जननायक राम प्रसाद राईको माझकिरातको क्रान्तिदेखी सिंहदरबार बिद्रोहसम्म

भोगिराज चाम्लिङ
पृथ्वीनारायण शाहको एउटा नितिउपदेश छ, जिवनको उत्तरार्धमा मुखले लेखाएको भनिएको उनको यो उपदेशलाई “दिब्योपदेश” नाम दिईएको छ । त्यसमा उनले भनेका छन : “पाडे, बस्न्यात, पंथ भैयाद मग्र ( मगर ) … ई मेरा नुन् गुन्का स्वझा ( सोझा ) सेवक हुन । ईनिहरुको जीव जान्या बिराम गर्याको भया पनि आफुले नमार्नु । बरु माराताप दियेर लडाइँमा झोसी दिनु र जीव जोगाई आयो भन्न्या बढिया भयो, मरिगयो भन्न्या आफुले मार्नु, अर्कैबाट मारी दियाको बढिया हुन्छ । तव राजाले सेवकलाई घरमा नमार्नु ।” राणाहरुले यहि “लडाइँमा झोस्ने” नीति लिएर नेपाली युवाहरुलाई दोश्रो बिश्वयुद्धमा होमिदिएका थिए । आफुले मार्नुभन्दा युद्धमा झोसीदिएर अर्कैको हातबाट मारिदिनु उनिहरुको लागि “बढिया” थियो । राणाशासन बिरुद्ध उठ्न सक्ने ठूलो युवाशक्तिलाई दोश्रो बिश्वयुद्धमा झोसेर उनिहरुले आफू बिरुद्धको असंतुष्टीलाई ब्याबस्थापन गर्न खोजेका थिए । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दोश्रो बिश्वयुद्धमा २ लाखभन्दा बढी नेपाली युवाहरु भर्तिमा पठाएका थिए । त्यसमध्ये हजारौं मारिए, बेपत्ता र घाइते भए । तर, जतिले “जीव जोगाई” आए, उनिहरुले राणा सेनाहरुलाई परास्त गर्दै राणाशासन अन्त्य गरेरै छाडे ।
राणा प्रधानमन्त्री चन्द्र शम्शेरको समयमा पहिलो बिश्वयुद्ध भएको थियो । अंग्रेजहरुलाई लडाकु सेनाहरुको आवश्यकता परेपछि उनिहरुले नेपाली युवा भर्ती गर्न औपचारिक रुपमा प्रस्ताव गरे । अंग्रेजहरुको सेवा गर्ने मौकाको रुपमा लिंदै चन्द्र शम्शेरले भर्तिको अनुमती मात्र दिएनन् नेपाली सेना नै युद्धमा खटाए । यसका लागि गाउघरबाट बढिभन्दा बढी “रंगरुट” ( भर्ती ) अनिबार्यरुपमा पठाउनु पर्ने “सनद” नै जारी गरेका थिए । चन्द्र शेरको पालामा यस्ता रंगरुट भर्तीकेन्द्र नेपालमा दश ठाउमा खुलेको थिए । यसबाहेक भर्तिका लागि प्रलोभन पनि दिइएको थियो । भर्ती गराउनका लागि “रंगरुट” जम्मा गर्नेहरुलाई पैसा र जमिन दिईन्थ्यो भने बृटिश-भारतिय सेनमा भर्ना हुनु भनेको नेपाल सरकारकै सेवा गरे सरह हुने बताइएको थियो । भर्ती गराउने अधिकरीहरुको अनुसार सन् १९१४ मा प्रथम बिश्वयुद्धमा लडाउन नेपालको गाउगाउबाट भारत पठाइएको जवानहरुको संख्या २ लाखभन्दा बढी थियो ।

यो संख्या ९ लाख १७ हजार १४४ थियो भन्ने अनुमान पनि छ । तर, एन्थनी गाउल्डले चाहिँ युद्धमा १ लाख गोर्खाली ( नेपाली ) हरु परिचालन गरिएको र १० भागको १ भाग चाहिँ युद्धमा मारिए, हराए वा घाइते भएका बताएका छन । राणाहरुले भर्तिवापत अंग्रेजहरुबाट लाखौं रकम लिएका थिए । पुरुषोत्तम शम्शेर जबराका अनुसार चन्द्र शम्शेरले अंग्रेजहरुबाट लाहुरेको नाममा आएको एकमुष्ठ २१ लाख रुपैयाँ निजि बनाएका थिए । त्यस्तै लाहुरेहरुको नाममा बेलायतले बैंक अफ लण्डनमा खाता खोलेर राखिदिएको १० लाख डलर पाउन्डको ब्याज हरेक बर्ष पठाइन्थ्यो, त्यो पनि चन्द्र शम्शेरले निजि ढिकुटीमा जम्मा गर्थे । चन्द्र शम्शेरले बृटिश-भारतिय सेनामा भर्ती गराएर हजारौं नेपाली युवतीहरुलाई बिधवा बनाए, हजारौं घाइते अंगभंग भए । उनले अंग्रेज सरकारसँग नेपालबाट भर्ती भएकाहरुलाई सुबेदारभन्दा माथिका ओहोदा नदिन समेत अनुरोध गरेका थिए । योभन्दा अर्को कृतघ्नता अर्को के हुन सक्छ ?
दोश्रो बिश्वयुद्धमा पनि बृटिश-भारतिय सेनामा उस्तरी नै भर्तिका लागि नेपाली युवाहरुलाई पठाइयो । दोश्रो बिश्वयुद्ध हुँदा नेपालमा जुद्ध शम्शेर राणा प्रधानमन्त्री थिए । उनले आफ्नो पुर्ववर्ती श्री ३ प्रधानमन्त्री चन्द्र शम्शेरकै अनुकरण गरे । त्यसबखत पनि नेपालबाट २ लाखभन्दा बढी युवाहरु भर्तिमा पठाइएका थिए । दोश्रो बिश्वयुद्ध शुरु भएपछि सन् १९४० सेप्टेम्बरमा पश्चिममा ६ र पुर्वमा ५ जना भर्ती अफिसरहरु नियुक्त गारिएका थिए । पश्चिम नेपालमा ६ वटा भर्ति केन्द्रहरु खोलिएको थिए- बन्दिपुर ( तनहुँ र रिसिङ घ्रीङका लागि ), पोखरा ( कास्कीका लागि ), खलंगा ( प्युठानका लागि ) र सल्यान । पुर्वमा खोलिएका ५ वटा भर्ति केन्द्रहरु थिए- रामेछाप ( पुर्व २ नंबर जिल्लाको लागि ), ओखलढुंगा ( पुर्व ३ नम्बर जिल्लाको लागि ), भोजपुर ( पुर्व ४ नंबर जिल्लाको लागी ), धनकुटा ( पुर्व ५ नम्बर जिल्लाको लागि ) र इलाम ( इलाम जिल्लाको लागि ) ।
सन् १९४० को मध्यमा बृटिश-भारत सरकारले पश्चिम नेपालबाट ५,६०० सय र पुर्वी नेपालबाट १४,००० गरि ७,००० नेपाली युवा भर्ती गर्नका लागि अनुमती माग्यो । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले बृटिशहरुभन्दा अझ अघि बढेर पश्चिमबाट १४,००० र पुर्वी नेपालबाट ६,००० जवानसम्म भर्ती गर्न सकिने बताए । यसका साथै उनले बृटिश सेनामा भर्ती हुने नेपाली युवाहरुलाई समुद्रपार जानसमेत अनुमती दिए । यसअघि सम्म त्यस्तो अनुमती थिएन । तर, फर्किदा पानीपतियां भने गर्नुपर्ने बाध्यात्मक ब्याबस्था गरे । अंग्रेजप्रतिको यो भक्तिभाव पूरा गर्न पुर्वका इलाम, भोजपुर, धनकुटा र पुर्व ४ नंबरको लागि गौंडागौंडामा साउन १९९७ ( सन् १९४० ) मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले भर्तिका लागि “रोक्का” ( आदेश ) समेत जारी गरेका थिए । ती रोक्कामा यी जिल्लामा युद्धको बखतमा भर्ती गर्न खुल्ला गरिएको बताइएको थियो ।
मे १९४० मा फ्रान्स र बेल्जियममा बेलायतले ४० हजार सेना गुमएपछि नेपाली युवाहरु भर्तिका लागि सख्त जरुरत भयो । सेप्टेम्बर १९४० मा बेलायतले अत्यन्त जरुरी भन्दै थप १० बटालियन सेना भर्तिका लागि अनुमती दिन नेपाल सरकारलाई अनुरोध गर्यो । जुद्ध शम्शेरले खुशिसाथ अनुमती दिए । सो बर्ष बेलायतले कुनराघाटमा ११,००० जवान भर्ती गर्यो, घुम पहाडमा २५,०० र लहेरिया सहराईमा १,५०० जवान भर्ती गर्यो । फेब्रुअरी १९४१ मा २०,००० जवान भर्ती गरियो । सोही बर्ष जुद्ध शम्शेरले थप १४,००० जवान भर्ती गराउने वचन दिए । सो अनुसार सेप्टेम्बरमा १३,००० जवान भर्ती गरियो, बाँकी १,००० चाहिँ जगेडामा राखियो, आवश्यक पर्दा लिनगरी । १३,००० जवान मध्ये कुनराघाटमा पश्चिम र मध्य नेपालबाट ९,००० जवान, पुर्वि नेपालबाट घुमपहाडमा २,००० जवान र सुदुर पश्चिमबाट लहेरिया सहेरियामा २,००० जवान भर्ती गरिएको थियो । यसबर्ष काठमाडौबाट समेत १,४०० जवान भर्ती गरिएको थियो जसलाई रक्सौल पठाइयो । सन् १९४२ मा आइपुग्दा युद्धको लागि भर्ती गरिएकोहरुको संख्या ४० बटालियन पुगेको थियो । सिङ्गापुरको युद्धमा ३ बटालियन युवाहरु मारिएका थिए, जसले गर्दा अंग्रेजलाई थप युवाहरु भर्ती गर्नुपर्ने सख्ता जरुरी परेको थियो । सन् १९४२ – ४३ मा बेलायतले २३,००० नेपाली युवाहरु युद्धका लागि भर्ती गर्यो । सन् १९४४ – ४५ मा १२,००० नेपाली युवाहरु बेलायतले युद्धका लागि भर्ती गरेको थियो तर त्यति जवान पुर्याउन धेरै मुस्किल परेको थियो ।
गोर्खा रिक्रुटको रुपमा युवाहरु संकलन गर्न सरकारले मुखिया, राई पगरी, जिम्मावाल, तालुकदार र गौरुङहरुलाई पत्र काटी खटाएको हुन्थ्यो । उनिहरुले आफ्नो जिम्मा भित्रका १६ देखि ३५ बर्ष उमेरका रैती ( युवा ) हरु तिनपुस्ते लेखेर सरकारले खटाएका गल्लावाल समक्ष अभिभावकको उपस्तिथिमा माल, गौंडा र गोश्वाराको टुँडिखेलमा बुझाउनु पर्थ्यो । यसवापत उनिहरुले प्रती गोर्खा रिक्रुटको ४ पैसा पाउथे । युद्धमा जति ढल्थे, त्यतिनै नयाँ रिक्रुटहरु पठाउनु पर्थ्यो । बृटिश सरकारको तर्फबाट खटिएका भुपु गोर्खा सेनाका गल्लावालहरुले पनि गाउगाउमा पुगेर युवाहरु भगाई भगाई भर्ती गर्थे । यसवापत उनिहरुले ७५ पैसा प्रतिब्यक्तीका दरले पेन्सनमा जोडेर पाउथे । त्यसतै पल्टनबाट घरबिदामा आएका गोर्खा सैनिकहरुले पनि फकाई फकाईकन युवाहरु रिक्रुटको रुपमा लिएर जान्थे । यसवापत उनिहरुले चाहिँ प्रतिब्यक्ती रु । १ ।७५ रुपैयाँ पाउथे । दोश्रो बिश्वयुद्धमा यति धेरै भर्ती गरिएको थियो कि गाउघरमा बृद्ध, महिला र केटाकेटी मात्र थिए ।
युवाहरुलाई कसरी जवर्जस्ती भर्ना गरिन्थ्यो भन्नेबारे तुलसी प्रसाद रेग्मीले आफ्नो बुवाबाट सुनेको कुरा मर्मस्पर्शी छ । उनी सुनाउछन “मेरो बुबाले सुनाउनु भएको एउटा हाँसउठ्दो कुरा तपाईहरु लाई सुनाउछु। त्यतिखेर हिन्दुस्तानमा अंग्रेजको सरकार थियो । उनिहरुले राईहरुलाई भर्ती गरेर लैजान्थे। भर्ना गर्नका लागि जिल्लाजिल्लामा, घरघरमा मान्छे खोज्न गल्लावालहरु आउथे । कोहि लुक्थे, कोहि भाग्थे । तर अर्का घरकाले बताइ दिएपछि जसरी पनि खोजेर ल्याउथे र भर्तिमा लैजान्थे । लुक्दा, भाग्दा पनि धर नपाएपछि डराई डराई भेला हुन्थे । अनि, के गर्दा चाहिँ भर्ती लादैन त भन्दा- लाटोलाई चाहिँ भर्ती गर्दैनथ्यो । एकजनाले चाहिँ लाटो भएको बहाना गरेछ । मान्छे चाहिँ भर्ती गर्नेखालकै गज्जप जिउडाल भएको थियो । भर्ती गर्न आउनेलाई उसको नाम थाह रहेछ । उ लुकेर त्यो केटाको पछाडी खुसुक्क भनेछ “ए किस्ने!” उ चाहिँ साथिले बोलायो भनेर “हाँ” भनेछ । त्यसपछि गल्लावालले लाटो भएको केटालाई “तेरिमा बदमास” भनेर भर्ना गरे रे ।”
भर्तिका लागि राणा प्रधानमन्त्रीहरुले बृटिस-भारत सरकारको कुन हदसम्म चाकरी गर्थे भन्ने अर्को लज्जास्पद तथ्यले बताउछ । सरकारकै तलव खुवाएर नेपाली सेनाका क्याप्टेनलाई बृटिस सेनामा स्थानिय युवाहरु भर्ती गर्ने काममा लगाइएको पाइएको छ । बि । सं । १९३५ माघ ३० गते क्याप्टेन कालुसिंह स्वाँंर क्षेत्रीलाई वार्षिक ९०० रुपैयाँ तलब तोकेर बैतडी-झुलाघाट गौंडाको क्याप्टेन बनाइएको थियो । उनलाई १,००० जना युवाहरु बृटिश-भारत सेनामा भर्ती गराउन र नगराए २०० रुपैयाँ दण्ड तिराइने कडा पत्र पठाइएको थियो । नेपाली युवाहरुलाई बृटिश-भारतिय सेनामा भर्ती गर्न खटाइएका यस्ता एकजना ब्यक्ती स्वयम् राम प्रसाद राई पनि थिए । जुद्ध शम्शेरको पालामा उनि सुबेदारको रुपमा बि । सं । १९९७ मा धनकुटा खटिएका थिए । ती रिक्रुटहरुलाई राम प्रसाद राईले गोरखपुरसम्म पुर्याएका थिए । सन् १९४२ जनवरीमा भोजपुर टुँडिखेलमा ८ – ९ लस्कर युवाहरु गोर्खा रिक्रुटको रुपमा भर्ना गरिएको थियो । बिदा हुने छोराछोरी र बिदा गर्ने आमा-बाबुहरु सुक्सुकाउदै हात हल्लाएको दृश्य हृदयबिदारक थियो ।
एन्थनी गाउल्डका अनुसार दोश्रो बिश्वयुद्ध अन्त्ये हुँदासम्म बृटिस सेनामा गोर्खाली ( नेपाली ) युवाहरुको ४५ बटालियन खडा भएको थियो, जसमा १ लाख १२ हजार सैनिक थिए । तर, युद्धमा मारिने, हराउने, घाइते हुने सेनाहरुको शोधभर्नामा पुन: भर्ती लिईने हुनाले यो संख्या २ लाख पुगेको अनुमान गर्न सकिन्छ । यी सेनाहरु इराक, ट्युनेसिया, इटाली, ग्रीस, बर्मा, मलाया र इन्डोनेसियाका युद्धमा भाग लिए । यसरी भर्ती गरिनेमा मुख्यतः मगर, गुरुङ, राई र लिम्बू थिए । त्यससंगै ठकुरी, क्षेत्री, दुरा, सुनुवार र रानाभाटलाई पनि भर्ना गरिएको थियो । बिश्वयुद्धमा परिचालन गरिएका मारिने, हराउने, घाइते हुने नेपाली युवाहरुको संख्या धेरै ठूलो थियो । मारिनेहरुको मात्र कुरा गरिने हो भने हरेक मृतकको नाममा एकमिनट मौनधारण गर्दा दुईहप्ता लाग्ने बताइन्छ । गोरखा वेलफेयर ट्रष्ट ( गोरखा कल्याणकारी कोष ) को वेबसाइट www.gwt.org.uk मा बडो भावुक शैलिमा लेखिएको छ- “दोश्रो बिश्वयुद्धमा मृत्यु, घाईते हुने प्रत्येक गोरखाको निम्ति ( एक मिनेट ) मौनधरण गर्ने हो भने पनि दुईहप्तासम्म मौनधारण गर्नुपर्ने हुन्छ ।” (रकम चाम्लिङको फेसबुकबाट)