मुख्यमन्त्री शेरधन राईले भने खुम्बुलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गरिने
सोलुखुम्बु-प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले खुम्बुलाई ‘पर्यटकीय गाउँपालिका’ घोषणा गर्ने बताउनुभएको छ । खुम्बु पासाङल्हमू गाउँपालिकामै पहिलो पटक पुगेको सडक सञ्जालको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले बषेर्नी पचासौ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्राउने स्थानीय तहलाई पुरस्कृतसमेत गर्ने घोषणा गर्नुभयो ।
जिल्लाको सदरमुकाम सल्लेरी, माप्य दुधकोशी गाउँपालिकाको काँकु, बासा, जुभिङ हुँदै खुम्बु पासाङल्हमू गाउँपालिकाको खरिखोलामा यसै वर्ष गाडि पुगेको हो । सडकको पहूँच पुगेसँगै आन्तरिक पर्यटक बढ्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । मुख्य पर्यटकीय सिजनमा मौसम प्रतिकुल हुँदा खुम्बु क्षेत्रको भ्रमणमा जाने हजारौं पर्यटक अलपत्र पर्ने गरेको उल्लेख गर्दै उहाँले त्यसलाई ध्यानमा राखेर गुणस्तरीय सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दुई वर्षमा चौरीखर्कसम्म विस्तार गर्ने योजना रहेको सडक निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने प्रतिबद्धतासमेत मुख्यमन्त्री राईले व्यक्त गर्नुभयो ।
‘पर्यटकीय दृष्ट्रिकोणले महत्वपुर्ण रहेको खुम्बुमा पर्यटकको आवागमन बृद्धि गर्न पनि चौरीखर्कसम्म सडक आवश्यक छ’ उहाँले भन्नुभयो ‘त्यसमा प्रदेश सरकारले प्राथमिकतामा राखेर काँध हाल्छ ।‘ कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले सगरमाथा सडक सबैको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिनुभयो । सडक संचालनमा आएपछि पर्यटकको संख्यामासमेत उल्लेख्य बृद्धि हुने सांसद राईले बताउनुभयो ।
खुम्बु पासाङल्हमू गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले चीन तर्फको नाङपाला नाका खोल्नुपर्ने आवश्यकता औल्याउनुभयो । नाङपाला नाका खोल्न सके खुम्बुको विकासमा थप टेवा पुग्ने उल्लेख गर्दै उहाँले नाका खोल्न पहलकदमी लिन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सोही अवसरमा दलित भवनको उद्घाटन तथा एक सामुदायिक भवनको शिलान्यास गरिएको छ ।