Logo

गोपाल किरातीले ओली सरकारको मागे राजिनामा नदिए आन्दोलनबाट विस्थापित गर्ने


पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । ओलीले राजीनामा नदिए सडक आन्दोलनबाट उनलाई विस्थापित गर्ने किरातीले चेतावनी दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्र्दै माओवादी नेता किरातीले भनेका छन्, ‘खड्ग ओली सरकारले तुरुन्त राजीनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्गप्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ ।’ प्रधानमन्त्री ओलीले राजीनामा नदिए उनलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारी गर्नुपर्ने किरातीले बताएका छन् । उनले विज्ञप्तिमा ओली सरकारलाई ‘देशद्रोही र ‘फासीवादी निरंकुश’ सरकारको संज्ञा दिएका छन् ।

ओली सरकारविरुद्ध शान्तिपूर्ण सडक आन्दोलनमा आफ्नो पार्टीको सक्रिय भूमिका रहने किरातीले बताएका छन् । किरातीले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । साथै उनले विप्लव नेकपाले जारी संघर्षको नीतिमा गम्भीर पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

प्रेस विज्ञप्ति

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले विप्लव नेकपामाथि प्रतिवन्धको सर्वप्रथम विरोध गरेको हो । संसदका दलहरु र सडकमा संघर्षरत राजनीतिक संगठन, नागरिक अगुवाहरु एवं नेपाल बार एसोसियसनले समेत विप्लव नेकपा विरुद्ध सरकारी प्रतिवन्ध असंवैधानिक ठहर गर्दै फिर्ता लिई राजनीतिक समाधान खोज्न आग्रह गरिसकेकाछन् । यो पृष्ठभूमिमा संसदमा रहेका दलहरु र विप्लव नेकपा समक्ष विशेष आग्रहसहित यो विज्ञप्ति जारी गरिएको छ ।

१) निर्वाचनमा समाजवादको नारा दिएको संसदवादी नेकपा सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवादमात्र अभ्यास गरेको, संविधानको धज्जी उडाउदै इण्डो प्यासिफिक कमाण्डमा संलग्नताले नेपाललाई युद्धग्रस्त अफगानिस्तान बनाउने हर्कत गरेको, सिके राउत सहमतिमा मधेश बिखण्डनलाई बैधानिकता दिएको, सुबिधालम्पट चरित्र प्रदर्शनसंगै भ्रष्टाचार तथा बेथिति बढाएर प्रतिक्रियावादी राजतन्त्र फर्काउने उद्योग गरिरहेको एवं विप्लव नेकपालाई असंबैधानिक प्रतिबन्ध लगाएर देशलाई हिंसात्मक युद्धमा धकेलेको छ । अतः यो सरकारबाट संबिधान प्रदत्त राष्ट्रिय स्वाधीनता र अखण्डता, आर्थिक–सामाजिक रुपान्तरण र सार्वभौम शान्ति किमार्थ सम्भव नरहेको वस्तुस्थिति प्रष्ट छ । अतः खड्ग ओली सरकारले तुरुन्त राजिनामा गरी विप्लव नेकपासंग वार्ता र राष्ट्रिय एवं जनहितको मार्ग प्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ । अन्यथा देशद्रोही र फासिवादी निरंकुश खड्ग ओली सरकारलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारीका लागि अग्रगामी राजनीतिक शक्ति र इतिहासको निर्माता जनसमुदायमा जोडदार अपिल गर्दछ ।

) विप्लव नेकपामाथि खड्ग ओली–प्रचण्ड सरकारले प्रारम्भदेखि नै दमनको नीति लिएको, वार्ताका लागि प्राथमिकता सहित ठोस पहल नगरेको तथा ‘लुटेरा समुह’ करार गरी निकृष्ट शब्दमा अपमानित गर्दै प्रतिबन्ध लगाएको बिरोधमा हाम्रो पार्टीले डटेर भत्सर्ना गरेको छ । त्यस्तै, देश र जनताका लागि भनेर वलिदानीपूर्ण भावनाले संघर्षरत विप्लव नेकपाका कमरेडहरुप्रति हाम्रो उच्च सम्मान छ । तर विगत जनयुद्धकालीन परिस्थितिमा काफी फेरबदल आएको, पूर्वाधार विकास र सूचना प्रविधिमा व्यापकताले अभिजातवर्गीय सत्तालाई नै सुदृढ गरिरहेको नेपाली अर्थ–राजनीतिमा दीर्घकालीन छापामार युद्ध कम्युनिष्ट योद्धाहरु र जनताका लागि वस्तुतः आत्मधाती ठहर्छ ।
त्यस्तै, एकीकृत जनक्रान्तिको कार्यदिशा के हो, जनसाधारणमा बोधगम्य छैन । जनयुद्धको उपलब्धी विद्यमान गणतन्त्रलाई रक्षा गर्दै समाजवादी गणतन्त्रमा कसरी विकास गर्ने एवं ऐतिहासिक र सामुदायिक पहिचान मुद्धाबारे पनि गंभीरता व्यक्त भएको पाईदैन ।

३) अतः आफ्नो कार्यदिशा र कार्यक्रमबारे जनता माझ ब्यापक बहस गराई क्रन्तिकारी एकता र ध्रुबीकरण सुदृढ गर्न विप्लव नेकपाले जारी संघर्षको नीतिमा गंभीर पुनर्विचार गरियोस् । साथै, लगातारको बन्दले जनता आजित रहेको स्थितिमा चैत–१६ गतेको नेपाल बन्द फिर्ता गरी अन्य कार्यक्रमद्वारा राजनीतिक संघर्ष अघि बढाउन विप्लव नेकपा समक्ष हाम्रो पार्टीविशेष आग्रह गर्छ । र, फासिवादी निरंकुश खड्ग ओली सरकार विरुद्ध शान्तिपूर्ण सडक आन्दोलनमा आफ्नो सक्रिय भूमिका रहने कुरामा नेकपा (माओवादी केन्द्र) दृढ प्रतिवद्धता जाहेर गर्छ ।

क. खड्ग ओली सरकार राजीनामा दे, विप्लव नेकपा–वार्ता गर ! ख. नेपालको सार्वभौमसत्ता, अखण्डता र समाजवादी राष्ट्रिय एकीकरण–जिन्दावाद !

(गोपाल किराती) १३ चैत ०७५
अध्यक्ष

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्