कुन प्रदेशलाई कति बजेट ? प्रदेश १ लाई वित्तीय समानीकरण अनुदान ८ अर्ब १६ करोड ३३ लाख
अर्थमन्त्रालयले हालै सातैवटा प्रदेश सरकारलाई राजस्व बाँडफाट र वित्तीयसमानीकरण अनुदानको सिलिङ पठाएको हो । योपटक प्रदेश सरकारहरुले पाएको सिलिङ गत वर्षभन्दा करिव २ अर्ब बढी छ ।
संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश १ लाई वित्तीय समानीकरण अनुदान ८ अर्ब १६ करोड ३३ लाख र राजस्व बाँडफाँटमा १० अर्ब २७ करोड ९८ लाखको सिलिङ तोकेको छ । प्रदेश २ ले वित्तीय समानीकरण अनुदानमा ७ अर्ब ८ करोड ५० लाख तथा राजस्व बाँडफाँटमा १० अर्ब ४३ करोड ९३ लाखको सिलिङ पाएको आन्तरिक मामिला मन्त्रालयका उपसचिव अर्जुन न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।
यस्तै प्रदेश ३ ले वित्तीय समानीकरण ७ अर्ब ५९ करोड र राजस्व बाँडफाँटमा १० अर्ब ६० करोडको सिलिङ पाएको छ । गण्डकी प्रदेशले ७ अर्ब ११ करोड २२ लाख वित्तीय समानीकरणतर्फ र ७ अर्ब ७० करोड ५१ लाख राजस्व बाँडफाँटको सिलिङ पाएको छ । प्रदेश ५ ले वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ५४ करोड १ लाख र राजस्व बाँडफाँटमा ९ अर्ब ९१ करोड २३ लाख रुपैयाँको सिलिङ पाएको छ ।
यस्तै कर्णाली प्रदेशले वित्तीय समानीकरणमा ९ अर्ब ८४ करोड ८३ लाख र राजस्व बाँडफाँटमा ७ अर्ब ४४ करोड ४३ लाखको सिलिङ पाएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले अनलाइनखबरसँग भने, ‘यो हामीले माग गरेभन्दा निकै कम हो ।’ त्यसैगरी सुदूरपश्चिम प्रदेशले वित्तीय समानीकरणतर्फ ७ अर्ब ९५ करोड २४ लाख र राजस्व बाँडफाँटमा ७ अर्ब ९८ करोड ७२ लाखको सिलिङ पाएको छ ।