सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई पराजित गरेको छ ।शनिबार भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए । पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २/२ विकेट लिए । जितसंगै सन्दीपको टिम दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।
चौंथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ ।