Logo

तेमाल जात्रासंग ह्रिन्जेन दाेर्जेकाे सम्बन्ध


-हिरामान बल तामाङ

तामाङ समुदायले आदिम कालदेखि मनाउँदै आएको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्व तेमाल जात्रा तामाङ समुदायको महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएका छन् । काठमाडाैंकाे बाैद्ध र स्वयम्भूमा मनाउँने तेमाल जात्रालाई तामाङ समुदायले ल्होछारपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएको छ । त्यसैले यसको धार्मिक एवम् सांस्कृतिक महत्त्व पनि उच्च रहेको छ । यो जात्रा हरेक वर्ष चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध छ्योर्तेन र पूर्णिमाको दिन स्वयम्भूमा मनाउँने गर्दछन् । जात्रामा तामाङ समुदयको मात्र उपस्थिति रहँदै आएको छ । विशेषतः काभ्रेपलाञ्चोक, सिन्धुपालञ्चोक, दोलखा, नुवाकोट, मकवानपुर, धादिङ, सिन्धुली, ललितपुर, भक्तपुर र काठमाडौं लगायत देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्दै आएको देखिन्छ । त्यसो त यस जात्रामा देशबाहिरका भुटान, भारत, दार्जिलिङ र सिक्किमबाट समेत उपस्थिति हुने गरेको पाइन्छ ।

हरेक दिन भीड लाग्ने बौद्ध र स्वयम्भूमा चैत पूर्णिमाको अघिल्लो दिन छुट्टै किसिमको चहलपहल हुने गर्दछ । यो मेला भर्न आएकाहरूको भीड हो । कोही लामागुरु लगाएर ङोवा मोन्लम् पाठ गराउन व्यस्त हुन्छन् । अनेक विधि अपनाई मृतकको चित्त शान्ति र मुक्तिका लागि पूजा पाठमामा व्यस्त रहन्छन् । साथै ढोग गर्ने र प्रार्थना अनि भाव गर्ने गर्दछन् । उक्त काम सकिएपछि खुल्ला हुन्छन् । त्यसपछि जात्रामा गीत गाउने मेलोमा सहभागी हुन्छन् । कतिपय त गीत गाउनकै लागि मात्रै पनि आइपुग्छन् । तैपनि एउटा भए पनि म्हरमेन नाङसल बाल्छन् । कोरोवा गर्छन् । पितृलाई सम्झेर प्रार्थना गर्छन् । आफन्त तथा गीत गाउने दोस्तीसँग भेटेर गीत गाउँछन् । रमाइलो गर्छन् । मनमा झूसी परेर बसेका पीरव्यथालाई क्षणभरकै लागि भएपनि भुल्छन् । धर्म गर्छन् । संस्कृति जोगाउँछन् अनि त्यही बहानामा नाचगान पनि गर्छन् । तामाङ भनेर संसारलाई चिनाउँछन् । गीतबाट नै तामाङ ज्ञानकाे आदान प्रदान गर्छन् । कतिपय व्यक्ति तथा संस्थाहरू पिउने पानी बाँड्छन् । कोही जुस नै बाँड्छन् । कोहीले फलफूल पनि बाँड्छन् । सेवा नै धर्म भन्ने  कुरालाई व्यवहारमा उतार्छन् ।

जात्राको लागि तामाङ समुदायका मानिसहरू ज्यारूङ खस्योर (बौद्ध) र सिङ्गुन (स्वयम्भू)मा भेला हुन्छन् । चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्धमा आफ्ना दिवङ्गत बुबाआमा तथा पितृजनका नाममा ङोवा मोन्लम पाठ गराई नाङ्साल म्हारमेन (बत्ति) बाल्दछन् साथै बौद्ध छ्योर्तेन र स्वयम्भूको कोरोवा पनि गर्दछन् । त्यसो गर्नाले मृतकका चित्तले मुक्ति पाउने र सुखावती भुवनमा बास पाउँछ भन्ने विश्वास रहेको पाइन्छ ।

पितृको सम्झना मुख्य पक्षको रूपमा रहेको हुन्छ । त्यसैले त रातभरि म्हरमेन बाल्छन् । कतिपयले त गाउँदेखि नै ङोवा तथा मोन्लम पाठ गराउन आफ्ना टीकालामालाई पनि सँगै लिएर आएका हुन्छन् । उनीहरू म्हने घुमाउँदै रात बिताउँछन् । छ्योर्तेनको माथिल्लो तल्लामा रहेका १०८ खोपाहरूलाई दाहिने पारेर घुम्छन् । सोही क्रममा नङ्सल म्हारमेन बाल्छन् । त्यसरी नङ्सल बाल्नुको अर्थ र पुण्यलाभ हुनेमा शङ्का गर्दैनन् । त्यसैले शताब्दीऔंदेखि बाल्दै आएका छन् । बालिरहेका छन् । हो; बालिरहने पनि छन् । कतिले घरमै नङ्सल बनाएर ल्याउँछन् । कतिले बाहिर बेच्न राखेका नङ्सल किनेर बाल्छन् । यो क्रम आदिमकालदेखि निरन्तर चल्दै आएको छ । यतिसम्म कि– उनीहरूले धागो र तेल नभएका बेलादेखि नै बाल्दै आएका देखिन्छन् । तेमालका स्थानिय चन्द्रमान तामाङ सुनाउँछन्; उहिले धागो र तेल नभएको वा किन्न नसकेको अवस्थाका मानिसले मेथङ (दियालो) भए पनि बाल्थे । उज्यालो पार्थे । मृतकका चित्तलाई अँध्यारोबीच उज्याल दिन्थे । षड्गतिमा पर्न नदिई सुखावती भुवनसम्म पुग्नका लागि बाटो देखाउँथे । केही गरी तिथिको बेला यहाँ आउन नसक्ने भएमा समस्या हुने नै भयो तर त्यसको पनि समाधान बनाएका थिए । गाउँकै गुम्बामा पुग्थे । लामागुरुबाट ङोवा तथा मोन्लम पाठ गराउँदै नङ्सल बाल्थे । गाउँकै गुम्बालाई पनि बौद्ध र स्वयम्भूको रूपमा सम्झन्थे ।

माथि उल्लेख गरिएअनुसार नै तेमाल क्षेत्रका मानिसहरू धागो र तेल नहुँदा पनि मेथङ भएपनि लिएर आउँथे । नङ्सलको रूपमा त्यही मेथङ बाल्थे । त्यसरी नै उनीहरूले यस जात्रालाई निरन्तरता दिँदै आएका देखिन्छन् । त्यसैले– यस जात्राको नाम पनि तेमालजात्रा रहेको हुनुपर्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ । परापूर्वदेखि नै यो जात्रा लाग्दै आएको छ । किवंदन्ती अनुसार सत्युगमा विपश्पी बुद्ध काठमाडौं उपत्यकामा पाल्नु भई नागर्ज“न डाँडामा साधना गरी बस्नु भएको थियो । आफ्नो ऋिषी शक्तिले चैत्र पूर्णिमाको दिन काठमाडौं उपत्यकाको दहमा एक कमलको विज रोप्नु भएको थियो । सोही कमलको फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भएको थियो । यसरी विपश्वी बुद्धले कमलको विज रोपेको स्मरणमा तेमाल जात्रा प्रारम्भ भएको मानिन्छ । शुरूदेखि नै तेमाल क्षेत्रका तामाङबस्तीहरूबाट मेला भर्न आउने क्रम टुटेको छैन । उनीहरू हाल रहेको अरनिको राजमार्ग बन्नु अगाडि भने पैदल यात्रा गरेरै आउँथे । मेला भर्न तेमालको राजा ह्रिञ्जेनदोर्जे बल तामाङ पनि आएका देखिन्छन् । उनी यस मेलाका लागि तेमालबाट बिहान कुखुरा बासे लगत्तै निस्कन्थे । उनका साथमा तामाङ समुदायका मानिसहरू हुन्थे । यस जात्रालाई तेमालका शक्तिशाली राजा ह्रिन्जेन दोर्जे बल तामाङले राजकीय मान्यता पनि दिएको भन्ने किवंदन्तीहरुमा उल्लेख भएको पनि पाइन्छ । तेमालका जनतालाई राजा स्वयम्ले जात्रा मनाउन अनुरोध गरेपछि जात्रा मनाउँन शुरु गरेको विभिन्न जनश्रुतिहरुमा पनि पाइन्छ ।

बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न गरेको खुशीयालीमा महास्तूपमा पितृहरुको चित्तले शान्ति मिलोस भन्दै नाङसाल छ्युमे बाल्ने र म्हाने घुमाउँने, लामा गुरुहरुबाट विषेश पूजापाठ गरेर मनाउँने गरेको पनि जनश्रुतिमा उल्लेख गरेको पाइन्छ । बहसकाे विषय बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न गरेको खुशीयालीमा ह्रिन्जेन दाेर्जे बल तामाङ राजाले यस्ताे निर्णय गर्याे त ? कि झ्याजिमा संग केही नाता परेकाे थियाे ? यस विषय बहस र खाेजकाे विषय बनेकाे छ । झ्याजिमालाइ कुखुरा पालेर व्यापार गर्ने व्यापारीकाे रूपमा चिनिन्थ्याे । उनका ४ जना श्रीमान थिए भन्ने किवंदन्तीमा फेला परेकाे छ । ती चारै जना घोडा, सुंगुर, कुकुर र कुखुरा ब्यापारी हाे भन्ने पनि जनश्रुतिमा पाइन्छ । साथै झ्याजिमाले चार श्रीमानबाट एक एक जना छोराहरू जन्मिएकाे भन्ने किवंदन्तीमा उल्लेख गरेकाे पाइन्छ । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जाना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरेकाे कथा पनि कतिपय बाैद्ध ग्नन्थहरूमा भेटेका छन् ।
जसको लागि आवश्यक जमिन झ्याजिमाले राजासंग उपलब्ध गराई दिन बिम्ती गरेका छन् । राजाले स्तुपा बनाउनु त धेरै जमिन चाहिन्छ भनेर जमिन दिन अस्विकार गरेका छन् । झ्याजिमाले एउटा गोरुको छाला भरिको जमिन चाहिएको भनी बिम्ती गरेकाे गरेकै गरेपछि राजाले जमिन दिन स्वीकार गरेकाे कथान रहेकाे छ ।

बौद्ध स्तुपाको निर्माण सम्पन्नपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेका थिए । त्यसपछि तिब्बतको राजा ठिचेन देबजन भएको कथान पाइन्छ । फजेबुले अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिएका पाइन्छ । खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमन गरी धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्नेनयुल (कास्मिर) को दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिएका थिए । उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्याजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्मिनु भयो ।

सबैले आ–आफ्नै लागि मात्र प्रार्थनाको गरे तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू तिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्मा लाङधर्मको रूपमा तिब्बतका राजा भए ।  त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्मिनु भएकाे कथानहरू भेटिन्छ । यसरी उल्लेख गरेकाे कथानहरू हेर्ने क्रममा ह्रिन्जेन दाेर्जे र तेमाल जात्राकाे सम्बन्ध कसरी रहन गयाे ? बौद्ध स्तूपको जीर्णेद्धार कार्य सम्पन्न भएकाेमा खुशीयाली मनाउनुकाे कारण  कतै झ्याजिमा संग राजा ह्रिन्जेन दाेर्जे बलकाे नजिकाे सम्बन्ध त थिएन ? यसकाे विषयमा अबकाे युवा पुस्ताले खाेज्नै पर्छ ।

त्याे युग अथवा तेमालबाट ह्रिन्जेन दाेर्जेले किन तेमालकाे स्थानियलाइ ल्याए त ? त्यसबेला अन्य बत्तीको सुविधा पनि थिएन  । त्यसैले मेथङ बालेरै आउँथे । उज्यालो हुँदा नहुँदै गाउँ छोडेर बौद्धका लागि बीच बाटोमा हुन्थे । त्यसरी बाल्न मेथङ सङ्कलनका लागि हालको मेथिनकोटको जङ्गलमा पुुग्थे । आवश्यक खोटो र दियालो जम्मा गर्थे । त्यसैले त्यस स्थानको नाम नै मेथङकोट रहेको थियो । पछि नेपालीकरणको क्रममा अपभ्रंश भएर त्यही मेथङकोट नै मेथिनकोट भएको देखिन्छ । मेथङकोटमा मेथङ सङ्कलन गरेका उनीहरू हाँस्दै, खेल्दै, गीत गाउँदै रमाइलो गर्दै आउँथे ।

त्यसताका हालको झैँ गेस्ट हाउस थिएनन् । बौद्ध क्षेत्रमा अहिलेको जस्तो प्रशस्त घर पनि थिएनन् । खासै आफन्त भन्नेहरू पनि हुँदैनथे । त्यसैले पनि छ्योर्तेनमै रात कटाउनुपर्ने हुन्थ्यो । रात कटाउनका लागि भएपनि गीत गाउनुपर्ने हुन्थ्यो । त्यसैले गीत गाएरै रात कटाउँथे । दोहोरी गीतको साथै ऐतिहासिक विषयमा आधारित गीत पनि हुन्थे । दुवैको आफ्नै चिनारी र महत्त्व थियो । आफ्नै श्रोता थिए । भुटेको मकै, रोटी, तरकारी  पनि हुन्थे । अझै थप खानेकुरामा उसिनेका कन्दमूल हुन्थे । रक्सी त सोध्नै परेन । जतिखेर पनि सगुनको रूपमा चाहिने हुनाले रक्सी अनिवार्य जस्तै मानिन्थ्यो । त्यसमा पनि कोदोको चाहिँ अब्बल हुने नै भयो । हो; तामाङको आफ्नै मौलिक खाद्य संस्कृति थियो । परिचय र पहिचान झल्किन्थ्यो । आफन्तजन भेटिन्थे । आफ्नै खाद्यबस्तुद्वारा स्वागत सत्कार गरिन्थे । कोरोवा र मणी घुमाउँदै छर्लङ्गै हुने गरी रात कटाउँथे । शुरूका समयमा यातायात, बास, खानपीनको बन्दोबस्त गर्न धेरै गह्रो हुने नै भयो । त्यसैगरी २०५२ सालदेखि चलेको सशस्त्र जनयुद्धका कारण यात्रामा व्यापक समस्या देखापरेको थियो । तैपनि तेमाल लगायतका विभिन्न स्थानमा रहेका तामाङले जात्रालाई छोडेनन् । मेलाको अवसरमा ङोवा मोन्लम पाठ र म्हरमेन नङ्सल बाल्न पनि छोडेनन् । त्यसैले त अहिलेसम्म पनि जात्रा चलिरहेकै छ । सिङ्गो तामाङ समुदायले तामाङ जात्रा भनेर नाक फुलाउने अवसर पनि प्राप्त गरेको छ ।

देशमा अहिले पनि पहिचानको मुद्दा उठाइरहेको छ । यस्तो बेला तामाङ समुदायको ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको तेमाल जात्रालाई राज्यले संरक्षण गर्न सकेको छैन । सुविधा दिन सकेको छैन । बरु मौका पर्दा दुःख दिएको भन्ने जनगुनासा सुन्दै र भोग्दै आएका छौं । यो नै कटु सत्य वा यथार्थ हो । दुःख हो । आदिवासी जनजातिहरुले आ–आफ्नो पहिचानको लागि आवाज उठाइरहँदा राज्यको तर्फबाट भने संरक्षणको साटो दबाउने काम गरिरहेको भनेर आदिवासी जनजाति नेताहरुले दावी गर्दै आएका छन् । परापूर्वकालदेखि चल्दै आएको तेमाल जात्रामा रातभर तामाङ फापर गीत गाउने र नङ्सल म्हरमेन बाल्ने प्रचलन थियो तर आज आएर प्रशासनले यसमा अवरोध गरिरहेको छ । संस्कार पालना गर्न बाधा पु¥याएको छ । जात्रामा आउनेहरुलाई प्रशासनले लाठ्ठी चार्ज गर्दै स्तूपभित्र बस्ने र मृतकको नाममा पूजापाठ गर्न नदिनु तामाङ समुदायको धार्मिक पर्वलाई नै दवाउने ठुलो षड्यन्त्र हो । त्यत्ति मात्र नभएर तेमाल जात्राबाट प्रख्यात काठमाडौंको बौद्ध र स्वयम्भू पनि पछिल्लो समय हिन्दूकरण गर्न भ्याइसकेको छ ।

बौद्धधर्मसँग जोडिएको बौद्ध छ्योर्तेन र स्वयम्भूका नाम पछाडि नाथ शब्द ल्याएर जोडेको छ । अनि तामाङको झ्यरुङ खस्योर बौद्धनाथ र सिङ्गुन आज आएर स्वयम्भूनाथ भएको छ । स्मरण रहोस्, नाथ शब्द हिन्दूबाट आएको हो । हिन्दूकरणको एक उदाहरण स्वरूप दोलखा भिमसेनलाई पनि लिन सकिन्छ । शुरूमा दोलखा भिमसेन नभई बौद्ध धर्मसँग जोडिएको थियो । आदिवासी जनजातिहरू दावी गर्छन्, पशुपति र गुहेश्वरी पनि बौद्धधर्मसँग सम्बन्धित थियो । बुढानिलकण्ठ र चाबहिलस्थित चन्द्रविनायक पनि बौद्ध मन्दिर थियो । राज्यसत्ता हातमा परेपछि सबै बौद्ध धार्मिक तीर्थस्थलहरू हिन्दूका भए । सोही अनुसार कथित इतिहास लेखे ।

तेमाल जात्रालाई राज्यले आफ्नो वा अपनत्वपूर्ण भावना सिर्जना गर्नै सकिरहेको छैन । तामाङ लगायतका आदिवासी जनजातिले राज्यलाई नै आफ्नो वा अपनत्व भाव राख्ने वा जन्माउने आधार नै पाइरहेका छैनन् । यति हुँदा–हुँदै पनि पछिल्लो चरणमा तेमाल जात्रा व्यवस्थापन समिति र विभिन्न सङ्घ–संस्थाहरू मिलेर जात्रालाई व्यवस्थित गर्दै आएका देखिन्छन् । पहिले–पहिले त तेमाल जात्रा मनाउन आएकालाई कतिपयले आफ्नो घरआँगनमा समेत बस्न दिँदैनथे रे । फोहोर हुन्छ भनेर कराउँथे रे । बस्नका निमित्त आफन्त बनाउन सक्नुपर्दथ्यो रे । पाखे भन्दै कतिले त लखेट्न पनि पछि पर्दैनथे रे तर आज समयले काँचुली फेरिसकेको छ । मानिसको सोचमा परिवर्तन आइसकेको छ । बौद्ध र स्वयम्भूबासीले पनि यसलाई आफ्नो शान र मानको विषय मानिसकेका छन् । आफ्नो ठानेर माया गर्न लागिसकेका छन् ।

अहिले विभिन्न तामाङ सङ्घ–संस्थाहरुले निःशुल्क पिउने पानी, स्वयम्सेवक, निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा दिन थालेका छन् । तेमाल जात्रा बौद्धधर्मसँगै तामाङ जातिको संस्कार, संस्कृति, पहिचान र संरक्षणको निम्ति पनि महत्त्वपूर्ण रहेको छ । दिवङ्गत भइसकेका आफ्ना पूर्खालाई सम्झने साथै सम्पूर्ण प्राणी जगतको हित र शान्तिको लागि प्रार्थना गर्ने जस्ता क्रियाकलापलाई अति राम्रो पक्ष मान्नुपर्ने हुन्छ । यत्ति मात्र नभई तेमाल जात्राले काठमाडौंमा रहेका इष्टमित्रसँग भेटघाट गर्ने, दुःख सुख साट्ने, माया प्रेम र आदार–सत्कार गर्ने मौका पनि दिँदै आएको छ ।

यस जात्राको नाम तेमालजात्रा कसरी रहन गएको थियो भन्ने सम्बन्धमा केही तथ्य माथि नै उल्लेख गरिइसकेको छ । अहिले कतिपयले यसमा असहमति जनाएका पनि पाइन्छन् । तेमाल भन्नाले हालको तेमाल गाउँपालिका संयुक्त स्वरूपलाई मात्र बुझ्ने गरिएको छ । ऐतिहासिक तथ्यलाई हेर्ने हो भने ती तेमाल गाउँपालिका ९ वटा वडा संयुक्त स्वरूप मात्रै तेमाल होइन । बृहत् तेमालमा त साँगाभञ्ज्याङदेखि पूर्वका क्षेत्र पर्दथे । हालको राजनैतिक विभाजनमा परेको क्षेत्रलाई हेर्ने हो भने ऐतिहासिक बृहत् तेमालमा काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपालञ्चोक र दोलखा लगायतका पूर्वमा अवस्थित जिल्लाहरू समेत पर्दथे । तिनलाई एक नम्बर तेमाल क्षेत्र भनेर चिनिन्थ्यो । अझै पनि रामेछापमा समेत तेमाल नामक ठाउँ रहेको छ । तेमाल प्राचीन नाम ‘तेरमहल’ बाट अपभ्रंस भएर ‘तेमाल’ हुँदै तिमाल भएको स्पष्ट रहेको छ । तामाङ समाजको पूर्वी क्षेत्रमा ‘‘संस्कार संस्कृति र रितिरिवाज हराएमा तेमाल जानु’’ भन्ने भनाई प्रचलित रहेको पाइन्छ । यसले तेमाललाई तामाङ समुदायको पुख्र्यौली थलो हो भन्ने तथ्यलाई बल पु¥याइरहेको पाउन सकिन्छ ।

यसप्रकार तेमाललाई तामाङ समुदायको पुख्र्यौली थलोको रुपमा मानिँदै आएको देखिन्छ । तेमाल नाम यस अर्थमा पनि निकै महत्त्वपूर्ण र उल्लेखनीय रहेको छ । हाल आएर काभ्रेपलाञ्चोक जिल्लाको ९ वटा वडा मा मात्र सिमित भएकोले पनि होला तेमाल जात्रा भनेर भन्दा बौद्ध र स्वयम्भू जात्रा हुनुपर्छ । तेमाल जात्रा कसरी भयो ? प्रश्नचिह्न उठाउन थालिएका छन् । त्यत्ति मात्र होइन तेमाल जात्रा तेमालमा नभएर काठमाडौंमा कसरी भयो ? तेमाल जात्रा तेमालमा नै गएर मनाऊ भन्नेहरु पनि देखिएका छन् । त्यसैले अब हामीले विगतको इतिहासलाई पुनः नियाल्न सक्नुपर्छ । तेमालका तामाङ राजा ह्रिन्जेनदोर्जे बलले तेमाल जात्रा मनाउन तेमाल क्षेत्रका तामाङलाई लिएर अफैँ आउने वा पठाउने गरेको भन्ने पाइन्छ ।

यसैगरी बौद्ध छ्योर्तेनको जीर्णोद्धार कार्य सम्पन्न भएको खुशीयालीमा पनि मृतकको नाममा पूजासहित उत्सव मनाउन तेमालका तामाङ राजा ह्रिन्जेनदोर्जे बलले तेमालजात्रा चलाएको भन्ने किम्वदन्ती पनि पाइएको छ । यस्तै सत्ययुगमा काठमाडौं उपत्यका दहको रूपमा रहेको थियो । त्यसबेला बन्धुमतीनगरबाट विपश्वी बुद्ध पाल्नु भई नागार्जुन डाँडामा बसेर साधना गर्नुभएको थियो । विपश्वी बुद्धले नै चैत्र पूर्णिमाको दिन ऋद्धिसिद्धि शक्तिको प्रयोग गर्दै दहमा कमलको बीऊ रोप्नु भएको थियो । त्यही बीउबाट कमलको एउटा अद्भूत फूल फुलेको थियो । सोही फूलको थुङ्गा पुगेको स्थानमा नै स्वयम्भूको ज्योति उत्पत्ति भएको भन्ने कथन पाइएको छ । सोही बेलादेखि नै यो जात्राको शुरूवात भएको भन्ने जानकारहरूले दावी गरेका पाइन्छन् ।

हरेक वर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध छ्योर्तेन र चैत पूणिर्माका दिन बिहान बालाजुको बाइसधारामा नुवाई धुवाई गरेर स्वयम्भूमा मृतकको नाममा नङ्सल म्हरमेन (बत्ति) बाल्दै कोरोवा गर्ने प्रचलन रहेको छ । सोही अवसरमा तामाङ फपर गीत गाएर, पूजापाठ गरेर रात परेपछि जात्राको विसर्जन गर्दै आएको छ । यस्तै गरेर काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध (ताक्मो ल्हुइजेन)मा पनि मङ्सीर पूर्णिमाको दिन मेला लाग्दै आएको छ । त्यहाँ पनि आफ्ना मृतकका नाममा नङ्सल म्हरमेन बाल्ने प्रचलन रहेको छ । तामाङ फापर गीत नगाइकन जात्रा पूर्ण हुँदैन । यसरी लाग्ने विभिन्न मेलाहरुमा केटी र केटा पक्षबीचमा खेलिने दोहोरीमा एक पक्षले हारेमा वा बराबरी भएमा पनि अर्को जात्रामा भेट्ने गरी छुट्ने गरेका पाइन्छन् । त्यसैले यी तीन तीर्थस्थलहरूमा लाग्दै आएका जात्राको विशेष महत्त्व र साइनो रहेको देख्न सकिन्छ ।

 ऐतिहासिक पाटोलाई नियालेर हेर्ने हो भने– सन् १७९२ मा तामाङले विद्रोह गरेका थिए । त्यसलाई राज्यपक्षले निर्ममतापूर्वक दबाएको थियो । त्यसैबेलादेखि तामाङलाई राज्यले शत्रुतापूर्ण नजरले मात्रै हेर्न थाल्यो । उनीहरुका धार्मिक आस्थाको केन्द्र (तीर्थ)मा आउन समेत बन्देज लगायो । जङ्गबहादुरको लहैलहैमा भएको नेपाल–भोट युद्ध अघिसम्म बौद्धको मूललामा छेवाङ सितार रुम्बा तामाङ थियो । उनलाई भोट विरुद्धको लडाईँमा गोरखालीलाई सहयोग नगरेको आरोप लगायो । सोही शिलशिलामा देश छाड्न बाध्य पारिएका थिए । आदिकालदेखि नै स्वयम्भू र बौद्धको व्यवस्थापन गर्ने जिम्मेवारी लिँदै र बहन गर्दै आएको तामाङ समुदायलाई बिस्तारै विस्थापित गराउने काम ग¥यो ।

स्वयम्भू र बौद्धको गुठी जग्गाहरु खोसिए । शाह राजाले स्वयम्भूलाई तामाङहरूबाट खोसेर भुटानको लामालाई जिम्मा दियो । त्यस्तै बौद्धको व्यवस्थापन जिम्मेवारी राणा प्रधानमन्त्रीले खोसेर चीनियाँ लामालाई दियो । राज्यसत्ताले जात्राहरूलाई आफ्नो मानेको छैन । बरु सँधै सशङ्कित हुँदै मात्र आएको छ । त्यसैले पुरानो घाउले सताउन थालेको बेला गोरखाली राजनीतिको षड्यन्त्र र बल मिचाईमा तामाङ व्यस्थापन समितिहरू तहसनसहन हुन पुगे भन्ने आभास हुनुलाई अन्यथा मान्न सकिन्न । यही तथ्यबाट के पुष्टि हुन्छ भने राज्यसत्ताले तामाङ समुदायमाथि गरेको अन्याय र अत्याचारपूर्ण विभेदले गर्दा तामाङ समुदाय यो अबस्थामा आइपुगेको हो । राज्यसत्ताको यस्तै रवैयाका कारण तामाङ समुदाय पछाडि परेको सहज अनुमान लगाउन सक्छौँ । अबको नयाँ पुस्ताले यही कुराको मनन् गर्दै तेमाल जात्रासँगै आफ्नो भाषा, लिपि, धर्म, संस्कृति र कलाको संरक्षण सम्बद्र्धनका लागि उठ्नुपर्ने भएको छ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? भन्ने भनाईलाई आत्मसात् गर्ने बेला भएको छ ।
यसकाे विषयमा अझै खाेज अनुसन्धान गरिरहेकाे हुनाले जानकारी हुनेहरूले कमेन्टमा सुझाव दिनुहुन अनुराेध गरिन्छ । 9851038630, balhira@gmail.com (हामिले यो नाम्सधिम डटकमबाट लेख लिएको हौ । यो एक ऐतिहासिकतालाई राष्ट्रिय पर्व तेमाल जात्रा तामाङ समुदायको महत्वपूर्ण पर्व रहेको छ ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्