वर्ण व्यवस्था भनेको के हो?
संस्कृतिमा रहेको वर्ण व्यवस्थालाई यसरी बुझ्न सकिन्छ: वर्णाश्रम धर्ममा चार मुख्य जातिहरूको निर्माण गरिएको थियो । शुद्र, घरायसी कामको लागि; वैश्य, व्यापार–व्यवसायको लागि; क्षेत्रिय, समुदाय वा राष्ट्रको रक्षाको लागि; ब्राह्मण, समाजमा शिक्षा र आध्यात्मिक प्रक्रियाको हेरचाह गर्नको लागि ।
वर्ण व्यवस्थाका चार श्रेणीहरू
सामाजिक व्यवस्थामा यसरी चार श्रेणीहरूमा गरिएको वर्गीकरणलाई भिन्न-भिन्न सन्दर्भहरूमा बुझ्न सकिन्छ । एउटा तरिकाले हेर्ने हो भने, जो मानिसहरूले आफ्नो जीवनको पूरै जिम्मेवारी लिँदैनथे वा आफ्नो जीवनका परिस्थितिहरूको जिम्मेवारी लिँदैनथे, उनीहरूलाई शुद्र भनिन्थ्यो । उनीहरू केवल आफ्नो जीविकोपार्जनको जिम्मेवारी लिने गर्थे ।
वैश्य जातिले आफू, आफ्नो परिवार र आफ्नो समुदायको जिम्मेवारी लिन्थे । यसैकारण, उनीहरूलाई व्यापारको जिम्मेवारी दिइएको थियो । अहिलेको व्यवसायिक प्रणाली पूर्णतया भिन्न छ, तर ती दिनहरूमा खाद्यान्न तथा मानिसहरूलाई आवश्यक पर्ने अन्य चीजहरू भण्डारन गर्ने व्यक्तिलाई व्यापारी भनिन्थ्यो । कुनै चीजहरूको अभाव भएको बेला, उसले ती चीजहरू समुदायलाई प्रदान गर्थ्यो । तसर्थ, हरेक समाजमा वैश्य जाति हुन्थे, जसले सामानहरू भण्डारन गर्थे अनि आवश्यक परेको बेला अरूलाई दिन्थे । यी मानिसहरूले आफ्नो परिवार र केही हदसम्म आफ्नो सेरोफेरोको सानो समुदायको जिम्मेवारी लिन्थे ।
क्षेत्रियहरूले सम्पूर्ण समुदाय वा देशको जिम्मेवारी बहन गर्थे । उनीहरू आफ्नो देश र समुदायको रक्षाको लागि शस्त्र चलाउँथे अनि आफ्ना नागरिकहरूको रक्षाको निम्ति मर्न समेत तयार रहन्थे । उनीहरूलाई प्रशासनको जिम्मेवारी सुम्पिएको थियो, साथै सैन्य गतविधिको लागि हात–हतियारहरू पनि उनीहरूसँगै रहन्थ्यो ।