नेपालले यूएईलाई ठूलो लक्ष्य

भीम सार्की र हरिबहादुर चौहानको अर्धशतकमा नेपालले आईसीसी यू-१९ विश्वकप छनोटको दोस्रो खेलमा यूएईलाई जितका लागि २ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनायो । एक समय ११५-५ को स्थितिमा पुगेको नेपाली टोलीलाई भीम र हरिको छैटौं विकेटको साझेदारीले उकासेको थियो । भीम ५३ रनमा क्याच आउट हुनुअघि यी दुईले ९२ रनको साझेदारी गरे । भीमले ५४ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । हरिले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो स्कोरसम्म पुर्याए । उनले ७५ बलको सामना गर्दै ७ चौकाको मदतले नटआउट ६७ रन जोडे ।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा पवन सरार्फलाई तेस्रो ओभरको पाँचौ बलमा १२ रनमा गुमाएको थियो । सरार्फलाई मोहम्मद फराजुद्दीनले विकेटकीपर अरविन्द्रबाट क्याच आउट गराए । त्यस्तै दोस्रो विकेटका रुपमा आशिफ शेख १६ ओभरको पहिलो बलमा ३८ बलमा ५ चौका प्रहार गर्दै २७ रनमा पेभिलिएन फर्किए । आशिफलाई मुखर्जीले मोहम्मद फराजुद्दीनबाट क्याच गराए ।
त्यस्तै २२ औं ओभरको पहिलो बलमा मुखर्जीलेनै रोहित कुमार पौडेलाई १८ रनमा आउट गरे । रोहितले २३ बलमा ३ चौका प्रहार गरे । २३ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई ४ रनमा क्याच आउट भएपछि नेपाल दवावमा परेको थियो । नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोडे । उनले ७३ बलमा ३ चौका सहित ४४ रनको योगदान दिए । उनी २६ औं ओभरमा क्याच आउट भएका थिए । अन्य ब्याट्सम्यानमा कुशल मल्ल र राशिद खानले १-१ तथा कमलसिंह ऐरी र सागर ढकालले २-२ रनमात्र जोडे । यूएईका लागि ऋषभ मुखर्जीले ४ तथा मोहमद फरजुद्दीनले ३ विकेट हात पारे ।
प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप क्रिकेट खेल्ने छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको थियो । यूएईले पनि मलेसियामाथि ५ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ ।