूको प्रागऐतिहासिक बसाइसराइ’ विषयक छलफल सम्झिन्छु।

चाम्लिङका अनुसार एक चरणमा मानिसहरू ह्वाङ्हो नदीबाट यताउता लाग्न थाले। उनीहरू ह्वाङ्हो नदीबाट तिब्बत हुँदै बसाइ सरेर तलतिर झरे भन्ने उनको तर्क थियो। भाषाविद्हरूका अनुसार चिनियाँहरूले बोल्ने र किराँतीले बोल्ने भोट–बर्मेली भाषा करिब ६ हजार वर्षसम्म एउटै थियो। नाटकतर्फ फर्कंदा, सेलेमीले साकेला (किराँतीहरुको चाड) मनाउन गएको जसे माओवादी द्वन्द्व क्रममा मरेको जोखना देखाउँछ। तर, जसे जिउँदै फर्किन्छ। यसलाई स्पष्टिकरण दिँदै सेलेमी भन्छ, ‘अहिले सबैको हंस ठेगानमा छैन। मानिसको मन छिनछिनमा बदलिरहन्छ। कुन बेला के हुन्छ, केही पत्तो छैन। त्यस्तो अवस्थामा मेरो जोखना कसरी मिल्छ?’

यसले द्वन्द्व क्रममा धेरै मानिसको मन युद्धकै चपेटामा विचलित भइरहेको देखाउँछ।

मुकारुङका अनुसार पञ्चायतकालमा निस्केका धामीले सत्तालाई खुसी पार्न आफैं कथेर मुन्धुम भनेका छन्। ‘पञ्चायतले एक भाषा, एक भेषको नीति ल्यायो। मौलिक भाषामा कुरा गर्न कम हुन थाल्यो,’ उनले भने, ‘पृथ्वीनारायण शाहको समयमा फेरी लगाउने जोगी गाउँगाउँ खटाइयो। तिनीहरूले मसान जगाउने होइनन्, बरू गाउँमा आफूविरुद्ध केही षड्यन्त्र चल्दैछ कि भनेर बुझ्थे। उनीहरूलाई राजाले गाउँको जासुसी गर्न खटाएका हुन्। यही नियम पछि परम्परा बन्यो।’

त्यसैगरी, राणाकालदेखि नै गाउँमा ‘तिलंगा’ भन्ने व्यक्ति हुन्थ्यो। ऊ दसैंमा गाउँगाउँ डुल्थ्यो। त्योबेला दसैंमा घर-घरमा खसीबोका लगायत जनावर मार हाने भित्तामा रगत छ्याप्ने चलन थियो। तिलंगा यही निगरानी गर्दै हिँड्थ्यो। कुन घरमा मार हान्यो-हानेन, कमेरो पोतेको ठाउँमा रगतको छाप हान्यो-हानेन, दसैं मान्यो कि मानेन भनेर बुझ्ने काम उसको हुन्थ्यो। दसैं संस्कृति नभएकाहरूले दसैं नमनाउन सक्थे। तिलंगाको जासुसीको नतिजा राणाकहाँ पुग्थ्यो। ‘जसले मार हानेको छैन, दसैं मनाएको छैन उसलाई कारबाही हुन्थ्यो। हाम्रो पूर्वमा धेरैलाई त्यसरी नै जबर्जस्ती दसैं मान्न लगाइएको हो,’ मुकारुङले भने।

सत्ताबाट संस्कृतिमाथि थिचोमिचो भइरहेको बताउँदै मुकारुङ आफैंले लेखेको मदन पुरस्कार विजेता कृति ‘दमिनी भीर’ तर्फ मोडिए। ‘दमिनी भीरको एक भागमा देवाली चलिरहेको हुन्छ। त्यही बेला धामी पूरै रिसले बहुलाइरहेको हुन्छ। तर पनि नवीन (पात्र) हे परमेश्वरा, हुन्दे–हुन्दे (छाड्दे) भन्छ,’ उनले भने, ‘खासमा छोरी मान्छे थानमाथि बस्न नहुने हुन्छ। हाम्रै गाउँको एक प्रभावशाली क्याप्टेननी भने बसिदिन्छे। हे परमेश्वरा हुन्दे–हुन्दे (छाड्दे) भनेर धामीले भनिरहेको कुरा मैले उपन्यासमा त्यसरी हालेको हो।’

सांस्कृतिक एवं सामाजिक रूपमा सत्ताबाट थुप्रै हस्तक्षेप भएकाले मुन्धुम पनि समृद्ध हुन नसकेको मुकारुङ बताउँछन्। उनी आफैंले पनि चार वर्ष मुन्धुम अध्ययन गरेका छन्। त्यस क्रममा आफैं धामी भइएला भन्ने डर भएको स्मरण गरे। ‘हरेक रात सपनामा नाच्न थाल्ने, खसीको मासु त छुनै नहुने, ऐठन पर्न थालिहाल्ने। सपनामै चारपाटे हिमाल काट्न थालिसकेको थिएँ,’ उनले भने, ‘ओहो! यस्तो समयमा आएर मलाई ठूलो धामी नहोऊँ भन्ने भयो। जेसुकै होस् भनेर जथाभाबी खसीको मासु खान थालेँ। त्यसपछि चाहिँ आएको छैन। कहिलेकाहीँ भने झनन्न पसिहाल्छ।’

यही नाटक निर्माण क्रममा पनि कहिलेकहिले सताउन थालेको उनले बताए। किराँतीहरूको लिखित इतिहास छैन। मुन्धुमले नै त्यसलाई मौखिक अभिलेखीकरण गरेको छ। मुन्धुमले मानव विकासक्रमदेखिको कथा भन्छ। कथाअनुसार सृष्टिको उत्पतिक्रममा चट्याङ पर्छ, संसार पूरै डढ्छ। जलेपछिको खरानीबाट मान्छेको मूर्ति बनाइन्छ। त्यसलाई बोल्न सिकाइन्छ। यसरी नै पहिलो मान्छे बनेको भन्ने विश्वास रहेको मुकारुङ बताउँछन्। यसबाहेक, मुन्धुमले पृथ्वीमा उत्पत्ति भएका हावा, पानी, आगो, जीवन, विवाह, मृत्युजस्ता सबै कुरा समेट्छ।

‘ए खोला, ए बतास, ए जूनघाम। भनिदेऊ न के होला मेरो नाम? कहाँ होला मेरो ठाउँ?’ कलाकार दयाहाङ राईले नाटक ‘जोखना’ का लागि लेखिदिएको यो गीत पनि मुन्धुमबाटै प्रभावित देखिन्छ। नाटकको सांगीतिक पक्ष पनि किराँती संस्कृतिसँग जोडिएका छ। साकेलामार्फत किराँतीहरू आफ्नो इतिहास बताइरहेका हुन्छन्। साकेला चलिरहँदा हामी पनि त्यहीँ सामेल छौं जस्तो भान गराइदिन्छ। किराँतीको रौसे जीवनशैलीमा दर्शक पनि रमाउन थाल्छन्। कतिबेला जोखनाले डोर्याएको धनसुवा र जसेका जीवनको डोरीमा चिप्लिएर आँसु खस्छन् पत्तै हुन्न। फेरि त्यही मृत्युको खबरमा पनि पात्रहरूको संवादले हसाइदिन्छन्। किराँतीहरू मृत्युलाई पनि सामान्य रूपमा लिन्छन् भन्ने यसले देखाउँछ। आफ्नो बाटो लाग्न नचाहेको जसेलाई ‘फूल त मर्छ, रूख पनि सुक्छ’, ‘मानिसको जीवन पनि उधौलीजस्तै हो’ भनेर सम्झाउँछन्। यसले जीवनसँगै मृत्यु पनि सत्य हो भन्ने कुरा उनीहरूले स्वाभाविक रूपमा लिएको देखिन्छ।

कथाकार बियस राईको कथासंग्रह ‘हिउँमाझी’ मा संग्रहित कथा ‘जोखना’ लाई किरण चाम्लिङ राईले निर्देशन गरेका हुन्। उनका अनुसार यो नाटक पूरै कथाभन्दा त्यसको सानो भागलाई आधार मानेर बनाइएको हो। यसअघि उपेन्द्र सुब्बाद्वारा लिखित नाटक ‘लाटो पहाड’ निर्देशन गरेका उनी भन्छन्, ‘हामीले आफ्नै कुरा भनेनौं भने त्यो हराएर जान्छ। हराउन सक्ने ती संस्कृति एवं धूनलाई नाटकमा समेट्ने प्रयत्न गरेका छौं।’ मुन्धुम अनि विम्बात्मक प्रयोगले नाटक ‘जोखना’ किराँती संस्कृतिसँग जोडिएको छ। किराँती संस्कृति नजिकबाट नियाल्न चाहनेले यो नाटक हेर्न जोखना हेरिरहनु पर्दैन।

 
राजन मुकारूङ (बाँया) र किरण चाम्लिङ राई। 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्