मुख्यमन्त्री राईको उद्घोष ‘समृद्ध मुलुक निर्माण हुँदैछ’

सोलुखुम्बु-सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्मित सुविधासम्पन्न गाउँसभा हल र प्रहरी चौकी भवनको औपचारिक उद्घाटन गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मंगलबार सो भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले स्थानीय, प्रदेश र संघीय तिनै तहको सरकार समृद्ध नेपाल निर्माणमा लागि परेको दाबी गर्दै त्यसमा बाधक नबन्न आग्रह गर्नुभयो । सगरमाथा केबलकारको अवधारणा अघि बढेको उल्लेख गर्दै उहाँले हिमाल तराईबीचको समन्वय बढ्ने विश्वासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’ले संघीय संरचनापश्चात् स्थानीय तहको हरेक पक्षमा प्रगति भएको बताउँदै सोलुखुम्बुको विकासका लागि आफूहरु समन्वयात्मक ढंगबाट अघि बढिरहेको बताउनुभयो ।
प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको विकासका लागि प्रदेश सभामार्फत पहलकदमी अघि बढाइरहेको दाबी गर्नुभयो । तराई र हिमालका जिल्लालाई बजेट बिनियोजनमा समानुपातिक अवधारणा अघि बढाइनु पर्नेमा उहाँको जोड थियो ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले गाउँपालिकाको विकाग तीब्र गतिमा अघि बढिरहेको दाबी गर्नुभयो । अध्यक्ष राईले खुम्बु पासाङल्हमू गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको सहकार्यमा निर्माण हुन लागेको ओर्लाङघाट स्थित दुधकोशी नदिमा बन्न लागेको मोटरेबल पुललाई बजेट अभाब भएकाले आवश्यक बजेट बिनियोजनको मागसमेत गर्नुभयो । यो पुल निर्माण भएपछि जिल्लाको समग्र पर्यटनमा सकारात्मक प्रभाब पर्ने भनाइ उहाँको थियो ।
कार्यक्रममा प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य राजेन्द्र बस्तेत, नेकपाका प्रदेश कमिटी सदस्यहरु मानबीर राई, कज्र्याङ शेर्पा, धु्रब पराजुली, जिल्ला समन्वय समिति, सोलुखुम्बुका अध्यक्ष बीर कुमार राई, प्रमुख जिल्ला अधिकारी नरेन्द्र मगर, माप्य दुधकोशी गाउँपालिकाकी उपाध्यक्ष जुनिता मगरलगायतले सम्बोधन गर्नुभएको थियो ।