च्याम्पियन्स लिग : सेमिफाइनलका खेल कहिलेबाट ?

‘क्लब फुटबलको विश्वकप’ भनेर चिनिने युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल चरणको समीकरण पूरा भएको छ । गत राति अन्तिम आठमा दोस्रो लेगका दुई खेल भएसँगै सेमिफाइनल पुग्ने ४ वटै टिमको टुंगो लागेको हो ।
अब प्रतियोगिताको सेमिफाइलनका खेल हुनेछन् । ती खेल आगामी अप्रिल ३० बाट सुरु भएर मे ७ तारिखमा सकिनेछन् । सेमिफाइनलमा होम एन्ड अवे गरी २ खेल हुनेछन् । जसमा दुवै लेगको नतिजापछि विजयी हुने टिम फाइनल पुग्छ ।
सेमिअन्तर्गत अप्रिल ३० मा टोटनह्याम र आयाक्सले पहिलो लेगको खेल खेल्नेछन् । यो खेल टोटनह्यामको घरमा हुनेछ । सोही दिन बार्सिलोना र लिभरपुले पनि पहिलो लेगको खेल खेल खेल्नेछन् । यो खेल बार्सिलोनाको घरमा हुनेछ ।
त्यसपछि दोस्रो लेगका खेल मे ७ मा हुनेछन् । जहाँ बार्सिलोना लिभरपुलको घरमा उत्रिनेछ भने अर्को खेलमा टोटनह्याम आयाक्सको घरमा उत्रिनेछ । सेमिफाइनल सकिएपछि यस सिजनको फाइनल खेल भने आगामी जुन १ तारिखमा स्पेनस्थित एथ्लेटिको मड्रिडको घरेलु रंगशालामा हुनेछ ।
सेमिफाइनल चरणमा हुने खेलको समय पनि टुंगो लाग्न बाँकी छ । युइएफएले खेल समय तोकिसकेको छैन । यसपटक सेमिफाइनलमा दुई इंग्लिस टोली पुगेका छन् भने स्पेनिस र नेदरल्यान्ड्सका एक–एक टिम पुगेका छन् । जसमा स्पेनिस बार्सलोनाले इंग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई एग्रीगेटमा ४–० ले हरायो भने डच टिम आयाक्सले इटालियन युभेन्टसलाई एग्रीगेटमा ३–२ ले हरायो ।
त्यसैगरी, इंग्लिस टोली लिभरपुलले पोर्चुगिज पोर्टोलाई एग्रीगेटमा ६–१ ले हराउँदा अर्को इंग्लिस टोली टोटनह्यामले म्याानचेस्टर सिटीलाई ४–४ को बराबरी भए पनि अवे गोलमा पछि पारेर आफू सेमिफाइनल पुग्यो ।