Logo

अन्तरिक्षमा नेपालको पहिलो स्याटलाइट अमेरिकाबाट यसरी पठाइयो (भिडियो सहित)


काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट अर्थात् भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।

सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समयानुसार बिहीवार बिहान २:३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ। NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखिएको छ। त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

कत्रो छ नेपाली भू-उपग्रह? नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट-१ न्यानो स्याटलाइट हो। अर्थात् यो निकै सानो आकारको भू-उपग्रह हो र यसको तौलको झन्डै एक किलो छ। उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ।बीबीसीसँग उनले भने, “नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो। आफ्नै भू-उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ। यो हाम्रो पहिलो पाइला हो।”

उनको भनाइमा भू-उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ। त्यसको अर्थ निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू-उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ।

यो भू-उपग्रहले के गर्छ? मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ। यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ भनिने प्रविधिको फाइदा लिन सक्छ। यसको सहायताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। मास्केका विचारमा ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन्।

यो भू-उपग्रह कहिलेसम्म अन्तरिक्षमा रहन्छ? तर नेपालीस्याट-१ भू-उपग्रह लामो समयसम्म अन्तरिक्षमा रहनेछैन। मास्केको अनुमानमा यो भू-उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ। लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ। यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ। त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्