‘कबड्डी ३’ प्रदीप खड्कालाई निकालिएको भन्ने हल्ला हो-रामबाबु गुरुङ

केही समय अगाडी देखि निर्देशक राम बाबु गुरुङको फिल्म ‘कबड्डी ३’मा नायक प्रदीप खड्का रहने चर्चा थियो । फागुनचैत्रमा फ्लोरमा जाने भनिएको फिल्म बैशाखको अन्तिममा मात्र फ्लोरमा जाने तयारीमा निर्माण यूनिट रहेको बुझिएको छ । फिल्मका लागी दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायतका कलाकार फाइनल भइसकेका भनिएको छ । यद्यपी निर्माण यूनिटले कुनै पनि कलाकारसंग लिखित सम्झौता भने गरेको छैन । फिल्मका लागी प्रदीपसंग लिखित सम्झौता नगरे पनि मौखिक सहमती गरेको चर्चा यसअघि चल्दै आएको थियो । तर, केही दिन यता कबड्डी ३ मा प्रदीपलाई रिप्लेस गर्दै फिल्ममा निश्चलको इन्ट्री हुन लागेको चर्चा चल्न थालेको छ ।
यस विषयमा नायक प्रदीप खड्काले भने, ‘फिल्म गर्ने मौखिक कुराकानी भएकै हो । फाइनल भएको थिएन । अहिले सम्म पनि मेरो हातमा फिल्मको स्कृप्ट आएको छैन । जति बेला हाम्रो सामान्य कुराकानी भयो त्यो बेला देखि कुनै पनि कुरा अगाडी बढेको छैन । फागुन, चैत्रमा सुट हुने कुरा थियो । बैशाखको अन्तिममा बल्ल जाँदै हुनुहुन्छ भन्ने सुनेको छु । बैशाखको अन्तिममा म भ्याउँदिन भनेको हो । बैशाखको पहिलो सातासम्ममा सुटमा गएको भए मेरो टाइम पनि मिल्थ्यो होला । राम बाबु दाईलाई पनि सोध्नु होला । मैले मेरो टाइम मिल्दैन होला भनेको हुँ । म ‘प्रेम गीत ३’ जोइन गर्दैछु । सुरु देखि नै कन्फर्म भाकै थिएन । सल्लाह मात्र भएको हो । मिल्यो भने गर्ने भनेर ।’
यता निर्देशक रामबाबु गुरुङले प्रदीपलाई लिएर आएका समाचारहरुले आफु अचम्मित भएको बताए । उनले हामीसंगको टेलिफोन वार्तामा भने, ‘म अहिले स्कृप्ट लक गर्नका लागी एक हप्ता अगाडी देखि राजधानी बाहिर छु । प्रदीप जीसंग फिल्मका विषयमा मौखिक कुरा भएको हो र समय अनुकुल भएमा गर्न सक्ने कुरा भएको हो । प्रदीप जी मात्र होइन फिल्मका लागी दयाहाङ राई लगायतका कलाकारहरुसंग पनि लिखित सम्झौता भएको छैन । निश्चल जीसंग त झन् कबड्डी ३ लाई लिएर कुनै कुरा नै भएको छैन । मुख्य कुरा त अझै फिल्मको दर्ता प्रकृया पुरा भएको छैन । अब स्कृप्ट लक गरेर काठमाडौँ फर्किन्छु अनि मात्रै कालाकारहरुसंग सम्झौताको काम अगाडी बढ्छ । उहाँहरु अहिलेको स्टार हुनुहुन्छ । उहाँहरुको विषयमा यति हलुका हुनु राम्रो हुँदैन । सबै कुराको टुङ्गो म काठमाडौँ फर्किए पछि मात्र हुन्छ ।’