राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता अझ शक्तिशाली हुँदै पार्टी

काठमाडौं : राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा र लोक जनशक्ति पार्टीका अध्यक्ष मेखराज परियारले संयुक्त प्रेस विज्ञप्ती जारी गरे ।
एकतापछि समेत पार्टीको नाम, झण्डा र चुनाव चिन्ह जनमुक्तिकै रहनेछ । अध्यक्ष पनि पालुङ्वा नै रहनेछन् । संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘मुलुकको वैकल्पिक शक्ति निर्माणको महान उद्देश्यसहित बहुजातीय लोकतन्त्र, समाजवाद र राष्ट्रियताको सिद्धान्तलाई मियो बनाएर नैतिक इमान्दारितासहितको राजनीतिक संस्कृति कायम गर्दै समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबिच एकीकरण भएको जानकारी दिन चाहन्छौ ।’
एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ । पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए । उनले भने,‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’ मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाकाे भनाइ छ ।
राष्ट्रिय जनमुक्ति पार्टीको ईतिहास्
वि.सं. २०४७ वैशाख २३ गते काठमाडौं (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा ‘मान्छे’ चुनाव चिन्ह लिएर भाग पनि लियो । त्यस पश्चात वि.सं.२०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसंग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको नामकरण भएको हो । यसपछि भएका २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचनमा ‘घर’ चुनाव चिन्ह लिएर पार्टीले भाग लिई सकेको छ । पार्टीको २३ वर्षीय जीवनकालमा प्रथम (२०५३ जेठ, काठमाडौं ), दोश्रो (२०५६ मंसिर, रुपन्देही ) तेस्रो (२०६२ फाल्गुन, ललितपुर) र चौथौ (२०६७ फाल्गुन, नवलपरासी) गरी चार राष्ट्रिय महाधिवेशन सम्पन्न भईसकेका छन् । ‘जनमुक्ति विचारधारा’ लाई मार्गदर्शक सिद्दान्तको रुपमा आत्मसात गर्दै ‘बहुजातीय लोकतान्त्रिक समाजवाद’ स्थापनाको लागि निरन्तर अग्रसर राष्ट्रिय जनमुक्ति पार्टी सामुहिक नेतृत्व र कार्यकर्तामा आधारित सङ्गठन प्रणाली अनुसार संचालित रहेको छ ४ ।
आदिवासी, जनजाति, दलित एवं उत्पीडित समुदायको मुक्तिको लागि नेपालमा संघीय व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउने नेपालको पहिलो पार्टी राष्ट्रिय जनमुक्ति नै हो । पार्टीले जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार दिलाई सोही आधारमा शिक्षा, सरकारी वा गैरसरकारी सेवा, रोजगारी र औद्योगिक व्यवसायहरुमा संवैधानिक र कानुनी रुपमा आरक्षणको व्यवस्था गरी सबै जाति, भाषा र धर्मावलम्बीहरुलाई राज्यको नीति निर्माणमा सहभागी बनाई उनीहरुको राष्ट्रिय पहिचान कायमै राखी राज्यको मूल प्रवाहमा एकताबद्ध गरी “राष्ट्रिय एकता, स्थायी शान्ति र दिगो विकासको आधार, जातीय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकार” को मूल मन्त्र सहित “जनमुक्ति विचारधारा” लाई मार्गदर्शक सिद्धान्तको रुपमा आत्मसात गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा “बहुजातीय लोकतान्त्रिक समाजवाद” स्थापनाको लागि निरन्तर अग्रसर र कृयाशिल रहेको छ ।