Logo

इन्द्र नारथुङेको नजरमा स्व. नेता रविन्द्र अधिकारी


अल विदा रविन्द्र कमरेड !

तात्कालिन अधिराजकुमार पारस चढेको गाडीले लोकप्रिय पोखरेली गायक प्रविण गुरुङको ज्यानै जाने गरि ठक्कर दिएपछि पारसलाई कार्वाही गर्नुपर्छ भन्दै राजधानीमा आन्दोलनको उभार ल्याउने त्यो सहासी विद्यार्थी नेता तिमी, त्यही आन्दोलनले तिमीलाई रविन्द्र अधिकारीको पहिचान दिन्छ ।

२०५४ मा तात्कालिन एमाले विभाजन भै बनेको नेकपा माले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष बनेपछि तिम्रो राजनीतिक दायरा फराकिलो बन्छ र त्यही बेला हाम्रो भेट खोटाङमा हुन्छ ।

माले-एमाले एकीकरण भएपछि तिमी गृह जिल्ला पोखरा फर्किन्छौ र पार्टीको जिल्ला कमिटीमा काम गर्छौ । दुई वर्ष जिल्ला सचिवालय सदस्य बनेपछि भएको जिल्ला महाधिवेशनले तिमीलाई जिल्ला सचिवमा निर्वाचित गराउँछ । मात्र एक मतको अन्तरमा तिमीले जिल्ला सचिव जित्दछौ । हो त्यही बेला म तिम्रै गृह जिल्लामा पत्रकारिता गरिरहेको हुन्छु र तिम्रो लामो अन्तर्वार्ता लिन्छु । अझै पनि पृथ्वी चोक (लखन चोक) स्थित त्यो आनन्द होटलको बैठक कोठालाई सम्झिरहेको छु, जहाँ हामी झण्डै डेढ घण्टा अन्तर्वार्तासँगै ब्यक्तिगत जीवनको बारेमा गफिएका थियौं ।

त्यो घटनाको याद अझै घनिभूत छ कमरेड, जुन रात तिमी अचानक कास्की जिल्ला कमिटीको सचिवबाट फालिएका थियौ । पृथ्वीनारायण क्याम्पसमा स्ववियुद्वारा आयोजित एक कार्यक्रममा सहभागी हुन आउनु भएका पार्टीका तात्कालिन महासचिव माधवकुमार नेपाल पोखरा बसेकै रात जिल्ला कमिटीको निर्वाचन उल्टाएर रातारात तिमीलाई एकमतले हराइएको थियो । यो खबर पाउन साथ अन्तर्वार्ताको लागि तिमीलाई फोन गर्दा तिमीले यति भन्यौ, “रविन्द्रले यो प्रसंगमा अहिले बोल्दिन भन्यो भनेर छापिदिनुस्” ।

तिमी प्रतिको सम्मान अझै त्यो दिन बढ्यो, जुन दिन तिमी र म दुवै अतिथि बनेर एउटा साहित्यिक कार्यक्रममा पुगेका थियौं । धनप्रसाद तामाङहरुको “सिर्जना र असार” साहित्यिक शृङ्खला विरौटाको एउटा बोर्डिङ स्कूलमा सम्पन्न भैरहेको थियो । जहाँ राम्रा-राम्रा कविताहरु बाचन भैरहेका थिए । कार्यक्रम सञ्चालकले तिमीलाई शुभकामना मन्तब्य राख्न बोलाए । तर तिमीले सबैलाई सम्बोधन गरेपछि यति मात्रै बोल्यौ कि, ती शब्दहरु अझै कानमा प्रतिध्वनित भैरहेका छन्, “यो कविता सुन्ने कार्यक्रम हो, यति मीठा मीठा कविता सुन्ने कार्यक्रममा म राजनीतिको फोस्रो भाषण गरेर तपाईहरुको समय बर्बाद पार्न चाहान्न” । हो तिमीले यति नै बोल्यौ र तिम्रो यही सम्बोधनले ममा तिमीप्रतिको सम्मान अझ बढेर गएको हो ।

तिमी पहिलो संविधान सभाको चुनाव लड्दै थियौ तर म मलेसियामा थिएँ । म मलेसिया मै बसेर आफ्ना आफन्तहरुलाई तात्लालिन नेकपा माओवादीलाई भोट दिन भन्दै थिएँ । तर कास्कीबाट तिमी र गजकुमारी गुरुङले जितोस् भन्ने पक्षमा थिएँ । तिमी जस्तै गजकुमारी गुरुङसँग पनि केही कुराले प्रभावित थिएँ म । मैले पोखराका सहकर्मीहरु सँग सोध्दा तिम्रो जित सुनिश्चित छ भन्ने थाहा पाएँ र फोन गरेर तिमीलाई अग्रिम बधाई दिएँ । त्यो बेला तिमीले म विदेश पुगेको थाहा पाएर निक्कै दु:ख ब्यक्त गर्यौ । त्यो चुनावमा तात्कालिन एमालेले ठूलो पराजय बेहोर्यो, गजकुमारी दिदी पनि हार्नु भो तर तिमीले जित्यौ । सायद त्यो चुनावमा तात्कालिन माओवादीका अध्यक्ष कमरेड प्रचण्ड नै तिम्रो क्षेत्रबाट उठेका भए पनि तिमीले जित्ने थियौ । किनकी तिम्रो लोकप्रियताको कुनै सीमा थिएन पोखरामा ।

दोश्रो संविधान सभाको निर्वाचनमा तिमीले पुनः जित्यौ र विकास समितीको सभापति बन्यौ । विकास समितिको सभापति हुँदा खेलेको महत्त्वपूर्ण भूमिकाले तिमीलाई अझै लोकप्रिय बनायो र वर्तमान मन्त्री मण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने बाटो खुल्यो ।

तिमीले सम्हालेको मन्त्रालय पहिलाबाटै बढी विवादित मन्त्रालय हो, जहाँ भीम रावल देखि तारिणीदत्त चटौतसम्म र जीवनवहादुर शाही हुँदै जितेन्द्र देव र तिमीसम्म पनि त्यो क्रम जारी रह्यो । वाइड बडी प्रकरणमा तिमीलाई सार्वजनिक लेखा समितिले गल्ती गरेको औंल्याए पछि धेरैले तिमी माथि नैतिकताको प्रश्न उठाए । वाइड बडीको अन्तिम किस्ता बुझाउने कुरामा सहमति दिनु तिम्रो गल्ती होला, तर अन्तिम किस्ता नबुझाएको भए वाइडबडीको अवस्था के हुन्थ्यो भन्ने कुरामा कसैले प्रश्न नउठाउँदा तिमी माथि अन्याय भएको मैले महसुस गरेको छु । अख्तियारले वाइड बडी बारे छानबिन गरिरहेको छ, त्यसको मुख्य दोषीलाई कडाभन्दा कडा कार्वाही हुनुपर्छ । तर तिमी निर्दोष छौ भन्ने प्रमाणित नहुँदै यो भौतिक संसारबाट बिदा भयौ । कमरेड रविन्द्र, तिमीलाई गलत ठान्नेहरु सायद यतिबेला खुसी होलान् । तर एकदिन त्यस्तो समय पनि आउने छ, जुन दिन उनीहरु तिमीलाई सम्झेर धुरु धुरु रुने छन् ।

रविन्द्र कमरेड तिमी मन्त्री भैसकेपछि तिमीले थालेको विमान स्थलहरुको सुधार र निर्माणको काम सदा स्मरणीय रहने छ । दुरा अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थललाई चौबिसै घण्टा चल्न सक्ने बनायौ र त्यसलाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने अवधारणा ल्यायौ । सायद केही समयपछि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल विश्वकै सुन्दर विमान स्थलहरुमा नामाङ्कन हुनेछ । भैरहवा र पोखराको अन्तर्राष्ट्रिय विमान स्थल निर्माण कार्यलाई तिब्र रुपमा अगाडि बढाउनु र काठमाण्डौ हेजेमोनीलाई चिर्दै जसरी पनि निजगढको अन्तर्राष्ट्रिय विमान स्थल बनाउने प्रतिवद्धताका साथ कामको आरम्भ गर्नु तिम्रो कार्यकालको सबैभन्दा गर्व गर्न लायक कामहरु हुन् । अब तिम्रो कुर्सीमा बस्न आउने मन्त्रीले तिमीले देखेको सपनालाई र अधुरा छोडेको कामलाई पूरा गरून् ।

अल विदा रविन्द्र कमरेड ।  (इन्द्र नारथुङेको फेसबुकबाट )

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्