Logo

किराती मुन्दुमको प्राचीनता अर्थात मुन्दुम कति पुरानो हो?


डा भक्त राई

मुन्दुम किराती सस्कृतिको प्राणभुत तत्त्व हो । मुन्दुमभित्र किरातीहरुको धर्म,दर्शन,सभ्यता,इतिहास,भाषा,भूगोल,साहित्य, सङगीत, परम्परा अथवा समग्र जीवनपद्धति मुखरित भएको हुन्छ । प्रस्तुत छोटो आलेखमा मुन्दुमकोु प्रचीनता अर्थात मुन्दुम कति पुरानो हो? भन्ने विषयमा छोटो समीक्षा गरेको छु ।

किरातीहरु प्राचीन समयमा कहाबाट फैलिदै यहासम्म आइपुगे ? भन्ने छनक मुन्दुममा प्राप्त गर्न सकिन्छ । मुन्दुममा वर्णित विषयलाई हेर्दा के देखिन्छ भने किराती समाजमा प्राचीन समयमा मातृसतात्मक ब्यवस्था थियो । यसको प्रमाण वर्तमान समयसम्म पनि यो जातिमा पूर्णतः पुरुष प्रधान वा पितृसतात्मक पारिवारिक ब्यवस्था पाइदैन । सभ्यताको लगभग प्रारम्भिक चरणतिर सिकारी युगमा पुरुषले सिकार गरेर ल्याउने अनि ती सिकारबाट प्राप्त सामग्री महिलाले नै सबैलाई बराबरी बाडेर दिने गर्दथे । यसरी नै को-कहाँ जाने, कस्ले कुन काम गर्ने जस्ता कामको बाँड्फाँडको जिम्मा र अधिकार महिलामा नै थियो । किराती मुन्दुममा प्राचीन समयमा माङ अर्थात कोकुमा, पिरिमा, युमा आदि थुप्रै नामले सक्तिशाली महिलाहरुलाई चिनिन्थ्यो त्यो समयमा उनीहरूको बर्चस्व पाइन्थ्यो तर पछिल्लो चरणमा माङका सट्टामा पित्री (पुरुषहरुको) वर्चस्व स्थापना हुन पुगेको देखिन्छ । किराती मुन्दुम अनुसार किरातीहरुको सर्वप्रथम मुन्दुमी गुरु चरा थिए । यसले किरातीहरुको गण चिन्ह ( टोटेम) थियो । टोटेमवादले यही कुरालाइ अङगीकार गर्दछ । त्यसपछि कोकुमा- पिरिमा (माङ) को सत्ता स्थापना सुरु भयो त्यसपछि मात्र मुन्दुमीको रूपमा नछुङ/माङ्पा/ फेदाङ्पा/कुवी आदिको रूपमा पुरुषले बर्चस्व स्थापित गर्न पुगे । यसरी हेर्दा के देखिन्छ भने मुन्दुम अनुसार प्राचीन किराती सभ्यतामा समाजमा अगुवाका रूपमा महिला नै थिए । पछिल्लो समयमा एउटा पुरुषले धेरैवटी बिहे गरेजस्तै प्राचीन समयमा महिलाले नै पुरुष छान्ने अथवा बहुपति प्रथा स्वीकारेको देखिन्छ । त्यो समयमा को-कस्को सन्तान हो भनेर छुट्याइदिने वा देखाइदिने कार्य पनि महिलाले नै गर्ने गर्दथे । हुन त प्राचीन समाजमा किरातीमा मात्र होइन मातृसतात्मक ब्यवस्था भएका लगभग सबै जाति वा समुदायमा नै यस प्रकारको बहुपतिप्रथाको इतिहास भेटिन्छ ।

किराती मुन्दुममा सिकार युग पछिका कृषि युगका विवरणहरु प्रशस्त मात्रमा पाइन्छ । मुन्दुम मौखिक परम्परामा एक पुस्ताबाट अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको हुदा मुन्दुममा किरातीहरुका कुन समयदेखिका विवरणहरु पाइन्छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था छैन यद्यपि मुन्दुमको भाषा, विषयवस्तु तथा वर्णन ढाँचाका आधारमा हेर्दा सामुहिक रूपमा मानिसले जीवनयापन गर्न थालेदेखि, सामुहिक सिकार तथा घरजम गर्न थालेपछिे मात्र मुन्दुमको विकास र हस्तान्तरण हुन थालेको देखिन्छ । जीवनमा नयाँ-नयाँ ठाँउको यात्रा, नयाँ-नयाँ भोगाइ, नया अनुभव र अनुभूति प्राप्त गर्दै जाने क्रममा आफ्ना पुस्ताले भोगेका ज्ञान, अनुभव र अनुभूति पछिल्लो पुस्तालाइ सुनाउदै जाने क्रममा नै मुन्दुमको विकास भएको देखिन्छ । यसरी हेर्दा के देखिन्छ भने विशेषत: सिकारी युग अर्थात सामुहिक जीवनयापन गर्ने क्रमदेखि कृषि युगसम्म यात्रा गर्दाको विवरण मुन्दुममा पाइन्छ ।

भोटबर्मेली मूलका वा वर्तमान समयमा मङ्गोल जातिका मानिसका रूपमा चिनिएका जातिहरुको उदगम स्थल चिनको ह्वाङगो( यलोरिभर) र याङजी नदिको तटको विशाल उपत्यका भूमिलाइ मानिन्छ । भाषागत सामिप्यता,पूजनविधि, अनुष्ठान सामग्री, स्थानको नाम र आदिम परम्परा आदि मुन्दुममा वर्णन भएका विषयवस्तु तथा विवरणका आधारमा किरातीहरु त्यही ह्वाङ्हो उपत्यकाबाटै अन्यत्र फैलिएको आधार प्राप्त गर्न सकिन्छ । मुन्दुममा वर्णित नियामा/ निवामा आदि नाम त्यही याङ्जी नदिको समथर उब्जाउ भूमि हो भन्ने धारणा पनि कतिपय अध्यताहरुले ब्यक्त गर्दै आएका छन् । यसरी हेर्दा किरातीले चुला पूजा कृषि ब्यवसायको थालनी चिनको ह्वाङहो सभ्यताबाटै थालेका हुन वा सिकेका हुन् भन्ने धारणा राख्दै आएका छन् भने अर्का थरीले सभ्यताको विकास हालको खोटाङ जिल्लामा पर्ने तुवाचुङ डाँडाबाट र उक्त कार्यको थालनी तायामा खियामा( भाषा अनुसारको फरक-फरक नाम) दिदी बहिनी र उनको भाइ हेत्छ्कुप्पाबाट भएको ठान्दछन ।

किरात जातिको मुन्दुमले प्राचीन इतिहासलाई वर्णन गर्ने भए तापनि सस्कृत वाङमयमा उल्लेख गरेका किरातीको विवरण, उपत्यकामा शासन गरेका किरातीको विवरण भने मुन्दुममा पाइदैन । यसबाट के बुझ्न सकिन्छ भने ह्वाङ्हो सभ्यताबाट फैलिएको किरातीहरु बिस्तार हुने क्रममा कुनै समूह तिब्बतको हिमालय शृङ्खला पार गरेर नेपाल प्रवेश गरे भने कुनै समूह कस्मिर हुँदै गङगाको मैदान पुगेर सिन्धुघाटीको सभ्यता निर्माण गर्न पुगे । वास्तवमा भन्ने हो भने हिन्दू सस्कृत वाङमयमा ( वेद,मनुस्मृती, पुराण, रामायण , महाभारत आदि) वर्णित किराती जाति र वर्तमान समयमा किराती भनेर चिनिएका जातिहरु एउटै हुन् कि फरक हुन भन्ने विषयमा समेत ठोस आधार भेटिदैन । यसरी नै उपत्यकामा शासन गर्ने किरातीहरु पूर्वबाट आएर काठमाडौ उपत्यकामा शासन गरेका हुन् कि अन्य ठाँउबाट उपत्यकामा प्रवेश गरेर शासन गरेका हुन् ? यस विषयमा पनि स्पष्ट इतिहास भेटिदैन । किरात राईहरुले खोटाङ जिल्लाको तुवाचुङ डाँडालाइ आफ्नो प्राचीन सभ्यताको सुरुवात भएको स्थान मान्दै आएका छन् । किराती चेलीहरु तायामा र खियामा( भाषा अनुसार फरक-फरक नाम) ले त्यहास्थित तानबुन्ने ढुङगामा तान बुनेर कपडाको सुरुवात गरेको भन्ने विस्वास गर्दै आएका छन् । हालसम्म प्राप्त मुन्दुमले समेत यही कुराको छनक दिने गर्दछ । तर इतिहासले के भन्छ भने नेपालको काठमाडौ उपत्यकामा महिशपाल (भैसीपालक) र गोपाल ( गाइपालक) जातिलाइ हराएर लामो समयसम्म शासन गरेका किरातीहरु बज्जी गणराज्यका राजधानी वैसालीबाट आएका लिच्छवीसङ्गको हार पछि उनीहरु नेपालको पूर्व दिशा हाल किरातीहरु वसोवास गरेको क्षेत्र ओल्लो किरात, माझ किरात र पल्लो किरात तर्फ लागेका हुन् । यहाँ विचारणीय कुरा के छ भने काठमाडौ उपत्यकामा सयौं वर्ष शासन गर्ने नेपाली सभ्यताकै स्वर्ण युग मानिएका किरात शासकहरु अन्तर्राष्ट्रिय ब्यापार ( चीन/ल्हासा ) मा समेत प्रशिद्दी पाएका सभ्य किरातीहरु कसरी हालको भूभागमा नाङ्गै पुगे र तुवाचुङ डाँडामा तान बुन्न सिके ? यसबाट के देखिन्छ भने कि त उपत्यकामा शासन गर्ने किराती, पूर्वमा खोटाङ जिल्लाको तुवाचुङ्ममा सभ्यताको सुरुवात गर्ने किराती र सिन्धुघाटीको सभ्यता सुरु गर्ने सस्कृत वाङमयमा वर्णित किराती फरक फरक हुन कि त पूर्वबाटै हाल किरातीहरु बसोबास गर्ने क्षेत्रबाटै उपत्यकामा प्रवेश गरेर शासन संचालन गरेका किराती लिच्छवीसङ्गको हार पछि पुनःपूर्वतर्फ लागेका हुन् ।

किराती जातिमा प्रचलित वर्तमान समयमा प्राप्त मुन्दुममा भने यी विषयको चर्चा पाइदैन । यसरी हेर्दा के देखिन्छ भने किरात राई मुन्दको इतिहास धेरै परसम्म पुग्न सकेको देखिदैन । मौखिक परम्परामा रहेको हुदा धेरै पुराना मुन्दुम बिस्तारै हराउदै गएको हुन सक्दछ । मुन्दुमले सिकारी युग र कृषि युगको समयदेखिको विवरण मात्र प्रष्ट रूपमा चित्रण गरेको पाइन्छ । तर त्यो कुन समयदेखि सुरु भयो भन्ने विषयमा भने प्रामाणिक आधार भेटिदैन परन्तु मुन्दुमी विवरण र भाषालाइ आधार मान्दा २५०० वर्षदेखि ३००० वर्ष पुरानो समयदेखि मुन्दुमी ज्ञान हस्तान्तरण हुँदै आएको देखिन्छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्