Logo

मुन्दुम र किराती समाजको विकास प्रारम्भ


भोगिराज चाम्लिङ

मुन्दुम बुझ्न मुन्दुम मात्र पढेर नपुग्ने रहेछ । मुन्दुमबारे बुझ्न रिसिमी, मुन्दुमी र नछुङहरुसँग विस्तृतमा जानकारी त लिनैपर्छ । कतिपय कुरा यस्ता छन्, जो स्वयं उहाँहरु पनि अथ्र्याउन सक्नुहुन्न । पुर्खाहरुले सुनाउँदै ल्याए, उहाँहरुले पनि हामीलाई सुनाउँदै ल्याउनुभयो, बस् ! यस्ता कुराको गाँठो फुकाउन हामीले समाजविज्ञानका थुप्रै विधाले गरेका खोजीहरुसम्म नपुगी नहुने ठानेको छु । ऐतिहासिक भाषाशास्त्रीय अध्ययन, पुरातात्विक उत्खनन, वंशाणु विज्ञान, मानवशास्त्र, दर्शनशास्त्र, इतिहास, वनस्पतिविज्ञान, जीवविज्ञान आदिका खोजविनहरु अध्ययन नगरी मुन्दुमलाई समग्रमा बुझ्न सकिँदैन । हामी स्कुल पढ्दा अंग्रेजी शब्दार्थलाई ‘गोटा माने’ भन्थ्यौं, निकै फराकिलो अध्ययनले मात्र मुन्दुमको ‘गोटा माने’ खुट्याउन सकिने रहेछ । आजसम्मको मुन्दुम खोजी र अध्ययनले म यस्तो निचोडमा पुगेको छु ।

मुन्दुमको मसिनोसँग अध्ययन गर्दा केदेखिन्छ भने किराती समाज प्रारम्भमा महिलाहरुको नेतृत्वमा चल्थ्यो । कोकुमा–पिरिमा, चिनिमाहरु त्यो समयका अगुवा नेतृहरु थिए । किराती समाजमा अहिले पनि बजुहरुलाई माङका रुपमा पूजा गरिन्छ । उनै बजु (माङ)हरु ज्ञान, सीप र संस्कारका ज्ञाता थिए । उनै बजुहरुबाट पछि किराती पुरुष नछुङहरुले सिकेका थिए ।
चाम्लिङ मुन्दुमअनुसार सृष्टिको पहिलो नारी रिभ्याँमा र पहिलो पुरुष रिकपा थिए । उनीहरु दिदी–भाइ थिए । उनीहरुको यौनसम्बन्धबाट किरातीहरुका पूजनीय बोजु नाइम्मा (सुम्निमा) जन्मिएकी थिइन् (राई, २०६६ ः १०३–१०४) । प्राचीन समाजको अध्ययन गर्ने विद्वान् मोर्गनका अनुसार परिवारकै सदस्यबीच यौनसम्बन्ध हुने यस्तो परिवारलाई रक्तसम्बन्धमा आधारित परिवार मानिन्छ । विश्वमा समाजविकासका क्रममा पहिलोपटक विकसित परिवार हो यो । रक्तसम्बन्धमा आधारित परिवारमा एकै बाबु–आमाका सन्तान तथा काका, बडा, फुपूका छोराछोरीहरुको एकअर्काका बीचमा विवाह र यौनसम्बन्ध हुन्थ्यो (एंगेल्स, १९८६ ः ४४–४५) । त्यसबखत माइति–चेली हुनुको अर्थ लोग्ने–स्वास्नी हुनु थियो । विश्वमा यो रक्तसम्बद्ध परिवार कहींकतै बाँकी रहेको छैन । तर, नेपालका मगर, गुरुङ, तामाङ लगायतमा रहेको मामा–चेला, फुपू–चेली विवाह जो अझै प्रचलनमा छ त्यो रक्तसम्बद्ध विवाह प्रणालीकै अवशेष हो ।
त्यस्तै किरात राईहरुका पुर्खा पारुहों (पारुहाङ) की आमा चिनिमा थिइन् । तर, बाबु को थिए ? मुन्दुमबाट थाहा हुँदैन । मुन्दुमअनुसार रजसवला भएका कारण नुहाइधुवाइ गरेर घाममा सेकिँदा आएको पसिना (हुलिपा) बग्दै गएर चिनिमा गर्भवती भएपछि पारुहों जन्मिएका हुन् (जितराज राई, मुन्दुम पाण्डुलिपि ः पृष्ठ २९) । खासमा पारुहोँका पिता थाहा नहुनुको अर्थ हो, सामुहिक विवाह । विद्वान्हरुका अनुसार समाजविकासका क्रममा विकसित परिवारको दोस्रो अवस्था पुनालुआन (अन्तरंग साथी, सहयात्री) मा यस्तो हुन्थ्यो । यस चरणमा निकट माइति–चेलीका बीचमा हुने विवाह प्रणाली कमजोर हुँदै गएर एक समुहका युवाहरुले अर्को समुहका एक या केही युवतीसँग सामुहिक (युथ) विवाह गर्थे । लोग्ने धेरैजना हुने भएकोले गर्दा बच्चाको बाबु को हो भन्ने पत्ता लाग्दैनथ्यो । आमाकै नामबाट वंश–गोत्र चल्थ्यो । विश्वभरि नै जंगली र बर्बर चरणको निम्न (पहिलो) अवस्थाका मान्छेमा यस्तो पाइएको छ (एंगेल्स, १९८६ः५०) । पारुहोंका पिता थाहा नहुनु अर्थात् पसिनालाई नै पिता मान्नुको अर्थ पनि चिनिमाका धेरैजना पतिहरुमध्ये कससँगको सम्बन्धका कारण जन्मिएको सन्तान हो भन्ने थाहा नहुनु नै हो (चाम्लिङ, २०१४ः८३–८४) । यसरी मुन्दुममा किराती समाज प्रारम्भमा मातृसत्तात्मक थियो भन्ने थाहा हुन्छ ।
किराती समाज महिलाहरुले नेतृत्व गरेको मातृसत्तात्मक माङ चरणपछि सामै चरणमा प्रवेश ग¥यो । त्यसपछि पाछा चरणमा प्रवेश गरेको हो । सामै र पाछालाई किराती राईहरुको मौखिक–सामाजिक वंशावली पनि भन्न सकिन्छ । सामै र पाछाबाट किरातीहरुको प्राचीन र हालको वंशावली थाहा हुन्छ । यति मात्र होइन सामै र पाछाबाट किराती समाज कसरी विकसित भएको थियो भन्ने पनि थाहा हुन्छ । जस्तो कि सामै चरणमा महिला र पुरुष दुवैको नेतृत्व हुन्थ्यो । सामै भनेको कुनै वंशको अगुवाको नाम हो । वंशको अगुवाको नामबाट त्यो खलक चिनिएको हुन्छ । किराती राईहरुको सामै महिला र पुरुष दुवै पुर्खाहरुको नाममा रहेको पाइन्छ । यसको अर्थ हो, सामै चरणमा महिला र पुरुष दुवैको नेतृत्व हुन्थ्यो । तर, पाछा चरणमा चाहिँ पुरुषको मात्र नेतृत्व कायम भयो । किराती राईहरुमा पुरुषको नामबाट मात्र पाछाको नाम राखिन्छ । यसको अर्थ हो पूर्णतः पुरुषहरुको नेतृत्व स्थापित हुनु । सामैले धेरै ठूलो वंशलाई बुझाउँछ भने पाछाले सामैभित्रको थुप्रै खलकलाई बुझाउँछ ।
मुन्दुम र मौखिक वंशावलीले किराती राईसमाज तीन चरणबाट विकसित भएकोदेखिन्छ– मातृसत्ता (माङ), संयुक्त नेतृत्व (सामै) र पितृसत्ता (पाछा) । किराती राईहरुको इतिहास र प्राग्इतिहास अध्ययन गर्न मुन्दुम अध्ययनबिना असम्भव छ ।

कला–संगीत, औषधी–उपचार, वनस्पति, खाद्यान्न, पशुपंक्षीलगायत ज्ञानका विविध विधाको समुच्चय पनि हो मुन्दुम । मुन्दुममा वर्णन आउने वनस्पति, पशुपंक्षीलगायत एकएक केलाउने हो भने किराती समाज राम्ररी बुझ्न सकिन्छ । साकेलाजस्ता भूमिपूजामा नाचिने थरिथरि सिली (नाच)हरुले त प्राचीन किराती समाजको सिङ्गै चित्र उतारेको छ । सिली नाच्दा शिकारदेखि कृषि गर्दासम्म गरिने सयौंथरि गतिविधिको नक्कल उतारिएको हुन्छ । साकेला सिलीलाई किराती समाजको कलात्मक प्रतिबिम्बन नै भन्न सकिन्छ । खासमा किरातीसमाज चिन्नका लागि लिखितभन्दा मौखिक ज्ञान नै महत्वपूर्ण रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्