नेपालको अण्डर १९ विश्वकप क्रिकेटमा सानदार जित

अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको छ। पहिलो ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको ९५ रनको मद्दतले नेपालले बनाएको २८२ रनको जवाफमा सिङ्गापुरले ३१ ओभरमा ६५ रनमात्रै बनाएको छ। एशियाका छ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको विजयी टोलीले सन् २०२० को १९ वर्षमुनिका खेलाडीहरूको विश्वकपमा खेल्न पाउनेछ।
नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याउने सिङ्गापुरको सुरुवात राम्रो हुन सकेन। कुशल मल्लले दुई विकेट लिदाँ अरू दुई खेलाडी रन आउट भएपछि सिङ्गापुर २९ रनमा चार विकेटको स्थितिमा पुग्यो। त्यहाँबाट धारिलो नेपाली बलिङले नियमित विकेट झरिरह्यो र सम्मानजनक हारको सम्भावना मात्रै बाँकी रह्यो। नेपालका लागि म्यान अफ द म्याच पवन सर्राफले तीन, सूर्य तामाङले दुई र रशिद खानले एक विकेट लिए। सिङ्गापुरबाट सबैभन्दा धेरै रन इशान पल सानेले बनाएका थिए। उनले ५४ बलमा २८ रन बनाए। साइहर्ष भेनुगोपालले १८ रन बनाए।
आइसीसी यू१९ विश्वकप सन् २०२० को ज्यानुअरी र फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुँदैछ। सो विश्वकपमा अफगानिस्तान, अस्ट्रेलिया, बाङ्ग्लादेश, इङ्गल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इंडिज र जिम्बाबेले सोझै खेल्न पाउँछन्। अन्य पाँच राष्ट्र भने क्षेत्रीय छनोट प्रतियोगिताबाट छनोट हुन्छन्। अफ्रिकाबाट नाइजेरिया छनोट भइसकेको छ भने एशियाबाट मलेशियामा जारी प्रतियोगिताको विजेता छनोट हुनेछ। मलेशियामा आयोजकसहित नेपाल, कुवेत, ओमान, सिङ्गापुर र यूएई खेलिरहेका छन्।
कप्तान पौडेलले प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका छन्: “खेलाडीहरू खेलप्रति प्रतिबद्ध छन् र नेपालमा ठूलो सङ्ख्यामा क्रिकेटका समर्थक छन्। हाम्रो टोलीलाई विश्वकपसम्म पुर्याएर देशलाई सम्मान दिलाउन सकियो भने त्यो मेरो जीवनको एक उत्कृष्ट क्षण हुनेछ।” नेपालले भोलि यूएईसँग खेल्नेछ।