Logo

मुन्दुम र किराती दर्शन


भोगिराज चाम्लिङ

किराती दर्शनबारे व्यवस्थित र विस्तृत अध्ययन भएको छैन । केही वर्षयता बल्ल फाट्टफुट्ट अध्ययन सुरु भएको छ । निश्चय नै सुरुवात धेरै ढिलो भएको छ तर अहिले पनि हामीलाई थोरै मौका छ । बढीमा आठ–दश वर्ष अझै पनि मुन्दुम जान्ने नछुङ, रिसिमी, मुन्दुमीहरु गाउँघरमा पाउन सकिने अवस्था छ । त्यसपछि भने यसै भन्न सकिन्न किनभने नयाँ पुस्तामा मुन्दुम जान्नेहरु विरलै छन् । किरातीहरुले जे गर्ने हो यही आठ–दश वर्षभित्र गरिसक्नुपर्ने छ ।

किरातीहरु प्रकृति र पितृपूजक हुन् । मुन्दुमका रिसिया (श्लोक)हरुमा भनिएको हुन्छ– ‘ल है पहाड, ल है खोला, ल है जून, ल है घाम ! हामीलाई बाटो देखाइदेऊ, हाम्रो रक्षा गरिदेऊ, हाम्रो बाटो नछेकीदेऊ ! ल है भूमि अन्न उब्जाइदेऊ, खडेरी नपारीदेऊ ! ल है प्रकृति हाम्रो क्षमारक्षा गरिदेऊ !’ जीविकोपार्जनका लागि सुरुमा प्राकृतिक रुपमा उत्पादित कन्दमुलमा निर्भर हुनुपर्दा, प्राकृतिक गुफाहरुमै बास बस्नुपर्दा, प्रकृतिको रहस्य धेरै बुझ्न नसक्दा र प्राकृतिक प्रकोपहरुबाट बच्न पुर्खाहरुले प्रकृतिलाई शक्तिको स्रोत र रक्षकका रुपमा हेर्नु स्वभाविक पनि हो । खेतीकिसान सुरु गरेपछि पनि कहिले बाढीपहिरो, कहिले खडेरीले सतायो । यसका लागि पनि उहिलेका किराती पुर्खाहरुसँग प्रकृतिसँग शरण पर्नुको उपाय थिएन । अन्नबाली उब्जियो, जीवन चल्यो । यसका लागि प्रकृतिप्रति कृतज्ञता प्रकट गरे । यो भनेको प्रकृतिप्रतिको श्रद्धा र भरोसा हो । किरातीहरु अहिले पनि प्रकृतिलाई उत्तिकै श्रद्धा गर्छन् । यसको उच्चत्तम सांस्कृतिक रुप उधौली र उभौलीमा वर्षमा दुईपटक गरिने साकेला पूजा हो । विकसित औद्योगिक मुलुकमा प्राकृतिक बिनाशको भयंकर संकट आइरहेको छ । ठीक यस्तो बेला, प्रकृतिसम्बन्धी आदिवासीय अथवा किराती दृष्टिकोणको सान्दर्भिकता अझ बढेको छ । प्रकृतिबाट लिने मात्र होइन प्रकृतिलाई आदर र माया पनि दिने भएकोले प्रकृति जोगाउन र वातावरणीय सन्तुलन कायम गर्न किराती दृष्टिकोण अपरिहार्य बन्न पुगेको छ ।

अर्कोतिर किरातीहरु मातृ÷पितृपूजक हुन् । उनीहरु कुलमा राखिएका पुर्खाहरुलाई शक्तिको स्रोत मान्छन् । मातृ÷पितृ पूजा गर्ने प्रचलनको सुरुवात जो हजारौं वर्षपहिले शिकारी जीवनबाट सुरु भएको मानिन्छ । प्रकृति र पितृपूजा गर्ने कुरालाई दार्शनिक भाषामा प्राकृतिक भौतिकवाद भनिन्छ । प्राकृतिक भौतिकवादी दर्शनको विकास समाजमा एकले अर्कोलाई हेप्ने, शोषण गर्ने, असमान व्यवहार गर्ने प्रचलन पैदा नभइसकेको बेलाको दर्शन भएकोले किराती समाजमा अहिले पनि तुलनात्मक रुपमा सम्मान र समानताको व्यवहार गर्ने गरिन्छ । प्रकृतिवैज्ञानिक र समाजवैज्ञानिकहरुको निचोड के छ भने प्रकृति र समाज दुवै विपरीत कुराहरुको एकता र संघर्षबाट गतिमान हुने गर्छ । जस्तो, ऋणात्मक (—) र धनात्मक (+) तत्व मिलेर मात्र विद्युत्बाट प्रकाश पैदा हुन्छ । दिन र रात हुन्छ ।

अहिले हामी देख्छौं कि समाजमा पनि उत्पीडनमा परेका र उत्पीडन गर्नेहरु छन् । राजतन्त्र भन्ने उत्पीडन गर्ने राजनीतिक संस्था थियो, त्यसलाई उत्पीडितहरुले मिलेर सशस्त्र जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलन फ्युजन गरेर मिल्काइदिए, एकात्मक राज्यलाई संघीय बनाइदिए । उत्पीडक र उत्पडित दुईथरि विपरीत तत्वबीच संघर्ष हुँदा समाजले गति लियो । त्यसैले दर्शनको क्षेत्रमा विपरीत तत्वको एकता र संघर्षको ज्यादै महत्वपूर्ण स्थान रहेको छ । दुई विपरीत तत्वको एकता र संघर्ष हुन्छ भन्ने यस्तो दार्शनिक दृष्टिकोणको विकास किराती पुर्खाहरुले हजारौं वर्षअघि गरिसकेका थिए । जुन अहिलेका वैज्ञानिकहरुको खोजीले पनि सही सावित हुन पुगेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्