हेर्दाहेर्दै साथीलाई विमानले किच्यो : म धन्न बाचे-प्रहरी निरीक्षक लिम्बू
लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
‘बिहानैदेखि हामीसँगै थियौं ।’ उनले भने, ‘प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केहीमिटर तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौं, विमानको आवाज अलि फरक खालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्यौं, तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रहेको हेलिकोप्टरलाई समेत क्षति पुर्यायो, हामी तत्काल उद्धारमा जुट्यौ ।’ प्रहरी निरीक्षक लिम्बूलेभने, ‘दुई प्रहरी नायब निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो, खड्काको तत्काल मृत्यु भयो, श्रेष्ठ भने सख्त घाइते हुनुभयो ।’
भावुक बनेका उनले भने, ‘केही मिटरको दूरीमा रहेका सहकर्मीको एक सेकेण्डमै मृत्यु भयो तत्काल खटियौँ, घाइतेलाई ५ मिनेटमै काठमाडौँ पठायौं, अनि मृतकलाई केही समयपछि ।’ दुर्घटनामा समिट एयरका सहचालक काठमाडौँको चावहिलका ३४ वर्षीया सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो ।