Logo

दिपेशको ‘साम्दुङ’ एल्बम विमोचन : कार्यक्रम चाम्लिङ भाषामा पूरै


काठमाडौं-चाम्लिङ राई भाषामा ‘साम्दुङ’ एल्बम विमोचन भएको छ । ‘फोप्ती’, ‘साम्दुङ’, ‘होसुङ’ र ‘बुइछोर’ शीर्षकका चारवटा गीतहरुमा गायक तथा सङ्गीतकार दिपेश राईको सोलोसङ्गीत रहेको छ । सितिमी मासिकका सम्पादक तिलक चाम्लिङ, जीवनजित राई, रोदुङ किरातीले लेखेका गीतहरुमा विनिता राई, दिपेश राई, नरेन्द्र राई र नेहारिका राईको स्वर रहेको छ । सितिमी फिल्म्स प्रा.लि.ले आयोजना गरेको यस कार्यक्रम फालैँचा रेस्टुरेन्ट, चावहिलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जनकराज राई, शास्त्रीय गायक तथा सङ्गीतकार डक्टर किरात, किरात राई खेल्कुद संघका अध्यक्ष महेन्द्र राई र किरात राई चाम्लिङ खाम्बातिमका उपाध्यक्ष चन्द्रा चाम्लिङले संयुक्त रुपमा एल्बम विमोचन गरेका थिए ।

‘चाम्लिङ भाषाको चलचित्र चाहियो’

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी जनकराज राईले आयोजकलाई चाम्लिङ भाषाको चलचित्र बनाउन आग्रह गरेका छन् । समाजसेवी राईले चलचित्रका लागि आफूले सकेको आर्थिक सहयोग गर्ने पनि बताएका छन् । कार्यक्रमबाट प्रभावित भएर किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिका सचिव अशोक राई, सितिमीका संरक्षक द्वारसिं राई र प्रमुख अतिथिले आयोजकलाई आर्थिक सहयोग गरेका छन् ।

पूरै कार्यक्रम चाम्लिङ भाषामा

जीवनजित राई र विमला राईले चाम्लिङ भाषामा कार्यक्रम सञ्चालन गरेका थिए । कतिलाई भाषा बुझ्न कठीन भए पनि दमदार प्रस्तुतिले कार्यक्रम रोचक भएको थियो । गायकगायिकाहरुले चाम्लिङ भाषाका गीतहरु गाएका थिए । अतिथिहरु युवा नेता राजुबिक्रम राई, द्वारसिं राईलगायतले पनि चाम्लिङ भाषामा सम्बोधन गरेका थिए । सङ्गीतकार डक्टर किरातले ‘साका ओमा चापुई’ गीत गाएका थिए भने गायिका रश्मी राईले ‘साम्खाछौवा’ गीत गाएकी थिइन् । जीवनजित राईले लेखेको यस गीतमा सङ्गीत सुमन राईको छ । कार्यक्रममा चाम्लिङ भाषाका गीतहरुका लागि आर्थिक सहयोगदाता, गीतकार, सङ्गीतकार तथा एरेन्जरहरुलाई कदरपत्र प्रदान गरिएको थियो ।

सितिमी युटुव च्यानल सुरु

सितिमी फिल्म्स प्रालिले आजैबाट अफिसियल युटुब च्यानल सुरु गरेको छ । गौतम मणि ‘निनाम्बुवाँछा’ले गाएको ‘लिम्चुङबुङ’ गीत बजाएर ‘सितिमी युटुब च्यानल’ औपचारिक रुपमा सुरु भएको हो । रकम रोदुङको यो गीतमा दिपेश राईको सङ्गीत छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्