खुम्बु क्षेत्रमा पर्यटक बढे : पर्यटकीय सिजन सुरु

सोलुखुम्बुको पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको संख्या बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटक दिन प्रतिदिन बढ्दै गइरहेका छन् ।
फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका व्यवसायी ग्याल्जेन शेर्पाले बताउनुभयो । अहिले दैनिक झण्डै ४ सयको हाराहारीमा पर्यटक खुम्बु क्षेत्र आउने गरेकोे पर्यटन प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवात–जावत बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । खुम्बुमा पर्यटकको संख्या वृद्धि भएसँगै होटलहरु भरिभराउ बनेको पर्यटन ब्यवसायी एवं स्काई नेपाल ट्रेक्स प्रालिका सञ्चालक बलबहादुर दर्नालले बताउनुभयो । पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ ।
समस्य उस्तै विश्व मानचित्रमा सानो भए पनि भौगोलिक, सांस्कृतिक र जैविक विविधताका कारण नेपाल पर्यटकीय गन्तव्यका रूपमा चिनिंदै आएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजाल समथर भूभाग, पहाडी र हिमाली क्षेत्रका साथै फरक–फरक हावापानीमा छुट्टै खालको अनुभव गर्न पाइने भएकाले पनि नेपाल विदेशीको रोजाइमा पर्ने गरेको छ । प्रष्ट छ, थप पर्यटक ल्याउन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ । तत्कालको विकल्प भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो । भौगोलिक सहजता र २४ सै घण्टा सञ्चालन हुन सक्ने यो विमानस्थलले वार्षिक करीब ३० लाख यात्रु धान्न सक्छ ।